Logo

ब्याजले फुल्लिएको टेलिकमको आम्दानी, सेवा विक्रीबाट हुने कमाई घट्यो

ब्याजले फुल्लिएको टेलिकमको आम्दानी, सेवा विक्रीबाट हुने कमाई घट्यो



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमको नाफा १।५२ प्रतिशतले घटेको छ । चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार यस अवधिमा टेलिकमले जम्मा २ अर्ब २२ करोड ५५ लाख ७ हजार रुपैयाँ नाफा कमाएको हो । यो रकम गत आवको पहिलो त्रैमासको तुलनामा ३ करोड ४३ लाख ८० हजार रुपैयाँले कम हो । गत आवको पहिलो त्रैमासमा भने टेलिकमले २ अर्ब २५ करोड ९९ लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै यस अवधिमा टेलिकमको कुल सञ्चालन आयमा पनि ७.१४ प्रतिशतले गिरावट छ । गत आर्थिक बर्ष ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ रहेको टेलिकमको यस्तो आय चालु आवको पहिलो त्रैमासमा ६९ करोड ७७ लाख ९ हजार अर्थात, ७.१४ प्रतिशतले घटेर ९ अर्ब ७ करोड ७५ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीका अनुसार ओटीटी सेवाको बढ्दो प्रयोगका कारण भ्वाईस सेवामार्फत हुने आयमा कमी आएपछि यसको असर संचालन आम्दानीमा परेको हो ।

यस्तै नेपाल दूरसंचार प्राधिकरणले जारी गरेको अन्तरआवद्धता शुल्क निर्देशिकाका कारण पनि टेलिकमबाहेकका नेटवर्कमा गरिने भ्वाईस सेवाको आम्दानीमा गिरावट आएको छ । पहिलो त्रैमासमा यसमार्फत मात्रै टेलिकमले १० करोड रुपैयाँ गुमाएको जानकारी दिएको छ । यस्तै कोभिड, मौसम प्रतिकुलतालगायतका कारण निर्माण कार्यहरु अघि बढ्न नसक्नु र दूरसंचार शुल्कमा वृद्धिका कारण पनि संचालन आयमा गिरावट आएको टेलिकमले जानकारी दिएको छ ।

तर, टेलिकमले आफ्नो कुल आय भने बढेको बताएको छ । टेलिकमका अनुसार गत आवको पहिलो त्रैमासमा १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रुपैयाँ रहेको यस्तो आय चालु आवको पहिलो त्रैमासमा ८ करोड ७७ लाख ४३ हजार अर्थात् ०.८० प्रतिशतले बढेर ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ पुगेको हो ।

पछिल्लो समय बैंकहरुले ब्याजदरमा उच्च वृद्धि गरिदिएपछि टेलिकमले बैंकमा राखेको पैसामार्फत मात्रै यस अवधिमा ७९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको हो । अर्थात, कुल आम्दानीमा बैंकको ब्याज आम्दानी थप्दा कम्पनीको कुल आम्दानी बढेपनि कम्पनीको प्रोडक्टमार्फत हुने आम्दानीमा भने ठुलो गिरावट आएको कम्पनीको तथ्यांकमा उल्लेख छ ।

कम्पनीको खुद आम्दानी बढ्नुको पछाडी विदेशी विनिमय दरमा आएको उत्तारचढावलाई पनि प्रमुख कारण मानिएको छ । पछिल्लो समय अमेरिकी डलको मूल्य लगातार बढिरहँदा टेलिकमको कुल आम्दानीमा ७ करोड रुपैयाँ थप भएको छ । यस्तै पछिल्लो समय कर्मचारीको तलव वृद्धिका कारण टेलिकमको कर्मचारी खर्चसमेत सोही अनुसार बढेको देखिन्छ ।

यसैगरी कम्पनीको आम्दानी घट्दा प्रतिसेयर आम्दानी १० रुपैयाँ ८१ पैसा घटेर ४९ रुपैयाँ ४६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५ सय ४० रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६।४८ गुणा रहेको छ। अघिल्लो वर्ष २० प्रतिशत बोनस सेयर वितरण गरेर १८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याएको कम्पनीको जगेडा कोषमा ७९ अर्ब २९ करोड १६ लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया दिनुहोस्
MBL