Logo

दोलखामा आकर्षक आर्क ब्रिज निर्माणको अन्तिम चरणमा, फागुनभित्रै सम्पन्न हुने

दोलखामा आकर्षक आर्क ब्रिज निर्माणको अन्तिम चरणमा, फागुनभित्रै सम्पन्न हुने



काठमाडौं । दोलखामा आकर्षक आर्कब्रिज निर्माणको अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन गुमुखोला आर्क ब्रिजको निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भएको निर्माणकर्ता कन्काई ईन्टरनेश्नल विल्र्डश प्रालि र रिमाल निर्माण सेवाले जानकारी दिए ।

उक्त पुलको काम ८५ प्रतिशत सम्पन्न भएको र बाँकी काम यही फागुन महिना भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ तीब्र गतिामा काम भइरहेको आयोजनाले जानकारी दिएको छ ।

उक्त पुलको मुख्य बाँकी काम भने ढलानको रहेको छ । ढलानको काम यही माघ १५ गते गर्ने तयारी गरिरहेको आयोजनाले बाँकी फिनिसिङको काम फागुन भित्रै सम्पन्न गर्ने लक्ष्य लिएको छ । ६० मिटर लामो उक्त आर्कब्रिज निर्माणको लागि सडक विभाग अन्तरगतको पुल महाशाखाले २०७१ चैतमा निर्माण सम्झौता गरेको थियो ।

निर्माण सम्झौता भएको मितिले ३ बर्ष भित्रै सम्पन्न गर्नु पर्ने भए पनि बिभिन्न कारणले निर्माण सम्पन्न हुन नसके पछि २०७४ चैतमा समय थप गरिएको थियो । तर, थपिएको समयमा पनि पुल निर्माण नसकिएकपछि आयोजनाले पुनः दोस्रो पटक समय थपको लागि शुक्रबार मात्रै निवेदन दिएको साईट ईन्चार्ज इन्जिनियर पुरुषोतम भण्डारीले जानकारी दिएका छन ।

उनका अनुसार अबको एक हप्ता भित्रै समय थप हुने छ । उक्त थप समय भने चैत सम्मको रहने भण्डारीले जानकारी दिए । उक्त पुल निर्माणमा ढिलाई हुनुको कारण भने भूकम्प र अघोषित नाकाबन्दी सँगै निर्माणस्थल सडकदेखि करिब डेढ किलोमिटर तल र भौगोलिक रुपमा कठिनाई भएको आयोजनाले जानकारी दिएको छ । आयोजनाका अनुसार उक्त पुल निर्माणका लागि सडक बिभागले मुख्य सडकदेखि पुल निर्माणस्थलसम्म सडक निर्माणको लागि ५० लाख रुपैयाँ दिएको थियो ।

बाँकी १ करोड रुपैयाँ भने आयोजनाले नै लगानी गरेर सडक लगे पनि सो सडक बर्षायाममा गाडी जान सक्ने अवस्थामा छैन । जसकारण निर्माण सामग्री पुर्याउन कठिनाई भएकाले समयमै काम सम्पन्न गर्न ढिलाई भएको हो ।

तर, ५० लाख रुपैयाँमात्रै दिएको सडक बिभागले भने बाँकी रकम सोझै दिन नमिल्ने भएकाले उक्त सडक कालोपत्रे गर्ने बेलामा दिने तयारी गरेको बताइएको छ । ८ करोड रुपैयाँ लागतमा निर्माणाधीन उक्त पुलको विस २०७४ भदौदेखि म्याद थप हुन सकेको छैन । काममा ढिलाई गरेको भन्दै म्याद थप गर्न सरकारले आनाकानी गरेपछि आफ्नै लगानीमा पुल निर्माण गरिरहेको रिमाल निर्माण सेवाका प्रमुख कार्यकारी अधिकृत हेमराज रिमालले जानकारी दिए ।

समयमै सम्पन्न गर्न भुकम्प र अघोषित नाकाबन्दीले गर्दा निर्माण सामग्री उपलब्ध गराउन नसके पछि काम लम्बिएको आयोजनाले जानकारी दिएको छ । सो आयोजना निर्माण गर्न ८ करोड रुपैयाँमा सम्झौता भए पनि हाल सम्म सरकारले १५ प्रतिशत भन्दा बढी रकम भुक्तानी नगरेको निर्माण सेवाका प्रमुख कार्यकारी अधिकृत रिमालले बताए ।

निर्माणाधीन उक्त पुलको लम्बाई ६० मिटर रहेको छ । उक्त पुलको चौडाई भने ९ मिटरको रहेको छ । चिनियाँ टेक्नोलोजीमा निर्माण भईरहेको उक्त पुलको सम्झौता पछि डिजाईनलगायतका काममा नै डेढ बर्ष समय सकिएको र पछि बाँकी काम गर्न समय थप गर्नुपरेको रिमालले बताए । उक्त पुल संचालनमा आएसँगै लामाबगर पुग्ने दुरी छोटो हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL