Logo

बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्सामा, काठमाडौँभित्र नैकापमा सबैभन्दा धेरै वर्षा

बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्सामा, काठमाडौँभित्र नैकापमा सबैभन्दा धेरै वर्षा



काठमाडौँ । बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगञ्जमा १४३ मिलिमिटर वर्षा भएको छ । बारामा १४०.४, रौतहटको गौर वर्षा मापन केन्द्रमा १२९, रौतहटकै महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ ।

विभागले वारा र पर्सामा भएको वर्षा अति भारी भएको जनाउँदै देशको मध्य क्षेत्रमा बढी वर्षा भएको र तराइ केन्द्रित रहेको, नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भएको बताएको छ । यो अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौँ उपत्यकालगायत १४ वटा जिल्लामा ५० मिलिमिटरभन्दा माथि वर्षा भएको छ । पचास भन्दा बढी मापन केन्द्रहरुमा ३० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भएको छ ।

हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण वर्षा भइरहेको तथा फेरि अर्को प्रणाली पनि सक्रिय हुने सम्भावना बढेकाले आज राति पनि धेरै स्थानमा वर्षा हुने विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो ६ घण्टामा नैकाप क्षेत्रमा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, शनिबार बिहानसम्मको मापनमा नैकापमा ३९ मिलिमिटर वर्षा भएको छ। विभागका मौसमविद् डेविड ढकालका अनुसार पानीपोखरीमा २५.२ मिलिमिटर, कपनमा २४.४ मिलिमिटर, सुन्दरीजलमा २१.८ मिलिमिटर र बबरमहलमा २१ मिलिमिटर वर्षा मापन गरिएको छ ।

‘काठमाडौं उपत्यकामा आज दिनभर र राति पनि निरन्तर वर्षा हुने सम्भावना छ,’ ढकालले भने, ‘कसै-कसै समयमा वर्षा केही कम भए पनि फेरि तीव्र हुने देखिएको छ।’ काठमाडौंमा शुक्रबार राति ९ बजेबाट वर्षा सुरु भएको थियो। राति १२ बजेदेखि भने लगातार वर्षा भइरहेको छ । वर्षाका कारण उपत्यकाका केही क्षेत्रहरूमा सडकमै पानी जमेको र जनजीवन प्रभावित भएको देखिएको छ । मौसम विभागले आवश्यक सतर्कता अपनाउन सार्वजनिक आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्