Logo

एनसेलले ‘हामी तपाईंकै लागि’ थिममा १८औं वार्षिकोत्सव मनाउँदै, विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना

एनसेलले ‘हामी तपाईंकै लागि’ थिममा १८औं वार्षिकोत्सव मनाउँदै, विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले आम नेपाली जनसमुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवाहरूमार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ १८ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ ।

laxmi

सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा संचालनमा ल्याउँदै यात्रा शुरु गरेको थियो । त्यसबेलादेखि नै कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन ल्याएको छ र सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको छ । सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवादेखि नेपाली व्यवसायहरुलाई उनीहरुका सञ्चार आवश्यकताहरु पुरा गर्न नवीनतम सेवाहरु प्रदान गरेर एनसेल नेपालको परिवर्तनको संवाहक बनेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनसेलको १८ वर्षको उल्लेखनीय यात्राका बारेमा आफ्नो उत्साह र भावनाहरू प्रकट गर्दै भने, “१ करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा हामी गर्व गर्छौं । एनसेल सधैं नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ र अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेबार बनेका छौं । बहुसंख्यक नेपालीहरूका लागि पाउन कठिन हुने सेवा र सुविधाहरुमा सहज पहुँच सुनिश्चित गराउने अब हाम्रो भिजन हुनेछ । एनसेल इज ‘हामी तपाईंकै लागि’ अर्थात हामी तपाईंकै लागि हौं र अझै धेरै वर्ष निरन्तर यात्राका लागि प्रतिबद्ध छौं ।”

नयाँ यात्राको शुरुवातसँगै एनसेलले आफ्नो ब्रान्डको वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि ‘हामी तपाईकै लागि’ थिमको घोषणा गरेको छ । यस थिम अन्तर्गत एनसेलले सामाजिक कार्यहरुलाई अगाडि बढाउन र नेपालमा सामुदाय स्तरमा सार्थक प्रभाव पार्न श्रृङ्खलाबद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यक्रमहरुको घोषणा गरेको छ ।

एनसेलले आफ्नो वार्षिक उत्सव मनाइरहेको बेला, ग्राहकहरुसँग खुसियाली बाड्नका लागि आकर्षक अफर पनि ल्याएको छ । प्रत्येक ग्राहक विजेता बन्ने यस ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ अफरमा सबै ग्राहकले २८ दिन सम्म केही न केही सेवा सरप्राइज लोयल्टी गिफ्ट पाउनेछन् । यस अफरमा एष्ट्रिक्स१७११७ह्यास डायल गर्ने ग्राहकहरूले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्न योग्य बन्छ्न् । दैनिक उपहारमा ग्राहकले एनसेलका सेवाहरू कुनै पनि शुल्क बिना प्राप्त गर्न सक्छन् । प्रत्येक हप्ता एनसेलका १ हजार ग्राहकले रु. १०० ब्यालेन्स पाउनेछन् र अफरको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले ७ वटा स्कुटर पाउनेछन् । साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले अफर अवधिभर एनसेल सेवाहरू प्रयोग गरेको हुनुपर्छ र एनसेलको बारेमा रचनात्मक नारा एनसेल एप वा एनसेल वेबसाइटमार्फत एनसेलसँग पठाउनुपर्नेछ ।

आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) र थिम हामी तपाईं कै लागि अन्तर्गत, एनसेलले राष्ट्रिय प्यारालम्पिक समिति, नेपालसँग सहकार्यको घोषणा गरेको छ । जसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने प्यारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई सहयोग गर्नेछ । यस सहकार्य अन्तर्गत एनसेलले राष्ट्रिय खेलाडीहरुको समग्र तालिम र विकासका लागि उनीहरुलाई आवश्यक पर्ने आहार र पोषण वर्षभरि सुनिश्चित गर्न सहयोग प्रदान गर्नेछ ।

यसका साथै एनसेलले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा सामुदाय स्तरमा लागु हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम सुरु गरेको पनि घोषणा गरेको छ । यस अन्तर्गत एनसेलले ७ वटै प्रदेशका गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ । ईच्छुक संस्थाहरुले एनसेलको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् । निश्चित मापदण्ड र प्रक्रिया पुर्याएर छानिने त्यस्ता सीएसआर आयोजनाका लागि कम्पनीले प्रति परियोजना रु १० लाख रुपैयाँ प्रदान गर्नेछ । यस पहलको थप जानकारी एनसेलको वेबसाइट https://www.ncell.axiata.com/en/about/sustainability/here-for-you
बाट वा इमेल [email protected]र ९८०५५५४४४० मा सम्पर्क गरि लिन सकिन्छ ।

दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकता अनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुका सामाजिक परियोजनाहरुमा रु १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ । सबै भन्दा ठूलो करदाता मध्ये एकका रूपमा, एनसेलले अर्थतन्त्रमा प्रभावकारी योगदान पु¥याउँदै आएको छ र आफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७८÷७९ सम्ममा कर र शुल्कहरु बापत रु २ खर्ब ८३ अर्ब भन्दा बढि तिरि सकेको छ ।

एनसेल सेवाले दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने काम मात्रै नभएर देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) इकोसिस्टमको एक अभिन्न अंग बनेर देशको सामाजिक–आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । जीएसएम मोबाइल सेवामा सहज र सुलभ पहुँच, थ्रीजीको सुरुवात, एनसेल कनेन्छ मोबाइल ब्रोडब्यान्ड, प्याकमा आधारित भ्वाइस र डेटा सेवा, रु. १.९९ मा देशभर एकै कल दर, चौथो पुस्ताको फोरजी सेवा, एनसेल फर बिजनेश (एनफरबी), भारत, अमेरिका र क्यानडामा स्थानीय कल दर, सजिलो रोमिङ, एनसेल सापटी, ट्वीटर र वीकीमा निःशुल्क पहँच एनसेलका केही प्रमुख कोसेढुङ्गाहरू हुन् जसले नेपालको दूरसञ्चार क्षेत्रमा व्यापक परिवर्तनहरु ल्याएका छन् ।

वार्षिक उत्सवकै अवसरमा हामी तपाईंकै लागि थिम अनुरुप एनसेलले आफ्नो सीईओ जाब्बोरको इन्स्टाग्राम खाता @ncellceo खोलेको र सो खातामार्फत सर्वसाधारणले सीईओसँग सिधै सम्पर्क गर्न सक्ने घोषणा पनि गरेको छ । साथै, एनसेलका सीईओको इमेल [email protected] मार्फत पनि सीईओसँग कुनै गुनासाहरु भए सिधै राख्न सकिने छ । यसरी आफ्नो सीईओसँग ग्राहकको सिधै पहुँच सुनिश्चित गराउने एनसेल नेपालको सम्भवत पहिलो कर्पोरेट हाउस हो । “ग्राहकहरूले मसँग सीधै सम्पर्क गर्न सक्छन् र यसरी सम्पर्कमा आउने ग्राहकहरुका कुराहरु सम्बोधन भए नभएको हाम्रो सम्बन्धित टोलिले सुनिश्चित गर्नेछ । यसले ग्राहकको अनुभवलाई अझ सुधार गर्नुको साथै थप विश्वास र पारदर्शिताको संस्कृति निर्माण गर्न योगदान गर्नेछ,” जाब्बोरले भने ।

हामी तपाईंकै लागि थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि आयोजना गरिनेछन् । मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकहरुसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमण लगायतका कार्यक्रमहरु आयोजना गरिनेछन् । आइतबार (सेप्टेम्बर १७) कै दिन एनसेल व्यवस्थापनका उच्चपदस्त अधिकारीहरु र अन्य कर्मचारीहरु ग्राहकहरूसँग अन्तरक्रिया गर्न र उनीहरूको माया र निरन्तर सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरू र पोइन्ट अफ सेल्सको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL