Logo

बीमा क्षेत्रको वित्तीय विवरण : जीवन बीमा कम्पनीको नाफा बढ्दा निर्जीवनको नाफामा गिरावट

बीमा क्षेत्रको वित्तीय विवरण : जीवन बीमा कम्पनीको नाफा बढ्दा निर्जीवनको नाफामा गिरावट



काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुको नाफामा वृद्धि हुँदा निर्जीवन बीमा कम्पनीहरुको नाफामा गिरावट आएको छ । बीमा कम्पनीहरुले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको खुद नाफा ११.९३ प्रतिशतले बढेको देखिन्छ ।

जीवन बीमा कम्पनीहरूको वित्तीय विवरणलाई हेर्दा धेरैजसो कम्पनीले उल्लेख्य प्रगति गरेको देखिन्छ । तथ्यांकअनुसार गत आवको चैत मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा एशियन लाइफ इन्स्योरेन्सले आफ्नो नाफामा ५९ प्रतिशतले वृद्धि गर्दै ३३ करोड ४७ लाख रुपैयाँ पुर्याएको छ । यस्तो नाफा गत आर्थिक बर्ष ३० करोड ४८ लाख रुपैयाँ थियो ।
यस्तै यसै अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो नाफामा ८.६३ प्रतिशतले वृद्धि गर्दै ६३ करोड २२ लाख रुपैयाँ पु¥याएको छ । यस्तो नाफा गत आर्थिक वर्ष ६० करोड ३ लाख रुपैयाँ थियो ।

गत आवको चैतसम्म ३४ करोड २ लाख रहेको नेपाल लाइफ इन्स्योरेन्सको नाफा चालु आवमा ३६.८० प्रतिशतले बढ्दै ४६ करोड ५७ लाख रुपैयाँ पुगेको छ । यता नेसनल लाइफ इन्स्योरेन्सले आफ्नो नाफामा ५.१८ प्रतिशतले सुधार गर्दै ४० करोड ८५ लाख रुपैयाँ पुर्याएको छ ।

गत आवको चैत्र मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो नाफामा २७.१३ प्रतिशतले वृद्धि गर्दै ३५ करोड ७६ लाख रुपैयाँ पुर्याएको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।

यस्तै यसै अवधिमा मेट लाइफको नाफा २७.६० प्रतिशतले बढ्दै ३४ करोड ५१ लाख सानिमा रिलायन्सको १०.७६ प्रतिशतले बढ्दै ३३ करोड ७६ लाख र सन नेपाल लाइफको नाफा ३३.३५ प्रतिशतले घटेर ३२ करोड ८९ लाख रुपैयाँमा झरेको छ ।
गत आवको चैत्र मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा सूर्यज्योति लाइफले आफ्नो नाफामा ३१.८९ प्रतिशतले वृद्धि गर्दै २९ करोड ५७ लाख रुपैयाँ पुर्याएकाे छ । यस्तो नाफा गत आर्थिक वर्ष २२ करोड ४२ लाख रुपैयाँ थियो ।

यसै अवधिमा प्रभु महालक्ष्मीले आफ्नो नाफामा ०.७० प्रतिशतले वृद्धि गर्दै २७ करोड ७ लाख रुपैयाँ पुर्याएको छ भने एलआईसी नेपालले आफ्नो नाफामा २२.६५ प्रतिशतले वृद्धि गर्दै २३ करोड ६० लाख रुपैयाँ पुर्याएको छ ।

यस अवधिमा राष्ट्रिय बीमा कम्पनीको नाफा भने ३७.१० प्रतिशतले घटेर १ करोड ५४ लाख रुपैयाँमा झरेको छ । यसअघि गत आर्थिक बर्षको यहि अवधिमा कम्पनीको नाफा २ करोड ४५ लाख रुपैयाँ थियो ।

निर्जीबन बीमा कम्पनीको नाफामा ५४ प्रतिशतको गिरावट

जीवन बीमा कम्पनीहरुको समग्रह व्यापार बढिरहँदा निर्जीवन बीमा कम्पनीहरूको नाफा भने ५४.४५% घटेर २ अर्ब ४१ करोड ३ लाख रुपैयाँमा झरेको छ ।

गत आर्थिक बर्षको चैत मसान्त नेपालमा संचालित निर्जिवन बीमा कम्पनीहरुको नाफा ५ अर्ब २९ करोड रुपैयाँ थियो ।
यस अवधिमा गत आवको चैतको तुलनामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत वर्षको ५९ करोड ७१ लाखको तुलनामा २४.०३% ले कम हो । राष्ट्रिय बीमा कम्पनीको नाफा २३.३७ प्रतिशतले घटेर ३९ करोड ५६ लाख रुपैयाँमा झरेको छ ।

गत बर्षको यहि अवधिमा कम्पनीको नाफा ५१ करोड ६३ लाख रुपैयाँ थियो । नेको इन्स्योरेन्सको नाफा २.१६% घटेर ३६ करोड ९३ लाख २८ पुगेको छ, जुन गत वर्ष ३७ करोड ७४ लाख ९६ थियो । शिखर इन्स्योरेन्सको नाफा १.७९% घटेर ३५ करोड ७० लाख ५४ झरेको छ, जुन गत वर्ष ३५ करोड ७६ लाख रुपैयाँ थियो ।

यता हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ४५.२० प्रतिशत, हिमालयन जनरल इन्स्योरेन्सको नाफा ४३.३१ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ४.७० प्रतिशत, र प्रभु इन्स्योरेन्सको नाफा ४८.८४ प्रतिशतले घटेको देखिएको छ । यता नेपाल इन्स्योरेन्सको नाफा ३९.४४% घटेर १७ करोड ८४ लाख ५० हजार रुपैयाँ पुगेको तथ्यांक छ ।

यस अवधिमा गत आवको सोही अवधिको तुलनामा ओरियन्टल इन्स्योरेन्सको नाफामा उल्लेख्य गिरावट आउँदा कम्पनीले १ करोड ३८ लाख रुपैयाँ घाटा व्यहोरेको तथ्यांकमा उल्लेख छ । यस्तै यसै अवधिमा नेशनल इन्स्योरेन्सको नाफामा पनि ६१५ प्रतिशतको गिरावट आउँदा कम्पनीले ७ करोड २८ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्