Logo

विशिष्टीकृत लगानी कोष व्यवस्थापक सञ्चालनको लागि दुई कम्पनीले पाए सैद्धान्तिक सहमति, अबको प्रक्रिया के ?

विशिष्टीकृत लगानी कोष व्यवस्थापक सञ्चालनको लागि दुई कम्पनीले पाए सैद्धान्तिक सहमति, अबको प्रक्रिया के ?

३७ विशिष्टीकृत लगानी कोष व्यवस्थापक सञ्चालन अनुमतिको प्रतिक्षामा



काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ कम्पनीलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको काम गर्नको लागि सैद्धान्तिक सहमति दिएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको काम गर्न २ कम्पनीलाई अनुमति दिएको हो ।

विशिष्टीकृत लगानी कोष व्यवस्थापक सञ्चालनको लागि सैद्धान्तिक अनुमति पाउनेमा म्याभरिक कौटिल्य भेन्चर र मेघा इनफ्राब्लाक्स प्राइभेट लिमिटेड रहेका छन् । ‘धितोपत्र बोर्डले म्याभरिक कौटिल्य भेन्चर र मेघा इनफ्राब्लाक्स प्राइभेट लिमिटेडलाई सञ्चालनका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ,’ सेबोनका सहायक प्रवक्ता तोेलाकान्त न्यौपानेले भने, ‘यी कम्पनीहरुलाई आवश्यक पूर्वाधार तयार गर्नको लागि सैद्धन्तिक सहमति दिइएको हो ।’

अब यी कम्पनीहरुले धितोपत्र बोर्डले निर्धारण गरेको पूर्वाधारहरु तयार गरेपछि मात्रै बोर्डले निरिक्षण गरेर कारोबार सञ्चालनको लागि अनुमति दिने उनको भनाई छ । सैद्धान्तिक सहमति पाएका २ कम्पनीसहित अहिले विशिष्किृत लगानी कोष व्यवस्थापन सञ्चालनको लागि ३७ कम्पनीले बोर्डमा आवेदन दिएका छन् । अहिले २ कम्पनीलाई सैद्धान्तिक सहमति मात्रै दिएकाले यी कम्पनी पनि कारोबार अनुमतिको प्रतिक्षामा रहेका छन् । ‘विशिष्टिकृत लगानी कोष नियमावली, २०७५’ को व्यवस्थाअनुसार बोर्डले सञ्चालनको अनुमति दिएको हो ।

धितोपत्र बोर्डले नवीनतम ज्ञान, सीप–क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न लगानीको नयाँ स्रोतको व्यवस्था गर्नसक्ने गरी विशिष्टीकृत लगानी कोष नियमावली २०७५ कार्यान्वयनमा ल्याएको हो । विशिष्किृत लगानी कोष व्यवस्थापनले स्वदेशी तथा वैदेशिक लगानीका लागि भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी फण्ड, हेज फण्डजस्ता उपकरणमार्फत लगानीको नयाँ स्रोतको व्यवस्था गर्नेछन् ।

प्राइभेट इक्विटी र भेन्चर क्यापिटल के हुन् ?

प्राइभेट इक्विटी कुनै कम्पनीको पूरै वा कम्पनीको ठूलो अंश इक्विटी खरिद गरेर लगानी गर्ने एउटा कोष हो । यसले कुनैपनि कम्पनीको पूरै इक्विटी खरिद गरेर आफ्नो नियन्त्रणमा लिने गर्दछ । आफ्नो नियन्त्रणमा लिएपश्चात निश्चित समयसम्म त्यस कम्पनी सञ्चालन गरी आफ्नो सेयर सर्वसाधारणमा बिक्री गरी पुँजी बजारमा सूचीकरण गर्ने व्यवस्थासमेत गर्न सक्छ । यिनीहरुको सोच केही समयपछि सेयर बेचेर बाहिरिने रहेको हुन्छ । इक्विटीको लगानी सीमित समयका लागि मात्र रहन्छ । यिनीहरु प्रायः लगानी र व्यवस्थापन गर्ने अनि केही समयपछि सेयर बेचेर बाहिरिने गर्छन् ।

भेन्चर क्यापिटल भनेको प्राइभेट इक्विटी फाइनान्सिङको एक रुप हो । यसले स्टार्टअप अथवा त्यस्ता कम्पनीमा लगानी गर्छ जुन सरुवाती चरणमा रहेका हुन्छन् । नवीनतम् ज्ञान, सीप र क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसायमा यिनीहरुले लगानी गर्छन् । भेन्चर क्यापिटलले भविष्यको व्यवसायिक विस्तारलाई हरेर पुँजी परिचालन गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्