काठमाडौं । गत आर्थिक बर्ष २०८१/८२ मा नेपाल टेलिकमको नाफा आधाभन्दा बढीले घटेको छ । टेलिकमले प्रकाशित गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा कम्पनीको खुद नाफा ३ अर्ब ५६ करोड ७३ लाख रुपैयाँले घटेको हो । यो अघिल्लो आर्थिक बर्षको तुलनामा ५७.२१ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ६ अर्ब २३ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यद्यपी कम्पनीले यसरी नाफा घट्नुमा मुख्य दोष भने बैंकमा रहेको मौज्दातको ब्याज र निजी सेवाप्रदायकलाई दिएको छ ।
कम्पनीको वित्तीय विवरण अनुसार गत आवमा कम्पनीको कुल संचालन आय ३४ अर्ब ५३ करोड २४ लाख पुगेको छ । यो पनि अघिल्लो आवको तुलनामा २ करोड ७८ लाख रुपैयाँले कम हो । खासगरी गत आवमा कम्पनीले सबै कर र अन्य दायित्व अघिको नाफा १९ अर्ब २५ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तो नाफा अघिल्लो आवमा १८ अर्ब २ करोड थियो । अर्थात गत आवमा यस्तो नाफा भने केहि बढेको देखिन्छ । यद्यपी संचालन आय र खुद मुनाफामा उल्लेख्य गिरावट आउनुमा भने कम्पनीले ब्याज आम्दानी र इन्टरनेट सेवाप्रदायकलगायतलाई दोष दिएको छ ।
कम्पनीका अनुसार गत आर्थिक बर्षमा कम्पनीको जीएसएम अनुमतिपत्र नविकरण गर्नका लागि एकैपटक २० अर्ब रुपैयाँ भुक्तानी गर्नुपरेपछि बैंकमा मौज्दात रकम घटेर ब्याज आम्दानीमा ठुलो प्रभाव परेको थियो । यसैका कारण कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा ब्याज आम्दानी ३ अर्ब ७ करोड रुपैयाँ गुमाएको बताएको छ । यस्तै यसै अवधिमा कर्मचारीको निवृत्तिभरणका लागि १३ अर्ब रुपैयाँ छुट्याउँदा पनि यसको प्रभाव ब्याज आम्दानीमा परेपछि समग्र नाफामा उल्लेख्य गिरावट आएको कम्पनीको दावी छ ।
कम्पनीले पछिल्लो समय ओभर दि टप (ओटीटी) प्लेटफर्महरुको बढ्दो प्रयोगले पनि कम्पनीका भ्वाइस सेवा ग्राहकहरु घटिरहेको, अन्तरराष्ट्रिय कलमा उल्लेख्य गिरावट आएकोलगायतका कारणहरुलाई मुख्य दोष लगाएको छ ।
यता इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले सार्वजनिक स्थानहरुमा राखेको निशुल्क वाईफाई सेवाले टेलिकमको डाटा चलाउने ग्राहकहरुमा कमी आएको कुरालाई पनि कम्पनीले दोष दिएको छ । यद्यपी यो बिषयमा नेपाल दूरसंचार प्राधिकरणले करिव २ हप्ताअघि एक सार्वजनिक सूचना जारी गर्दै अब अनुमतिबेगर यस्तो सेवा प्रवाह नगर्ने सूचीत गरिसकेको छ । नेपाल टेलिकमले यीलगायत अन्तरआवद्धता आयमा आएको कमी, सेवाको दररेट निर्धारण नीति फेरबदल, करलगायतका कारण आम्दनी घटेको र सोही अनुसार कम्पनीको नाफामा गिरावट आएको बताएको छ ।
यद्यपी नेपाल टेलिकमले दावी गरेबमोजिम नेपाल दूरसंचार प्राधिकरणको प्रतिवेदनले पनि सोही अनुसार सेवाग्राही घटेको देखाएको छ । प्राधिकरणको तथ्यांकलाई आधार मान्दा नेपाल टेलिकमका भ्वाईस सेवाका ग्राहक अघिल्लो आवको असार मसान्तसम्म २ करोड ३० लाख बढी भएकोमा गत आवको असार मसान्तसम्म आईपुग्दा घट्दै १ करोड ५६ लाखमा झरेका छन् ।
यता मोबाईल ब्रोडब्याण्ड सेवातर्फका ग्राहक पनि अघिल्लो आवको २ करोड २४ लाखबाट घटेर गत आवमा १ करोड ४७ लाखमा झरेको छ । मोबाईल ब्रोडब्याण्ड सेवामा कम्पनीको हिस्सा अघिल्लो आवमा ७१ प्रतिशत रहेकोमा खस्किँदै गत आवमा ५५ प्रतिशतमा सिमित भएको छ । कम्पनीले यस अवधिमा बजार हिस्सा बढाउनका लागि मूख्य रुपमा अघि बढाउनुपर्ने फाईबर टु दी होम (एफटीटीएच) सेवालाई प्राथमिकताका साथ विस्तार गर्नुपर्ने भएपनि यसमा भने कम्पनी सुस्त रुपमा अघि बढिरहेको प्राधिकरणको तथ्यांकमा देखिन्छ । तथ्यांकलाई आधार मान्दा यो सेवामा अघिल्लो आवको अन्त्यसम्म ३ लाख ८ हजार कनेक्सन जडान गरेको टेलिकमले गत आवको अन्त्यसम्म झिनो ग्राहकसंख्या थप्दै ३ करोड २९ लाख कनेक्सन मात्रै पुर्याएको छ ।
आन्तरिक सेवा विस्तारमा ध्यान नदिईरहेको टेलिकमले आम्दानी र मुनाफा घट्नुमा भने सेवा विस्तार बाहेकका तत्वहरुलाई दोष दिँदै आएको छ ।