Logo

विचौलिया रोक्न यातायात व्यवस्था विभागको कदम : एउटा डिभाइसबाट एकपटकमात्रै लाइसेन्सको आवेदन दिन पाइने

विचौलिया रोक्न यातायात व्यवस्था विभागको कदम : एउटा डिभाइसबाट एकपटकमात्रै लाइसेन्सको आवेदन दिन पाइने



काठमाडौं । पछिल्लो समय सवारीचालकको अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदनमा विचौलियाले जरा गाडेपछि यातायात व्यवस्था विभाग चनाखो बनेको छ । लामोसमयपछि खुलेको सवारी लाइसेन्स परीक्षका लागि सर्वसाधारणले अनलाइन आवेदन दिन प्रयास गर्दा विभागको वेवसाइटमा सबमिट नहुने, ‘इरर’ आउनेलगायतका विभिन्न समस्या देखिने गरेका थिए ।

जसकारण सर्वसाधारणले सजिलै आवेदन भर्न पाएका छैनन् । सोही समस्यालाई मध्यनजर गर्दै विभागले एक डिभाइसबाट एकपटकमा एउटा मात्रै आवेदन दिन पाइने व्यवस्था गरेको छ । विभागका महानिर्देशक गगनबहादुर हमालका अनुसार पछिल्लो समय दलालहरुले नै लाइसेन्सको अनलाइन आवेदन सर्वसाधारणसँग पैसा लिएर गर्ने गरेकाले यस्तो व्यवस्था गर्नुपरेको हो । उनले विचौलियाले वेबसाइटमा एकैपटकमा धेरै आवेदन लोड गर्ने गरेकाले सर्भरमा समस्या उत्पन्न भएकाले सर्वसाधारणलाई समस्या परेको भन्दै विभागमा गुनासो आएपछि यस्तो कदम चालेको बताए ।

‘विचौलियाका कारण हाम्रा तमाम सेवाग्राहीहरुले धोका पाउनुपरेको अवस्था छ,’ उनले भने, ‘सोही कुरालाइ मध्येनजर गर्दै हामीले एक डिभाइसबाट एक दिनमा एउटा मात्रै आवेदन दिन पाइने व्यवस्था गरेका हौं ।’ यस्तै विभागले गत शुक्रबारदेखि लाइसेन्सको अनलिमिटेड फारम लिनेगरी व्यवस्था गरेसँगै सिस्टममा चाप कम गर्नलाई पनि यस्तो व्यवस्था गरेको उनले बताए । यस्तो व्यवस्था नहुँदा विचौलियाहरुले पैसा लिएर एकैपटक धेरै आवेदनहरु दिने र समस्यासँगै अनियमितता बढ्ने उनको बुझाइ छ ।

यसअघि विभागलाई विचौलियालाइ पोस्नेगरी कोटा सिस्टम राखेर समयको पनि सिमा तोकिएको आरोप लाग्दै आएको थियो । आरोपपछि विभागले बरु ट्रायललगायतका परीक्षा यातायात कार्यालयहरुको क्षमताअनुसार गरेपनि आवेदन भने जतिपनि लिने सुविधा दिएको थियो ।

हाल विभागले एक दिनमा जति जनाले पनि आवेदन दिन पाइने नयाँ व्यवस्थासँगै एक डिभाइसबाट एक दिनमा एउटामात्रै आवेदन दिन पाइने सुविधा ल्याएको हो । जसअनुसार कुनै कम्प्युटर वा मोबाइलबाट आवेदन दिँदा उक्त मोबाइल वा कम्प्युटरबाट एक दिनमा एउटा मात्रै आवेदन दिन पाइन्छ । तर एकभन्दा अर्काे आवेदन दिन खोज्दा ‘युज अनोदर मेसिन’ भन्दै नोटिफिकेसन देखाउँछ ।

विभागले कोरोना भाइरसको महामारीसँगै लागु गरिएको लकडाउनका कारण करिव ९ महिनापछि लाइसेन्सको अनलाइन आवेदन लिन सुरु गरेपछि सर्भरमा नै चाप परिरहेको छ । एकैपटकमा धेरै सेवाग्राहीले आवेदन दिन खोज्दा सर्भरमा नै समस्या देखिने गरेको छ ।

विभागका सूचना अधिकारी डा. लोकनाथ भुषालका अनुसार हाल लकडाउनका कारण लाइसेन्स लिन नपाएका ९ लाख बढी सेवाग्राहीहरु लाइसेन्सको अनलाइन आवेदन दिने तयारीमा रहेको अनुमान छ । पछिल्लो समय ठूलो संख्यामा सेवाग्राहीहरुले लाइसेन्सको आवेदन दिइसकेकोले सर्भरमा विस्तारै चाप कम हुँदै जाने उनले जानकारी दिए ।

यसअघि विभागले हप्तामा ४ दिन प्रतिदिन देशभरबाट ५ हजार जनाले आवेदन भर्न पाउने व्यवस्था गरेको थियो । जसअनुसार एक हप्तामा २० हजार जनाको आवेदन आउने गरेको र २० हजारमध्ये जम्मा ३० देखि ४० प्रतिशत सेवाग्राहीहरु लाइसेन्स लिएर जाने गरेको विभागका सूचना अधिकारी भुषाल बताउँछन ।

विभागले लाइसेन्सको अनलाइन आवेदन लिने सेवा अनलिमिटेड गरेपनि परिक्षा दिने र लाइसेन्स वितरण क्रियाकलापमा भने केही ढिलाई हुने विभागको अनुमान छ । एकैपटक धेरै जनाको आवेदन आएका कारण आवेदन आउने जत्तिलाइ एकैपटक सेवा पुर्याउन अप्ठ्यारो भएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL