बिजखबर संवाददाता
१८ फागुन, काठमाडौं । सामसुङले आइतवार ‘ग्यालेक्सी एस सिक्स’ र ‘एस सिक्स एज’ सार्वजनिक गर्यो । यो कम्पनीको मोवाइल पोर्टफोलियोमा मात्र होइन समग्र मोवाइल बजारको हालसम्मकै ठूलो उन्नती हो । यी स्मार्टफोनमा समावेश गरिएका विशेषता तथा प्रविधिले मोवाइल बजार ‘टफ कम्पिटिशन’ मा पुगेको संकेत दिएको छ ।
सामसुङका प्रमुख कार्यकारी अधिकृत(सिइओ) जिके सिनले हाल बजारमा ल्याइएको स्मार्टफोनमा ठूलै मेहनतका साथ नयाँ प्रविधि प्रयोग गरिएको बताए । स्पेनको वार्सिलोनामा सुरु भएको मोबाइल वल्र्ड कंग्रेसको अवसरमा ती दुई सेट सार्वजनिक गरिएको हो । भव्य समारोहलाई सम्बोधन गर्दै सिइओ सिनले यी दुई स्मार्टफोनले विश्वबजारमा नयाँ स्तरीय सेटको रुपमा आफुलाई स्थापित गर्ने दावी गरे ।
साथै आफ्ना उपभोक्ताबाट प्राप्त प्रतिक्रिया तथा कम्पनीको सफलता र असफलताको अध्ययन पश्चात यी स्मार्टफोन सार्वजनिक गएिको बताए ।
कम्पनीले ग्यालेक्सी ‘एस सिक्स’ र ‘सिक्स एज’मा विभिन्न परीक्षण गरेको छ । यी स्मार्टफोनमा प्रयोग गरिएको कभर्ड स्क्रिन यसको उदाहरण हो । जुन ग्यालेक्सी नोट एजमा गत बर्षदेखि लागु गरिएको थियो । कम्पनीले यी स्मार्टफोनमा प्लाष्टिकको सट्टा मेटालिक फ्रेम प्रयोग गरेको छ । सो मेटल प्रतिद्धन्द्धी कम्पनीका उत्पादनको तुलनामा ५० प्रतिशत भन्दा बढी बलियो रहेको कम्पनीको दावी छ । मेटल कभर राखिएकोले मोवाइलको पछाडीको कभर र व्याट्रि भने झिक्न सकिदैन ।
पाँच इन्चको ‘क्वाड एचडी सुपर एमलोड डिस्प्ले’ भएको यी स्मार्टफोनमा ६४ वीट २ दशमलव १ गिगाहर्ज ‘इक्जाइन्स अक्टा कोर’ प्रोसेसर छ । त्यस्तै ग्यालेक्सी एस सिक्स र एस सिक्स एजमा एन्ड्रोइड ५.०.२ ललिपप अपरेटिङ सिस्टम राखिएको छ ।
कम्पनीले मोवाइलमा अनावश्यक कन्टेन्ट हटाउन ‘टचवीज युआइ’ समेत राखेको छ । गुगलले टचवीज युआइको सहयोगमा मोवाइलका अनावश्यक सामग्री हटाउन सकिन्छ ।
यी स्मार्टफोनमा ३ जिवीको र्याम र ‘फोरजी एलटीई नेटवर्क सपोर्ट जस्त सुविधा छन् । त्यस्तै एस सिक्समा २ हजार ५ सय ५० र एस सिक्स एजमा २ हजार ६ सय एमएचको व्याट्रि छ ।
वायरलेस चार्जिङ सर्पोट यी स्मार्टफोनको अर्को विशेषता हो । स्मार्टफोन बजारमा बेग्लै पहिचान बनाउन सामसुङले व्याट्रिलाई अझ सशक्त बनाएको देखिन्छ । जसअनुसार यी मोवाइल १० मिनेट चार्ज गर्दा १० घण्टा चल्न सक्ने कम्पनीले जानकारी दिएको छ । पाँच मेगापिक्सलको फ्रण्ट तथा १६ मेगापिक्सलको व्याक क्यामरा छ । कम उज्यालोमा उत्कृष्ट फोटो खिच्न ‘एफ ९ दशमलव १ लेन्स’ छ । कम्पनीले आगामी चैत देखि विश्वका २० देशमा यसको विक्री गर्ने तयारी गरेको छ ।