काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो २ महिनामा मात्रै ३ सय १९ होटल तथा रेष्टुराँ संचालनका लागि दर्ता भएका छन ।
कम्पनी रजिष्टारको कार्यालयले उपलब्ध गराएको तथ्याङक अनुसार पुस र माघ महिनामा मात्र उक्त संख्यामा होटल तथा रेष्टुराँ संचालनका लागि दर्ता भएका हुन् । जसमा होटल, लज, रेष्टुराँ तथा बार रहेका छन् ।
चालू आबको मंसिरसम्ममा करिब ८ सय होटल, लज, रेष्टुँरा तथा बार संचालनको लागि दर्ता भएका थिए । पर्यटकको आगमनसँगै पछिल्लो २ महिनामा नेपालमा होटल तथा रेष्टराँ संचालका लागि दर्ता हुने क्रम उच्च रुपमा बढेको कार्यालयको तथ्याङकले देखाएको छ ।
कम्पनी रजिस्टारको कार्यालयका तथ्याङक अनुसार २०७५ पुस २ गतेदेखि फागुन ८ गते सम्ममा ३ सय १९ होटल, लज, रेष्टुँरा तथा बार संचालनको लागि दर्ता भएका हुन । गत वर्षको सोही अवधिमा भने २ सय १८ ओटा मात्रै होटल, लज, रेष्टुँरा तथा बार संचालनको लागि दर्ता भएको थियो ।
पछिल्लो २ महिनामा दर्ता भएकामध्ये १० लाख रुपैयाँ सम्मका अधिकृत पूँजी भएका होटल, लज, रेष्टुँरा तथा बार ३७ ओटा, १० लाख देखी ५० लाख रुपैयाँ सम्मका १ सय ३, ५० लाख देखी ५ करोड रुपैयाँ सम्मका १ सय ६७ तथा ५ करोड रुपैयाँ भन्दा माथी १ अर्ब रुपैयाँ सम्मका अधिकृत पूँजी भएका १२ ओटा होटल, लज, रेष्टुँरा तथा बार संचालनको दर्ता भएको तथ्याङकमा उल्लेख छ ।
१ अर्ब रुपैयाँ भन्दा माथी अधिकृत पूँजी भएका ठूला होटल एडभान्स अर्गाईल होटल्स एण्ड इन्भेष्टमेन्ट रहेको छ भने ५० करोड रुपैयाँ भन्दा माथी १ अर्ब रुपैयाँ सम्मका होटल भने यती हस्पिटालिटी काठमाडौं र विराट एशियाटिक मोरङ रहेका छन ।
होटल एशोसिएशन अफ नेपाल (हान) का महासचिव विनाएक शाहले भने यसरी नयाँ होटल रेष्टुराँहरु थप्नु राम्रो भएको बताए । तर पछिल्लो अवस्थामा नेपालमा अरुले जे गरे त्यसैको सिको गर्ने परिपाटी बढेको समेत शाहले जानकारी दिए ।
उनका अनुसार पछिल्लो केही समय यता पर्यटकको आगमन वृद्धिसँगै होटल ब्यवसायीले राम्रो आम्दानी गर्न थाले पछि त्यसैको पछि लागेको समेत बताए । एउटा ५ तारे होटलले कम्तीमा पनि २ सय जनालाई रोजगारी दिने बताउँदै नेपालमा होटल रेष्टुँरा दर्ता हुनु खोल्नु रोजगारीको हिसावले पनि स्वगतयोग्य भएको उनको भनाईरहेको छ ।
‘साना तथा ठूला नयाँ होटलहरु दर्तासँगै संचालनमा आए पछि सरकारले ल्याएको भिजिट २०२० लाई समेत सहयोग पुग्छ,’ उनले भने, ‘हुन त अहिले पनि हामीसँग करिब २० देखी २५ लाख पर्यटकलाई खान बस्न दिन सक्ने क्षमताका होटलहरु संचालनमा रहेका छन ।’ थप होटलहरु संचालनमा आए झनै सहज वातवरणमा पर्यटकले खान बस्न पाउने शाहले जानकारी दिए ।