Logo

६६ पर्यटकलाई पछि पार्दै अमेरिकाका ब्रायन भए प्रथम, काठमाडौं पोखरा हवाई टिकट पुरस्कार

६६ पर्यटकलाई पछि पार्दै अमेरिकाका ब्रायन भए प्रथम, काठमाडौं पोखरा हवाई टिकट पुरस्कार



काठमाडौं । पोखरामा जारी १६औँ फेवा नव वर्ष महोत्सवअन्तर्गत आज भएको पर्यटक दौड प्रतियोगितामा अमेरिकाका ब्रायन किनले प्रथम स्थान हासिल गरेका छन ।

अन्तरराष्ट्रयस्तरमा पोखराको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो दौड प्रतियोगितामा बेलायतका एलेक्स हक्कन द्वितीय तथा क्यानडाका माइकर बेकर तृतीय भएका छन ।

महिलातर्फ भने बेलायतकी हाना कारस प्रथम, फ्रान्सकी भिओलेट लेफर दोस्रो र अमेरिकाकी सारा कोइनीले तृतीय हुन सफल भएकी छिन ।

प्रतियोगितामा विभिन्न देशका ६६ पर्यटकले सहभागिता जनाएको प्रतियोगिताका संयोजक अनिल सिंहले जानकारी दिएका छन । हल्लनचोकस्थित पिस प्लाजा होटलदेखि रत्न मन्दिरको दक्षिणी गेटसम्म सहभागीहरु दौडिएका थिए ।

प्रतियोगितामा प्रथम हुनेले बुद्ध वा यती एयरको पोखरा–काठमाडौं उडान टिकट, विजी वी क्याफेमा ककटेल डिनर र सिइङ हेण्ड्समा मसाजको सुविधा पाएका छन् ।

त्यसैगरी द्वितीय हुनेलाई अन्नपूर्ण वा पोखरा प्याराग्लाइडिङ कम्पनीबाट ३० मिनटको टेण्डम उडान सुविधा, विजी वी क्याफेमा ककटेल डिनरको सुविधा र सिइङ हेण्ड्समा मसाजको सुविधा प्रदान गरिएको छ ।

तृतीयका लागि भने पोखरा–काठमाडौं रुटमा ग्रिनलाइन टुर्सको टिकट, ककटेल डिनर र मसाजको सुविधा व्यवस्था गरिएको आयोजक पश्चिमाञ्चल होटल संघले जानकारी दिएको छ /रासस

प्रतिक्रिया दिनुहोस्