काठमाडौं । दूरसञ्चार सेवा सञ्चालन गर्ने दुई कम्पनीले ५ अर्ब १ करोड १६ लाख रुपैयाँ बराबरको दस्तुर समयमै नबुझाएको महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको छ। दूरसञ्चार नियमावली, २०५४ अनुसार अनमुतिपत्र नविकरणका लागि तोकिएको म्यादभित्र दस्तुर बुझाउनुपर्ने कानुनी व्यवस्था भए पनि दुई कम्पनीले कुल ५ अर्बभन्दा बढी रकम समयमा नतिरेको पाइएको हो।
एक कम्पनीले २०७५ सालको माघ २५ भित्र बुझाउनु पर्ने २० अर्ब दस्तुरमध्ये १८ अर्ब ९० करोड रुपैयाँ मात्रै समयमा बुझाएको थियो। बाँकी रकम ढिलो तिर्दा उसले १५ प्रतिशत थप दस्तुरसहित २ अर्ब ९७ करोड १६ लाख तिर्नुपर्ने देखिएको छ।
अर्को कम्पनीले तेस्रो पटकका लागि अनमुतिपत्र नवीकरण गर्दा बुझाउनु पर्ने २० अर्ब मध्ये ६ अर्ब ४० करोड मात्रै बुझाएको थियो। बाँकी रकम ढिलो तिर्दा उसलाई पनि २ अर्ब ४ करोड थप दस्तुर तिर्नुपर्ने देखिएको छ।
महालेखापरीक्षकको प्रतिवेदनअनुसार यी दुई कम्पनीलाई कुल असुल उपयुक्त रकम ५ अर्ब १ करोड १६ लाख ५० हजार रहेको छ, जुन तत्काल असुल उपर गर्नुपर्नेमा जोड दिइएको छ।