Logo

अपडेट : मौसमी त्रासका कारण देशभर जनजीवन प्रभावित, कहाँ के हुँदैछ ?

अपडेट : मौसमी त्रासका कारण देशभर जनजीवन प्रभावित, कहाँ के हुँदैछ ?



काठमाडौँ । खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमााडैँतर्फ नै फर्काएको छ ।

धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौँ फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए । आज बिहानदेखि नै नागढुङ्गा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले ‘माइकिङ’ गरिरहेको उनले बताए ।

कास्की प्रशासनले पनि रोक्यो सवारी साधनको आवतजावत

कास्की प्रशासनले पनि सवारी साधनको आवतजावत ठप्प पारेको छ । निरन्तर भारी वर्षा हुने भन्दै प्रशासनले लामा दूरीका सवारी नचलाउन अपिल गरेको हो । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशैभर भारी वर्षाको प्रक्षेपण गरेको छ । शानिबार सूचना जारी गर्दै प्रशासनले असोज २० गतेसम्म कास्कीबाट छुट्ने र कास्की हुँदै चल्ने लामा दूरीका सबै गाडी रोक्न भनेको हो ।

सूचना अनुसार, कास्की हुँदै बाग्मती प्रदेश, काठमाडौँ उपत्यका, लुम्बिनी प्रदेश र मधेस प्रदेशतर्फ जाने लामो दूरीका सवारी साधनमा पूर्णरूपमा रोक लगाइएको छ । यसका साथै, म्याग्दी, पर्वत, बागलुङ र स्याङ्जा जिल्लाबाट कास्की हुँदै अन्यत्र जाने लामो दूरीका सवारी साधनमा पनि रोक लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।

वर्षाबाट बाढी, डुबान, पहिरो र भूक्षय जस्ता विपद्जन्य जोखिम रहेको प्रशासनले जनाएको छ । कास्की प्रशासनले यातायात व्यवसायीहरूलाई पनि तत्कालै सवारी साधनको आवतजावतमा रोक लगाउन आग्रह गरेको छ । अत्यावश्यक काम नभई जिल्ला भित्र, अन्तर जिल्ला र रातिको समयमा आवतजावत नगरी घरमै सुरक्षित बस्न सर्वसाधारणलाई अनुरोध गरिएको लम्सालले बताए ।

बिपी राजमार्गमा सवारी साधन ‘होल्ड’, अरनिको राजमार्ग पनि अवरुद्ध

शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण बिपी राजमार्गका विभिन्न स्थानमा लेदोसहितको पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभन्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारी साधन रोकेको छ ।

यात्री र सवारी साधनको सुरक्षालाई दृष्टिगत गर्दै ती स्थानबाट अगाडि जाने अनुमति नदिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुनिल धाँजुले जानकारी र्दिए। यता, अरनिको राजमार्ग पनि अवरुद्ध भएपछि दुवैतर्फी सवारी साधन अनिश्चित समयसम्मका लागि होल्ड गरिएको हो । अविरल वर्षाका कारण शनिबार बिहानदेखि देशका प्रमुख राजमार्गहरूमा सवारी साधन होल्ड गरिएको छ । काठमाडौं–नागढुङ्गा खण्डमा बिहान ७ बजेदेखि दुबै तर्फका सवारी साधन रोकिएका छन् ।

चन्द्रागिरिबाट नागढुङ्गा, गोदाम र टखेल हुँदै धादिङ र मकवानपुरतर्फ बाहिरिने सवारी साधनलाई अर्को आदेश नभएसम्म आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन् भने सम्बन्धित निकायहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

मौसम नखुलेसम्म आन्तरिक उडान नहुने

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बन्द गरिएको छ । मौसम नखुलेसम्म उडान गर्न अनुमति नदिने निर्णय भएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

‘खराब मौसमका कारण अहिले आन्तरिक उडान स्थगित भएको छ। मौसम नखुल्दासम्म यो काम रहिरहने छ’, उनले भने । शनिबार मध्याह्न साढे १२ बजेसम्म त्रिभुवन विमानस्थलबाट विभिन्न सहरमा हुने २१ आन्तरिक उडान रद्द भएका छन् । यस्तै अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालनमा रहेको शेर्पाले बताए ।

काठमाडौँ जाने सवारीसाधन चितवनमा रोकिए

नारायणगढ हुँदै काठामाडौँ जाने सवारीसाधनलाई यहाँ रोकिएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण लोथरदेखि फिस्लिङ बजारसम्म ‘स्टपिङ प्लान’अनुसार सवारीसाधन रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार धादिङको जवाङ खोलामा पहिरोका कारण सडक अवरुद्ध भएकाले काठमाडौँ जाने सवारीसाधनलाई स्थानीय प्रशासनले तोकेको स्थानमा रोकिएको हो । उनले भने, “भरतपुर–मुग्लिन–पोखरा सडक सञ्चालनमा रहेको छ ।” नारायणगढ मुग्लिन सडक खण्डमा अहिले सञ्चालनमा रहेको छ । केही स्थानमा ढुङ्गा खसे पनि तत्काल पन्छाउने गरिएको उनले जानकारी दिए ।

उनका अनुसार काठमााडौँ जाने सवारीसाधनलाई ट्राफिक व्यवस्थापन एवं आपत्कालीन अवस्थामा सवारीसाधन रोक्ने योजनाअनुसार इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिन्टार र मुग्लिनमा, भरतपुर महानगरपालिकाको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस टर्मिनल, गोन्द्राङ एवं पूर्वी चितवनको शान्ति चोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा बजार भण्डारा, लोथर बजार लोथरमा सवारी साधन रोकिएको छ ।

सवारीसाधन एकै ठाउँमा रोक्दा मानवीय आवश्यकतासम्बन्धी समस्या हुने भएकाले विभिन्न स्थानमा ‘स्टपिङ प्लान’ बनाएर सवारी साधन रोकिएको हो । उनले भने, “धेरै स्थानमा सवारीसाधन रोक्दा मानवीय आवश्यकतासम्बन्धी समस्या नआउने हुन्छ ।” बाटो पूर्ण रुपमा सञ्चालन नभएसम्म सवारीसाधनलाई रोकिएको स्थानमा नै रहन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्