Logo

सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि : कर्जाको ७२ प्रतिशत हिस्सा सेवा क्षेत्रमा, कृषि उत्पादनमा गिरावट

सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि : कर्जाको ७२ प्रतिशत हिस्सा सेवा क्षेत्रमा, कृषि उत्पादनमा गिरावट



काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै बैंक कर्जा सेवा क्षेत्रमा प्रवाह भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो । गत आर्थिक बर्ष २०७८/७९ को प्रादेशिक आर्थिक गतिविधि सार्वजनिक गर्दै राष्ट्र बैंकले हालसम्म उक्त प्रदेशको सेवा क्षेत्रमा मात्रै कुल कर्जाको ७२ प्रतिशत हिस्सा प्रवाह भएको बताएको हो ।

प्रतिवेदन अनुसार उक्त प्रदेशको सेवा क्षेत्रमा २०७९ असार मसान्तसम्म १ खर्ब ८ अर्ब ५५ करोड ६५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो अघिल्लो आर्थिक बर्ष अर्थात २०७८ को असार मसान्तको तुलनामा २५.८५ प्रतिशतले बढि हो ।
गत आर्थिक बर्षसम्म सुदूरपश्चिम प्रदेशको सेवा क्षेत्रमा प्रवाह भएको कर्जामध्ये थोक तथा खुद्रा विक्रेतासम्बन्धी व्यवसायमा ४४.७९ प्रतिशत कर्जा प्रवाह भएको छ । यस्तै उपभोग्य कर्जामा २३ प्रतिशत, अन्य व्यवसायमा १६.८९ प्रतिशत र पर्यटन क्षेत्रमा ३ प्रतिशत कर्जा प्रवाह भएको छ ।

यो प्रदेशको सेवा क्षेत्रमा प्रवाह भएको कुल कर्जामध्ये सबैभन्दा धेरै कर्जा कैलाली जिल्लामा गएको छ । राष्ट्र बैंकको प्रतिवेदन अनुसार सेवा क्षेत्रमा कैलालीमा मात्रै ७२ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह हुँदा कंचनपुरमा २१ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

सेवाक्षेत्रसँग सुदूरपश्चिममा प्रवाह भएको कुल कर्जामध्ये १७ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा र बाँकी १० प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

यो प्रदेशमा कृषि उत्पादनमा भने ह्रास आएको प्रतिवेदले औँल्याएको छ । प्रतिवेदन अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा सुदूरपश्चिममा प्रमुख कृषि बालीले ढाकेको भूभाग २.९० प्रतिशतले घटेको छ भने यी वस्तुको उत्पादन पनि ८.१६ प्रतिशतले घटेको देखिन्छ । यस्तै यो प्रदेशमा गत आवमा कोदोको उत्पादन ४० प्रतिशतले बढ्दा धानको उत्पादनमा भने ३१ प्रतिशतको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL