Logo

मानसरोवर तीर्थ यात्रीले गर्दा नेपालगञ्जका होटल भरिभराउ, भारतीय पर्यटकको भीड

मानसरोवर तीर्थ यात्रीले गर्दा नेपालगञ्जका होटल भरिभराउ, भारतीय पर्यटकको भीड



काठमाडौं । नेपालगन्जमा भारतीय पर्यटकको भीड बढेको छ । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका छन् । नेपालगञ्जहुँदै कैलाश मानसरोवर तीर्थ यात्रा गर्न आएका भारतीय पर्यटकका कारण होटल भरिभराउ भएका हुन् ।

laxmi

होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्लेका अनुसार मानसरोवर जाने उपयुक्त समय हरेक वर्षको वैशाखदेखि भदौसम्म हो । मानसरोवर–कैलाश पर्वत भ्रमणका लागि आउने भारतीयको संख्या बढ्दै गएको काफ्ले बताउछन ।

उनले भने, ‘पर्यटकको संख्या बढेसँगै यहाँ होटल तथा अन्य व्यवसाय फष्टाएको छ ।’ मानसरोवरको यात्रामा जाने प्रत्येक भारतीय तीर्थयात्रीले १ लाख रुपैयाँ भन्दा बढी खर्च गर्ने गरेका छन् । नेपालको बाटो हुँदै जाने भारतीय तीर्थयात्रीको संख्या वर्षेनी बढ्दै गएको छ । पछिल्लो समय पर्यटकको संख्यासँगै सो क्षेत्रमा स्तरीय होटलसमेत बढेका छन् ।

हवाई उडानलाई व्यवस्थित गर्दै हुम्लाको हिल्सासम्मको सडकलाई विस्तार गर्न सके अझै धेरै भारतीय तीर्थयात्री बढ्न सक्ने देखिन्छ । पाँच महीनासम्म चल्ने मानसरोवर यात्रामा जानेको संख्या बढ्दै गएको छ । बाँकेमा ३ हजारभन्दा बढी होटल सञ्चालनमा छन् । नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै १ हजार ५ सय भन्दा बढी होटल सञ्चालनमा रहेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले बताए ।

नेपालगञ्जमा होटल सोल्टी, वेस्टेन्ड प्रिमियर, सिद्धार्थ भ्यू, किचन हट, बाटिका, स्नेहा, सिटी प्यालेस, सिग्नेट इन कृष्णा, कल्पतरु र कोहलपुरमा सेन्टर प्लाजालगायत होटल सञ्चालनमा छन् । भारतीय पर्यटकको चाप बढ्न थालेपछि नेपालगञ्जका प्रायः सबै ठूला र मध्यम खालका होटल भरिभराउ छन् । नेपालगञ्ज नाका हुँदै मानसरोवर कैलाश दर्शन गर्न जान दैनिक सयौँको संख्यामा भारतीय पर्यटक नेपालगञ्ज आउने गरेका छन् ।

गत वर्ष करीब १५ हजार पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेको तथ्याङ्क छ । यस वर्ष यो संख्इा बढेर करीब २५ हजार पुग्ने अनुमान गरिएको छ । भारतबाट भित्रिने पर्यटक दिल्लीबाट हवाई मार्गहुँदै काठमाडौं र त्यहाँबाट नेपालगञ्ज आउने गरेका छन् । त्यसबाहेक सडक यातायातको प्रयोग गरी नेपालगञ्ज नाकाबाट समेत पर्यटक भित्रिने गरेका छन् । होटल सिटी प्यालेसका सञ्चालक लोकेन्द्र अर्याल मानसरोवरका यात्रुले होटल भरिभराउ रहेको बताउँछन । अधिकांश पर्यटक नेपाल भएर मानसरोवर जाने हुँदा उनीहरुले नेपालमै ९० प्रतिशत रकम खर्च गर्ने गरेको उनले बताए ।

नेपालगञ्ज र काठमाडौंबाट मानसरोवर जानका लागि पर्यटकले ५ लाखदेखि ७ लाख रुपैयाँसम्म खर्च गर्ने गरेका छन् । विभिन्न ट्राभल एजेन्सीमार्फत आएका पर्यटक नेपालगञ्ज–सिमकोट–हिल्सा हुँदै जाने गरेका छन् । मानसरोवर जाने पर्यटकले तीन सातासम्मको प्याकेज मिलाउने गरेको होटल सिद्धार्थका प्रबन्ध निर्देशक मुक्तिराम भण्डारीले बताए /रासस

प्रतिक्रिया दिनुहोस्
MBL