Logo

सुगतरत्न कसाकार : जसको साहसले भित्रियो वाइडबडी, आजैदेखि टुङ्गियो निगमसँगको यात्रा

सुगतरत्न कसाकार : जसको साहसले भित्रियो वाइडबडी, आजैदेखि टुङ्गियो निगमसँगको यात्रा



काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारको नेपाल वायुसेवा निगमको यात्रा केही सफल र केही विबादित हुँदै सोमबार टुङ्गिएको छ ।

२०७२ जेठ १४ गते देखी महाप्रवन्धकको रुपमा निगममा प्रवेश गरेका कंसाकारले त्यस अघि पनि निगमको महाप्रवन्धकको रुपमा काम गरिसकेका थिए । उनै कंसाकारको ४ बर्षे अबधि भने आजै टुङ्गिएको छ ।

कंसाकारले पहिलो पटक नेपाल वायुसेवा निगममा २०६५ कार्तिक २२ गते महाप्रवन्धकको रुपमा नियुक्त भएका थिए । उनले निगममा आए पछि २०५८ फागुन ३ देखी २०६७ जेठ १२ सम्म गठन गरिएको पाँचवटा उच्च स्तरीय कार्यदलहरुको प्रतिवेदन अनुसार व्यवस्थापन सुधार नगरिकन सेवा विस्तार गर्नु उचित नहुने राय दिए पनि उनले निगमको गिरेको शाख बचाउनका लागि विमान खरिद देखि सेवा विस्तार गर्ने कार्यलाई अगाडी बढाउने रणनीति बनाएका थिए ।

सोही रणनीति बमोजिम निगममा पाइला टेकेको ५ महिनामा नै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संचालक समिति र निगम कर्मचारीहरुको सहमति र सहयोगमा ६ वटा विमान खरिद गर्न २०६५ चैत्रमा टेण्डर आह्वान गरेका थिए ।

निगमले ६ ओटा विमान खरिद गर्ने निर्णय गरे पनि बिभिन्न अबरोधले गर्दा दुई ओटा न्यारोबडी ए ३२० विमान प्राप्त गर्न झण्डै ६ वर्ष समय लागेको थियो । उक्त ६ वटा विमानको खरिद प्रकृया ऐन कानून नियम विनियम बमोजिम नै गरिएको ठहर गरि सर्बोच्च अदालतले समेत २०६९ बैशाख १२ गते निगमकै पक्षमा फैसल्ला गरेको थियो ।

त्यस पछि २०७२ जेठ १४ मा पुन महाप्रवन्धकको रुपमा आएका कंसाकारले विदेशी पर्यटकको संख्या बढाउन र नेपाल आउन लाग्ने चर्को हवाई भाडालाई निगमले हस्तक्षेपकारी भुमिका निर्वाह गर्नका लागि निगमले २ ओटा वाईडबडी विमान खरिद गर्ने प्रकृयालाई अगाडी बढाएको थियो । सोही वाईडबडी जहाज खरिदमा कंसाकारलाई भ्रष्टचारको आरोप समेत लागेको थियो ।

कंसाकारले प्रचलित ऐन कानून र निगमको आर्थिक विनियमावलीमा रही उक्त विमान खरिद प्रकृयालाई अगाडी बढाउने कार्य गरेका थिए । उनले वाइडबडी खरिद प्रक्रियाको सुरुवातसँगै व्यवस्थापकिय सुधारलाई पनि अगाडी बढाएको थिए । जसले गर्दा ग्राउन्ड ह्याण्डलिङमा सुधार भई अन्तरराष्ट्रिय गुणस्तर चिन्ह आइसागो सर्टिफिकेट समेत प्राप्त गर्न सफल भएका थिए ।

उनले वायुसेवा निगमलाई अन्तरराष्ट्रिय स्तरको एयरलाइन्सको रुपमा परिचित गराउन अन्तरराष्ट्रिय संस्था आईटाको सदस्य बन्न गृहकार्य समेत सुरु गरिसकेको छन् ।

आउने दिनहरुमा आन्तरिक सेवा तर्फ उपयुक्त विमानहरु थप्दै सबै ट्रंक रुटहरु र स–साना चालु स्टोल विमानस्थलहरु लगायत नागरिक उड्डयन प्राधिकरणले उडान योग्य अवस्थामा पुर्याउने थप विमानस्थलहरुमा समेत नियमित उडानहरु राख्ने लक्ष्य राखेको कंसाकार २०७५ भदौ ३० गते देखि भने अधिकार विहिन बन्न पुगेका थिए ।

उनले वाईडबडी जहाज खरिदमा ४ अर्ब ५६ करोड रुपैयाँ भ्रष्टचार गरेको भन्दै सार्वजनिक लेखा समितिले ठहर्याए पछि सररकाले कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको थियो । निगमको विकास नगरी पर्यटन विकास असम्भव छ र पर्यटनको बिकास बिना देश बिकास असम्भव छ भन्ने धाराणा राख्दै आएको कंसाकारलाई भ्रष्टचार गरेको भन्दै विप्लबका कार्यकर्ताले कालो मोसो समेत लगाएका थिए ।

आफुले निगम छाडे पनि निकट भविष्यमा नै निगमको सेवा युरोप, अमेरिका र अष्ट्रेलिया पुग्ने र यसमा आफ्नो पूर्ण साथ सहयोग रहने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL