Logo

सिजीको प्रवेशसँगै इन्टरनेट सेवामा प्राइसवारको संकेत, अन्य सेवाप्रदायकले घटाउलान त मूल्य ?

सिजीको प्रवेशसँगै इन्टरनेट सेवामा प्राइसवारको संकेत, अन्य सेवाप्रदायकले घटाउलान त मूल्य ?



काठमाडौं । चौधरी ग्रुपको सिजी कम्युनिकेसन्सले अघिल्लो हप्ता नेपालको इन्टरनेट बजारमा प्रवेशको घोषणा गरेसँगै इन्टरनेट बजारमा हलचल मच्चिएको छ । सिजीले घोषणा गरेको इन्टरनेटको स्पिड र मूल्य अहिले बजारमा सेवा दिइरहेका नेपालका इन्टरनेट सेवा प्रदायकहरु (आईएसपी)का लागि सीधा चुनौती मानिएको छ ।

धेरै मूल्य तिरेर पनि गुणस्तरीय सेवा उपभोग गर्न नपाएको गुनासो गर्दै आएका इन्टरनेट उपभोक्तालाई लक्षित गर्दै सिजीले नेपालमै पहिलोपटक ९ सय ९९ रुपैयाँमै १२० मेगाबीट पर सेकेन्ड (एमबीपीएस) स्पिडको सेवा प्रदान गर्ने घोषणा गरेको छ । हाल संचालित इन्टरनेट सेवाप्रदायकहरुले महंगो मूल्य असुलेर कम स्पिडको गुणस्तरहीन सेवा उपभोक्तालाई दिँदै आएको आरोप उपभोक्ता अधिकारकर्मीहरुले लगाउँदै आएका छन् ।

यस्तो अवस्थामा नेपालका मुख्य र ठूला आईएसपीहरुको रुपमा रहेकाहरुको एकाधिकार तोड्दै सिजी कम्युिनकेसनले उपयुक्त विकल्प दिने सम्भावना देखिएको र यसले उपभोक्तालाई कम मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा उपयोगका लागि वातावरण बन्ने उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

सिजीको घोषणासँगै बजारमा सेवा प्रदायकहरुबीच प्राइसवार चर्कने देखिएको छ । सिजी नेटले आफुले प्रदान गर्ने इन्टरनेटको मूल्य १२० एमबीपीएसको ९९९ रुपैयाँ तोकेपछि बजारमा पछिल्लो समय इन्टरनेट सेवा विस्तारमा केन्द्रित भएको डिसहोम इन्टरनेटले पनि आफ्नो सेवाको मूल्य घटाएको छ । यसरी सिजीले प्रमोशनल रुपमा मात्रै आफ्नो सेवाको मूल्य कम तोक्दा नै अन्य सेवाप्रदायकलाई दवाव भने परिसकेको छ । डिश होम नेटवर्कले २३३ रुपैयाँमा २५ एमबीपीएस गतिको इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वार्षिक ७ हजार २०० अर्थात मासिक ५ सय तिरेर डिशहोमको लाइफ स्टाइल प्याकेज लिएका ग्राहकले यो सेवा पाउने छन् । मासिक ६ सय तिरेर डिशहोमको लाइफ स्टाइल प्याकेज लिएका ग्राहकले थप २३३ रूपैयाँ थप्दा २५ एमबीपीएस गतिको एफटीटीएच सेवा प्राप्त गर्न सक्नेछन् । डिशहोमले प्रिमियम प्याकेजको मूल्य पनि महिनाको ७ सयबाट ६ सयमा झारेको छ । यसमा महिनाको २३३ रूपैयाँ थप तिर्दा २५ एमबीपीएसको इन्टरनेट पाउन सकिने छ ।

नियामक निकायको रुपमा रहेको नेपाल दूरसंचार प्राधिकरणले भने अहिले नै मूल्यलाई आधार मानेर विभिन्न टिकाटिप्पणी गर्न उपयुक्त नहुने बताएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल केहिदिन अघिमात्रै प्रर्वद्धनात्मक रुपले विज्ञापनका सिजीले सार्वजनिक गरेको मूल्य र सेवाबारे अहिले नै टीकाटप्प्पणी उपयुक्त नभएको बताउँछन् । ‘सिजी कम्युनिकेसनले ललितपुरका केही स्थानमा मात्रै परीक्षणका रुपमा ३ महिनाका लागि उक्त मूल्य तय गरेको हो । तर, ३ महिना पछि पनि उक्त मूल्य कायम गरेको अवस्थामा भने उपभोक्तालाई फाईदा हुने देखिन्छ’, खनाल बताउँछन् ।

सिजीले तीन महिनापछि पनि सोही मूल्य लागु गरेको अवस्थामा सवै सेवाप्रदायकलाई दबाब पर्ने र मूल्य घट्ने अध्यक्ष खनाल बताउँछन् । ‘कम्पनीले हाल निश्चित क्षेत्रका लागि परीक्षणसँगै विज्ञापन गर्न मात्रै उक्त मूल्य सार्वजनिक गरेको हो यसैलाई आधार मानेर विभिन्न टिप्पणी गर्नुको तुक छैन,’ उनले भने, ‘तर, ३ महिनापछि पनि यहि मूल्य कायम गरेको खण्डमा भने अन्य सेवादायकहरुलाई पनि मूल्य बाध्यतावस घटाउन दवाव पर्छ र उपभोक्तालाई फाईदा हुनेछ ।’

यता इन्टरनेट सेवाप्रदायकहरुको छाता संस्थाका रुपमा रहेको आईस्पान नेपालका अध्यक्ष सुधीर पराजुली सिजीले कम मूल्यमा सेवा सार्वजनिक गरेपनि आफुहरु नआत्तिएको बताउँछन् । सिजीले सेवा ल्याएपछि मूल्य घटाउनुपर्ने डरभन्दा पनि यो क्षेत्र दिगो र भरपर्दो हुनेमा खुसी लागेको उनी बताउँछन् । नेपालमा १ सय एमबीपीएस स्पिड आवश्यक पर्ने ग्राहक कम हुने हुनाले यसको औचित्य कम भएको र सोहीअनुसार ग्राहकहरु बढी आकर्षित नहुने पनि उनको भनाई छ । यसरी ग्राहकहरु कम आकर्षित हुँदा आफ्ना ग्राहकमा केही असर नपर्ने उनले जानकारी दिए । आफुहरुले लामो समयदेखि सेवा दिइरहेको र आफुहरुका ग्राहकले कस्तो सेवा दिन्छ भन्ने बुझेका कारण सिजीको नेट नचलाउने उनले बताए । उनले भने, ‘तर, नबुझेका ग्राहकले भने मूल्य हेरेर मात्रै उक्त नेट चलाउने उनको बुझाई छ ।’

हाल नेपालमा वल्र्डलिंक, भायानेट, सुविसु, क्लासिकटेकलगायत आईएसपीहरुले इन्टरनेट सेवा प्रदान गर्दै आईरहेका छन् । जसको मूल्य प्रति २० एमबीपीएसदेखि १२० एमबीपीएससम्मको मूल्य क्रमशः १ हजार देखि १७ सयसम्म तोकिएको छ । यसरी सिजीले भने एकैचोटी १२० एमबीपीएसको मूल्य ९९९ रुपैयाँ तोक्दा उपभोक्ताहरुलाई हालसम्म अन्य सेवाप्रदायकले ठगिरहेका हुन कि भन्ने आशंका उब्जिएको छ । देखिन्छ । आफुहरुले पनि हालसम्म १ हजार रुपैयाँ दरका प्याकेज पनि दिँदै आएको पराजुली बताउँछन् । प्रतिस्पर्धा चर्केर बाध्यताबस इन्टरनेटको मूल्य घटाउनु परेपनि कुनै अप्ठ्यारो नहुने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL