Logo

कोरोनाले खस्किएको सिमेन्टको व्यापारमा सुधार, खपत ५० प्रतिशत पुगेसँगै मूल्य पनि बढ्यो

कोरोनाले खस्किएको सिमेन्टको व्यापारमा सुधार, खपत ५० प्रतिशत पुगेसँगै मूल्य पनि बढ्यो



काठमाडौं । कोरोना महामारीको अवस्थामा घटेको सिमेन्टको व्यापारमा सुधार आएको छ । कोरोना महामारीमा कारण निर्माण क्षेत्र ठप्प हुँदा घटेर २० प्रतिशतसम्म पुगेको सिमेन्टको व्यापार हाल बढेर ५० प्रतिशतसम्म पुगेको छ ।

laxmi

आर्थिक क्रियाकलापहरु ठप्प भएको अवस्थामा शतप्रतिशतबाट खस्केको सिमेन्ट व्यापारले लय समातिरहेको नेपाल सिमेन्ट उत्पादक संघका महासचिव तथा अग्नि सिमेन्टका अध्यक्ष डा. तारा पोख्रेलले बताए ।

नेपालमा कोरोना भाइरसको महामारी फैलनुअघि बार्षिक १ करोड ७० लाख मेट्रिक टन सिमेन्टको खपत भइरहेको थियो । तर, कोरोना महामारीसँगै लगाइएको लकडाउनका कारण यस्तो खपत २० प्रतिशतसम्म घटेको थियो ।

विश्वमा कोरोना महामारीबीच जनजीवन सामान्य बन्दै जाँदा नेपालमा पनि यदैनिक गतिविध सुचारु हुन थालेको छ । सरकारले विभिन्न क्षेत्रहरु लगाएको प्रतिबन्ध हटाएसँगै व्यापार–व्यवसाय पनि पुरानै रौनक फर्किने क्रममा सिमेन्टको व्यापारसमेत सोहीअनुसार उकालो लागेको महासचिव पोख्रेलले बिजखबरलाई जानकारी दिए । उनका अनुसार हालपनि सिमेन्टको व्यापार निरन्तर बढ्दो क्रममा छ ।

नेपालमा माघ, फागुन, चैत र बैशाख महिनालाई सिमेन्टको बढी खपत हुने महिनाको रुपमा लिइन्छ । यी महिनामा समयानुकुल विकास निर्माणका कामहरु हुने हुनाले सिमेन्ट, रडलगायत निर्माण सामग्रीको खपत पनि सोहीअनुसार हुने गर्दछ ।

तर, पछिल्लो समय निर्माण सामग्रीको मूल्य बढेका कारण विकास निर्माणका कामहरु ठप्प भएको बताउँछन् नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह । उनका अनुसार सरकारको म्याद थप नगर्ने नीति र निर्माण सामग्रीका उद्योगीहरुले मूल्य बढाउँदा निर्माण कार्य ठप्प भएका हुन् ।

यता फलाम र कोईलाको मूल्य बढेकाले निर्माण सामग्रीको मूल्य बढेको उद्योगीहरु बताउँछन् । नेपालमा कोइला उत्पादन नहुने र विदेशबाट आयात गर्नुपरेकाले विश्वबजारमै कोईलाको मूल्य बढ्दा सिमेन्टको मूल्य पनि सोहीअनुसार बढेको सिमेन्ट उद्योग संघका महासचिव पोख्रेल बताउँछन् । उनका अनुसार अन्तरराष्ट्रिय स्तरमै कोइलाको मूल्यमा वृद्धि भएको छ ।

सोहीअनुसार नेपालमा कोइलाको प्रयोग गरी सिमेन्ट उत्पादन गरिने भएपछि सिमेन्टको मूल्य २० देखि २५ रुपैयाँसम्म बढेको छ । तर सिमेन्ट उद्योगदेखि काम हुने स्थानसम्म पुग्ने ट्रान्सपोर्टेसन भाडा पनि बढेकाले भाडा बढेको जस्तो देखिएको महासचिव पोख्रेलको भनाई छ ।

तर, बजारमा ५७ देखि ६२ रुपैयाँ प्रतिकिलोमा पाइने छडको मूल्य ८५ देखि ९० रुपैयाँ पुगेको र प्रतिबोरा ६ सय रुपैयाँमा पाइने सिमेन्ट ६ सय ५० रुपैयाँ पुगेको निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह बताउँछन् । उनले उद्योगीले कालोबजारी गर्दा बजारमा निर्माण सामग्रीको मूल्य बढेको आरोपसमेत लगाए । सरकारले समयमा भुक्तानी नगर्दा र म्याद थपको नीतिका कारण निर्माण क्षेत्रमा काम ठप्प भएको उनको भनाई छ ।

सरकारी लगानीमा सबैभन्दा पहिले सन् १९७४ मा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । हाल सरकारी उद्योग तीनवटा रहेका छन् भने निजी क्षेत्रका उद्योग ६४ पुगेका छन् । यस्तै हाल नेपालमा १८ वटा उद्योगले नेपालमै चुनढुंगाबाट क्लिंकर बनाएर सिमेन्ट उत्पादन गर्दै आएका छन् । त्यस्तै ४३ ओटा उद्योगले क्लिंकर आयात गरेर या नेपालकै उद्योगबाट क्लिंकर किनेर त्यसलाई ग्रान्डिङ गरेर सिमेन्ट उत्पादन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL