Logo

चितवनमा अन्तःशुल्क घटेपछि लक्ष्यअनुसार कर उठेन, पुस मसान्तसम्म १५ अर्ब ४३ करोड राजश्व संकलन

चितवनमा अन्तःशुल्क घटेपछि लक्ष्यअनुसार कर उठेन, पुस मसान्तसम्म १५ अर्ब ४३ करोड राजश्व संकलन



चितवन । अन्तःशुल्कमा कमी आएपछि लक्ष्यअनुसार कर सङ्कलन हुन सकेको छैन। आन्तरिक राजश्व कार्यालय भरतपुरले पुस मसान्तसम्ममा रु १५ अर्ब ४३ करोड ९४ लाख ७६ हजार राजश्व सङ्कलन गरेको छ। जुन लक्ष्यको ७८ दशमलब ४० प्रतिशतमात्र हुन आउँदछ।

कार्यालयका अनुसार पुस मसान्तसम्ममा रु १२ अर्ब ८६ करोड ६३ लाख १४ हजार अन्तःशुल्क सङ्कलन भएको छ। जुन लक्ष्यको ७४ दशमलव ६८ प्रतिशतमात्र हुन आउँछ। मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब १२ करोड ३७ लाख ७९ हजार सङ्कलन भएको छ। यो लक्ष्यको १२५ दशमलव ३१ प्रतिशत हो।

त्यस्तै आयकरतर्फ रु एक अर्ब ३२ करोड ३४ लाख ५१ हजार, बहाल करतर्फ रु तीन करोड ४४ लाख ९५ हजार र ब्याज करमा रु आठ करोड १९ लाख पाँच हजार सङ्कलन भएको छ। आयकरमा ९६ दशमलव १५, बहाल करमा ६६ दशमलब २२ र व्याज करमा ७६ दशमलव ९९ प्रतिशत लक्ष्य प्राप्त भएको कार्यालयले जनाएको छ।

कार्यालयप्रमुख शुभप्रसाद रिजालका अनुसार यहाँको मुख्य राजश्व अन्तःशुल्क हो। यस वर्षको लक्ष्य रु ४३ अर्ब ३८ करोड रहेको छ। जसमध्ये अन्तःशुल्कको लक्ष्यमात्र रु ३७ अर्ब ९४ करोड रहेको छ। यस कार्यालयले सङ्कलन गर्ने राजश्वमा ८६ प्रतिशत लक्ष्य अन्तःशुल्कको छ। गत वर्ष रु ३० अर्ब राजश्व सङ्कलन भएकामा रु २६ अर्ब अन्तःशुल्कबाट सङ्कलन भएको थियो।

अन्तःशुल्कको मूख्य हिस्सा मदिरा र बियर उद्योगले समेट्ने गर्दछ। यसका अतिरिक्त रङ, सिमेन्ट, फलामका निर्माण सामग्री उत्पादन, हल्का पेयपदार्थ लगायतमा अन्तःशुल्क लाग्ने गर्दछ।

यस कार्यालयले नवलपुर र चितवन हेर्दछ। यस क्षेत्रमा सात मदिरा उद्योग र छ बियर उद्योग छन्। मदिरा र बियरको उत्पादन र बिक्री वितरण कमी भएका कारण राजश्वमा गिरावट आएको रिजालको भनाइ छ।

अन्तःशुल्कमा मदिराको भन्दा बियर उद्योगको लक्ष्य बढी भएको भन्दै उनले गर्मी मौसमसँगै बियरको उत्पादन एवम् बिक्री बढेर राजश्व लक्ष्यमा पुग्ने जानकारी दिए।

चिसो मौसममा मदिराको खपत राम्रो हुने भए पनि बियरको खपत निकै कम हुने गर्दछ। कार्यालयले राजश्व बढाउन यस क्षेत्रका उद्योग वाणिज्य संङ्घ, उद्योग सङ्घ, चेम्बर अफ कमर्स लगायतका उद्योगी–व्यवसायीका सङ्घसंस्थासँग छलफल एवं करसम्बन्धी जानकारी गराउने, बजार अनुगमन गर्ने जस्ता कार्य गर्दै आएको रिजालले बताए। कार्यालयमा एक लाख ४० हजारभन्दा बढी करदाता रहेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्
MBL