Logo

दुई महिनामा १ खर्ब ३५ अर्ब खर्च, चालुतर्फ मात्रै ८१ प्रतिशत, पुँजीगत खर्चको अवस्था नाजुक

दुई महिनामा १ खर्ब ३५ अर्ब खर्च, चालुतर्फ मात्रै ८१ प्रतिशत, पुँजीगत खर्चको अवस्था नाजुक



काठमाडौं । सरकारले चालु आर्थिक बर्षको २ महिनामा कुल लक्ष्यको ७.५३ प्रतिशत खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउन र भदौ महिनामा पुँजीगत, चालु र वित्तीय व्यवस्थापन गरी १ खर्ब ३५ अर्ब ८ करोड ९० लाख रुपैयाँ खर्च गरेको हो ।

laxmi

यस अवधिमा सरकारको सबैभन्दा बढी खर्च चालुतर्फ भएको देखिन्छ । तथ्यांकअनुसार कर्मचारीको तलव, दैनिक व्यवस्थापन खर्च, भत्तालगायत पर्ने यस शिर्षकमा मात्रै २ महिनामा भएको कुल खर्चको ८१ प्रतिशत भएको छ । यो १ खर्ब ९ अर्ब ४७ करोड २७ लाख रुपैयाँ हुन आउँछ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार खासगरी विकासकै लागि गरिने खर्च मानिने पुँजीगत खर्च भने लक्ष्यको जम्मा १.५४ प्रतिशत मात्रै भएको छ । सरकारले चालु आर्थिक बर्षको बजेटमार्फत चालु आवमा ३ खर्ब ८० अर्ब ३८ करोड बढी रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये २ महिनामा जम्मा १.४५ प्रतिशत अर्थात ५ अर्ब ८६ करोड ७ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

सरकारको लक्ष्य अनुसार १ महिनामा ३१ अर्ब ६९ करोड ८७ लाख रुपैयाँ खर्च गर्नुपर्ने हो । यसर्थ चालु आवको २ महिना वितिसक्दा सरकारले लक्ष्यको १६ प्रतिशत अर्थात ६३ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ खर्च गरिसक्नुपर्ने थियो । तर, विभिन्न कारणले सरकारले यो बर्ष पनि लक्ष्य बमोजिम पुँजीगत खर्च गर्न सकिरहेको छैन ।

यसै अवधिमा सरकारले वित्तीय व्यवस्थापनतर्फ भने लक्ष्यको ८.५८ प्रतिशत खर्च गरिसकेको छ । यो बर्ष वित्तीय व्यवस्थापनतर्फ सरकारले २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । जसमध्ये पछिल्लो २ महिनामा नेपालले १९ अर्ब ७४ करोड ७५ लाख रुपैयाँ वित्तीय व्यवस्थापनतर्फ खर्च गरेको छ ।

कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको सरकारको सबैभन्दा बढी खर्च चालुतर्फ नै छ । हालसम्म सबै खर्च गरेर साढे ७ प्रतिशत खर्च भएपनि चालुतर्फ एक्लै लक्ष्यको ९ प्रतिशत खर्च भईसकेको छ ।

यता राजश्वतर्फ भने सरकारले २ महिनामा लक्ष्यको ११.१८ प्रतिशत उठाएको छ । बर्षभरका लागि १४ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको सरकराले २ महिनामै १ खर्ब ६३ अर्ब ५ करोड रुपैयाँ उठाइसकेको छ । जसमध्ये १ खर्ब ३० अर्ब बढी करवापतको र १३ अर्ब ११ करोड रुपैयाँ गैरकरवापतको राजस्व उठाएको हो । यस्तै २ महिनामा सरकारले ७९ करोड ३० लाख रुपैयाँ विभिन्न अनुदान पाउँदा १८ अर्ब ४३ करोड रुपैयाँ अन्य बिलमार्फत भुक्तानी पाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL