काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालले ४.६१ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क अनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्नेछ । यो उपभोक्ता मूल्यमा आधारित जिडिपीको आकार हो ।
तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब रुपैयाँ थियो भने त्यसअघिको वर्षमा ५३ खर्ब ६७ अर्ब रुपैयाँ रहेको थियो ।
आधारभूत मूल्यमा आर्थिक वृद्धिदर ३.९९ प्रतिशत रहने अनुमान गरिएको छ । कृषि क्षेत्रमा ३.२८ प्रतिशत र गैर–कृषि क्षेत्रमा ४.२८ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । सेवा क्षेत्र ४.१ प्रतिशत, द्वितीय क्षेत्र ४.६५ प्रतिशत र प्राथमिक क्षेत्र ३.२५ प्रतिशतले वृद्धि हुने देखिएको छ ।
अघिल्ला दुई वर्ष लगातार ऋणात्मक वृद्धिदर देखिएको उद्योग र निर्माण क्षेत्र यो वर्ष सुधार हुने क्रममा छन् । उद्योग क्षेत्रमा ३.७८ प्रतिशत र निर्माण क्षेत्रमा २.२१ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । विशेष गरी विद्युत् तथा ग्यास क्षेत्रमा १३.८२ प्रतिशत वृद्धिदर रहने अपेक्षा गरिएको छ, जुन सबैभन्दा उच्च हो ।
प्रतिव्यक्ति कुल राष्ट्रिय आय पनि वृद्धि हुँदै १,५१७ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान गरिएको छ, जबकि अघिल्लो वर्ष यो १,४६७ अमेरिकी डलर थियो ।
प्रमुख तथ्याङ्क अधिकारी मधुसुदन बुर्लाकोटीका अनुसार कोभिड–१९, जाजरकोट भूकम्प, बाढीपहिरोजस्ता विपद्का असरपछि अब आर्थिक सुधारको गति देखिन थालेको छ ।