Logo

चीनतर्फका नाका डेढ महिनादेखि अवरुद्ध : १३ सय कन्टेनर सामान बाटोमै थन्किदा व्यवसायी संकटमा, अर्थतन्त्रमा गम्भीर असर

चीनतर्फका नाका डेढ महिनादेखि अवरुद्ध : १३ सय कन्टेनर सामान बाटोमै थन्किदा व्यवसायी संकटमा, अर्थतन्त्रमा गम्भीर असर



काठमाडौं । नेपाल–चीन सीमाको तातोपानी नाकासमेत अवरुद्ध हुँदा नेपालको उद्योग–व्यवसाय क्षेत्रमा गम्भीर संकट पैदा भएको छ । काठमाडौंलाई तातोपानीसँग जोड्ने अरनिको राजमार्गको कोदारी क्षेत्रमा मात्र ३५ मिटर सडक भत्किएको कारण डेढ महिनादेखि अवरुद्ध छ । सडक अवरुद्ध भएकै कारण नेपालका उद्योगहरूमा कच्चा पदार्थको अभाव भएको छ भने दशैं जस्तो ठूलो चाड नजिकिँदै गर्दा आवश्यक वस्तुहरूको आपूर्ति प्रभावित भई महंगी बढ्ने खतरा बढेको छ । यसले नेपालको अर्थतन्त्रलाई गम्भीर असर पारिरहेको उद्योगी व्यवसायीहरुले बताउँदै आएको छ ।

यसअघि असार २४ गते रसुवागढी नाकामा आएको बाढीले नेपाल चीन मितेरी पुल बगाएको थियो । त्यसबेलादेखि नै अवरुद्ध भएको नेपालको उत्तरी नाकाबाट हुने नेपाल चीन व्यापार अहिलेसम्म खुल्न भने सकेको छैन । तिब्बतबाट आएको बाढीले रसुवागढी नाकाको पुल बगाएपनि त्यसको विकल्पको रूपमा तातोपानी नाकालाई बढी प्रयोग गर्न थालिएको थियो । तर अहिले यो नाकापनि अवरुद्ध भएपछि नेपालको उत्तरी सीमाबाट हुने आयात पूर्ण रूपमा प्रभावित भएको नेपाल हिमालय सिमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले बताए ।

खासगरी चीनबाट नेपालका लागि आउँदै गरेका जुत्ता चप्पलका कच्चापदार्थ ल्याएका कन्टेनरहरु उतै रोकिँदा नेपालमा उत्पादन हुने जुत्ताचप्पलमै ठुलो प्रभाव पर्ने देखिएको छ । नेपालको निर्यात व्यापार र आन्तरिक खपतमै ठुलो योगदान दिईरहेका स्वदेशी जुत्ताचप्पलको उत्पादन नै चिनियाँ नाकामा भएको अवरुद्धताका कारण प्रभावित हुने एक जुत्ता उत्पादक कम्पनीका अधिकारीले बताए । ‘हामीले पछिल्लो समय उत्पादन गर्न लागिरहेका जुत्ताचप्पलका लागि आवश्यक कच्चापदार्थ अर्डर गरेका थियौं,’ उनले भने, ‘तर, उत्तरतर्फका सबै नाकाहरु अवरुद्ध हुँदा कच्चापदार्थ ल्याएका कन्टेनरहरु लामो समयसम्म बाटोमै अड्किएका छन्, यसले हाम्रो उत्पादनमा ठुलो प्रभाव पार्ने निश्चित छ ।

गएको साउन मध्यबाट बर्षाका कारण कोदारी क्षेत्रमा सडक भत्किएर अवरुद्ध भएको थियो । भारी वर्षाका कारण बारम्बार भेल र पहिरो आएपछि सडकको खण्डमा ठूलो क्षति भएको छ । स्थानीय यातायात व्यवसायीहरूले अस्थायीरूपमा मर्मत गर्ने प्रयास गरे पनि पुनः वर्षा भएपछि फेरि भत्किने गरेको छ । बाढी र पहिरोका कारण सडक लगातार अवरुद्ध भएपछि चीनतर्फको नायलाममा करिब १ हजार ५ सय ट्रक र ४ सयभन्दा बढी कन्टेनरहरू अलपत्र परेका छन् । चीनबाट कपडा, रासायनिक पदार्थ, इलेक्ट्रोनिक्सका सामानहरुसँगै औद्योगिक कच्चापदार्थ पनि उत्तिकै रहेको अध्यक्ष कार्की बताउँछन् ।

हल्का वर्षा भएपनि सडक अवरुद्ध हुने हुँदा तातोपानी नाकालाई विश्वास गर्न नसकिने अवस्था आएको उक उद्योगीले बताए । यसैका कारण १ हजारभन्दा बढी कन्टेनरहरू अड्किएका छन् । दशैंका लागि लक्षित सामानहरू पनि रोकिएका छन् । यदि तत्काल मर्मत नगरे नेपालका उद्योगहरू ध्वस्त हुने र महंगीले आकाश छुने उनी बताउँछन् । विशेष गरी कपडा, सिमेन्ट र कृषि प्रशोधन उद्योगहरू चिनियाँ नाका अवरुद्ध भएका कारण प्रभावित छन् । कच्चा पदार्थ नहुँदा उत्पादन घटेको छ र आन्तरिक बजारमा आपूर्ति गर्न नसक्ने अवस्था आएको छ । यसले हजारौं रोजगारीहरूमाथि खतरा बढाएको छ ।

दशैं नजिकिँदै गर्दा यो समस्या झन् गम्भीर बनेको छ । दशैंमा आवश्यक पर्ने कपडा, इलेक्ट्रोनिक्स सामानहरू, फलफूल र अन्य वस्तुहरूको आयात उत्तरी नाकाबाटै बढी हुने गर्दछ । तर अब तातोपानी नाकामा देखिएको समस्याले दक्षिणी नाकाहरू जस्तै वीरगञ्ज र भैरहवाबाट आयात बढाउनुपर्ने देखिन्छ । यद्यपी चीनबाट नेपाल ल्याउनुपर्ने वस्तुहरु चाँडो र छोटो समयमै नेपाल आईपुग्ने भएकाले धेरैजसो उद्योगी व्यापारीले चिनियाँ सामान नेपालको उत्तरी नाकाबाटै भित्र्याउने गरेका थिए । यसले गर्दा बजारमा वस्तुहरूको मूल्य बढ्ने निश्चित छ । उदाहरणका लागि, दशैंमा प्रयोग हुने कपडा र सामानहरूको मूल्य २० देखि ३० प्रतिशतसम्म बढ्न सक्ने कार्की बताउँछन् ।

रसुवागढीको पुल बाढीले बगाएपछि सरकारले वैकल्पिक व्यवस्था गर्न प्रयास गरेको थियो । २०८२ श्रावण ६ गते नेपाल र चीनबीच कोरला नाकाबाट व्यापार सुरु गर्ने सहमति भएको थियो तर यो नाकाको क्षमता सीमित छ र तातोपानी वा रसुवागढी जत्तिको मात्रा ह्यान्डल गर्न सक्दैन । यसैले उत्तरी नाकाहरूको तत्काल मर्मत आवश्यक रहेको उद्योगीहरु बताउँदै आएका छन् । लामो समयदेखि तयार कोरला नाकाको चीनतर्फ भन्सार कार्यालय स्थापना भई संचालनमा रहेपनि नेपालतर्फको भन्सार भने संचालनमा थिएन ।

यसपटक भने कोरला नाकाको भन्सार पनि संचालनमा ल्याउने र उक्त नाकाबाट आयात निर्यात सुरु गर्ने तयारीका लागि भन्दै चीनतर्फबाट नेपाल ल्याउन तयार गरिएका २० देखि ३० कन्टेनर कोरला नाकातर्फ गएका थिए । तर, त्यो नाकामा पनि बाटो अवरुद्ध हुँदा त्यो भन्सार कार्यालयसमेत संचालनमा ल्याउन र आयात सुरु गर्न नसकिएको कार्कीले बिजखबरलाई बताए । दशैंजस्तो चाडमा अभाव र महंगीले जनजीवन प्रभावित हुनु हुँदैन । सरकारले भौतिक पूर्वाधार मन्त्रालयमार्फत सडक मर्मत र चीनसँग समन्वय गरी समस्या समाधान गर्नुपर्ने उद्योगीले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्