Logo

आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशन सुरु, पाचौं आइसिटी अवार्ड ११ विधामा हुने

आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशन सुरु, पाचौं आइसिटी अवार्ड ११ विधामा हुने



काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको पाँचौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) सुरु भएको छ । सोमबारदेखि लागु हुनेगरी उक्त अवार्डको लागि अनलाईन नोमिनेशन सुरु भएको हो । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने आइसिटी अवार्ड २०२० को अनलाइन आवेदन साउन १६ गतेसम्मका लागि खुल्ला गरिएको छ ।

कोरोनाको प्रभाव र महामारीको कारण आइसिटी अवार्ड यस वर्ष केही समय ढिला हुन गएको छ । हरेक वर्ष १७ अगष्टमा आयोजना हुने अवार्डको फिनाले कार्यक्रम यस वर्ष केही समय ढिला हुने भएको छ । यसका लागि अनलाइन आवेदनको मिति सकिएपछि समय र अवस्था हेरेर अवार्डको फिनाले मिति घोषणा गरिने आयोजकले जानकारी दिएको छ ।

यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्ड आयोजना हुनेछ । इन्नोभेसन इन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड थप गरिएका नयाँ विधाहरू हुन् । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधाहरु इन्नोभेसन, प्रडक्ट र स्टार्टअपसँग सम्बन्धित अवार्ड विधाहरू हुन् ।

यसैगरी पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन् । डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी सस्था र डिजिटल एजुकेशन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थानहरुलाई प्रदान गरिने अवार्ड विधाहरू रहेका छन् । सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ३० बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रोडक्टहरू सम्मानित भइसकेका छन् ।

गतवर्ष स्टार्टअप आइसिटी अवार्ड ई–डिजिटल नेपालले प्राप्त गरेको थियो भने प्रडक्ट अवार्ड मेडिफ्लो सिस्टम एण्ड सर्भिसेसले प्राप्त गरेको थियो । स्टुडेन्ट राइजिङ अवार्ड रक्तदान प्रोजेक्टले प्राप्त गरेको थियो । यसैगरी पायोनियर अवार्ड महावीर पुन, नेपाली डायस्पोरा अवार्ड डा. समीर मास्के र आन्टरप्रेनर्स अवार्ड अमित अग्रवालले प्राप्त गर्नुभएको थियो ।

डिजिटल गभर्नेन्स अवार्ड लोकसेवा आयोग र डिजिटल एजुकेशन अवार्ड नेपाल खुल्ला विश्वविद्यालयले प्राप्त गरेका थिए । पब्लिक च्वाइस अवार्ड किताबयात्राले प्राप्त गरेको थियो भने मिडिया पर्सन आइसिटी अवार्ड विजय तिमल्सिनाले प्राप्त गनुभएको थियो ।

यस वर्ष अवार्डको छनौट प्रक्रियालाई व्यवस्थित र सहज बनाउन १२ जना जुरी सदस्य र १० बढी जुरी सल्लाहकार सदस्यहरू रहनुभएको छ । छनौट प्रक्रिया विभिन्न चरणहरूमा हुनेछ । स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट प्रोजेक्ट र इन्नोभेसनमा विभिन्न चरणबाट उत्कृष्ट ५ छान्दै अनलाइन तथा एसएमएस भोटिङ पनि सञ्चालन हुनेछ भने अन्य विधाहरूमा जुरी समूहले विभिन्न चरणमा छनौट प्रक्रिया सञ्चालन गर्नुहुनेछ ।

निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको आइसिटी अवार्डलाई यस वर्ष अझ परिष्कृत र प्रतिष्ठित बनाउने हाम्रो तयारी हुनेछ । यो वर्ष कोरोनाको संकटको कारण छनौट प्रक्रिया पनि बढी प्रविधिमैत्री हुनेछ ।

अवार्ड विजेताहरुलाई विशिष्ट सम्मानसँगै शिल्ड प्रदान गरिनेछ । स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट र इन्नोभेसनका विधाका विजेताहरुलाई गतवर्षझै बैंकको सरल कर्जा र लगानीसँग जोडिनेछ । अवार्डमा नोमिनेशन तथा आवेदन दिनको लागि आधिकारिक वेबसाइट आईसीटीअवार्ड डट ओआरजीमा गएर सम्बन्धित विधा (क्याटेगोरी) अनुसार अनलाइन फारम बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL