Logo

बिदेश जाने बढदा पनि रेमिट्यान्स घट्यो, ७ महिनामा ५ खर्ब १३ अर्ब रुपैयाँ देश भित्रियो

बिदेश जाने बढदा पनि रेमिट्यान्स घट्यो, ७ महिनामा ५ खर्ब १३ अर्ब रुपैयाँ देश भित्रियो



काठमाडौं । सरकारले बिदेश जाने युवालाई स्वदेशमै बस्न प्रोत्साहन गर्ने भनेपनि पछिल्लो सात महिनामा बिदेश जाने नेपालीको संख्या थप बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या २१ दशमलव ७ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो वर्षको त्यही अवधिमा यस्तो सङ्ख्या ३७ दशमलव ५ प्रतिशतले घटेको थियो ।

यस्तै पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा सात महिनामा शून्य दशमलव ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यही अवधिमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ४ दशमलव ९ प्रतिशतले बढेको थियो ।

विदेश जाने नेपाली बढेपनि रेमिट्यान्स भने घटेको पाइएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनामा रेमिट्यान्स शून्य दशमलव पाँच प्रतिशतले घटेर पाँच खर्ब १३ अर्ब २१ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा रेमिट्यान्स साढे २८ प्रतिशतले बढेको थियो । चालु आवको सुरुका महिनाहरुमा घटेको रेमिट्यान्स पुससम्म आउँदा ०.९ प्रतिशतले बढेको थियो । तर, माघमा आउँदा रेमिट्यान्स आप्रवाह पुनः घट्न गएको हो ।

यस्तै अमेरिकी डलरमा आयात हुने रेमिट्यान्समा पनि शून्य दशमलव २ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL