Logo

टेलिकमले भन्यो : नागरिक एप प्रयोग गर्न अरूको नाममा भएको सिम यसरी आफ्नो नाममा ल्याउनुस

टेलिकमले भन्यो : नागरिक एप प्रयोग गर्न अरूको नाममा भएको सिम यसरी आफ्नो नाममा ल्याउनुस


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हालै सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सकिने अवस्था छ । तर कतिपय प्रयोगकर्ताले भने आफ्नो नाममा नरहेको सिमकार्ड प्रयोग गरिरहेकाले उनिहरुमा नागरिक एप प्रयोगको समस्या देखिएको छ । यसरी देखिएको समस्यालाई निक्र्याैल गर्ने नेपाल टेलिकमले अरुको नाममा भएको सिमकार्ड आफ्नै नाममा गर्न मिल्नेगरी सजिलो प्रक्रिया सार्वजनिक गरेको छ ।

नेपाल टेलिकमका अधिकांश ग्राहकको सिम आफ्नै नाममा दर्ता भएतापनि केही ग्राहकहरुले अरुको नाममा रहेको सिम प्रयोग गरिरहेको अवस्था रहेको छ । जसका लागि सिमकार्ड प्रयोगकर्ताले आफुले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा छ भनेर पत्ता लगाउन स्टार ९२२ ह्यास डायल गर्न सकिनेछ । यसरी सिमकार्ड प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा छ/छैन र नामको हिज्जे सही छ/छैन निक्र्यौल गर्न सकिन्छ । सिमकार्ड आफ्नो नाममा नरहेमा विवरण अद्यावधिक वा नामसारी गर्न तथा आफ्नो नामको हिज्जे सही नभएमा सच्याउनका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्दछ ।

– प्रिपेड सिमकार्ड ग्राहक विवरण अद्यावधिक गर्न : अरुको नाममा रहेको प्रिपेड सिमकार्ड लामो समयदेखि आफैँले प्रयोग गरिरहेको अवस्थामा आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो लिएर नजिकैको दूरसञ्चार कार्यालयमा उपस्थित भई कबुलियतनामाको फाराम भरी अद्यावधिक गर्न सकिन्छ । साथै, विगत ६ महिनाभित्र उक्त सिमकार्डबाट भएका केही कलहरु सोही समयमा भेरिफाई गर्नुपर्दछ ।

– पोस्टपेड सिमकार्ड ग्राहक विवरण अद्यावधिक तथा नामसारी गर्न : पोस्टपेड सिमकार्ड नामसारीका लागि हाल सिमकार्ड प्रयोग गरिरहेको व्यक्ति र कम्पनीको अभिलेखमा भएको प्रयोगकर्ता दुवै व्यक्ति दूरसञ्चार कार्यालयमा उपस्थिति हुनुपर्दछ । अभिलेखमा सिमकार्ड प्रयोगकर्ताको नाम भएको व्यक्ति उपस्थित हुन नसक्ने भएमा उक्त व्यक्तिको नागरिकता प्रमाणपत्रको फोटोकपी र वारेसनामा आवश्यक पर्दछ ।

साथै, सिमकार्ड प्रयोग गरिरहेको व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ । संस्थाको हकमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्दछ । यी कागजातहरु लिई दूरसञ्चार कार्यालयमा उपस्थित भई नियमानुसार नामसारी गर्न सकिन्छ ।

नागरिक एपबाट सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता प्रमाणपत्र, मतदाता परिचयपत्र वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL