काठमाडौं । कर्जा लगानी नहुँदा बैंकहरुले राष्ट्र बैंकमा धमाधम पैसा राखिरहेका छन् । चालु आर्थिक वर्षको ११ दिनमा मात्रै बैंक तथा वित्तीय संस्थाले १५ खर्ब ८१ अर्ब ३० करोड रुपैयाँ राष्ट्र बैंकमा राखेका छन् । जसमध्ये बैंकहरुले १४ खर्ब ११ अर्ब ९५ करोडको स्थायी निक्षेप सुविधा (एसडीएफ) उपयोग गरेका गरेका हुन् भने निक्षेप संकलन उपकरणमार्फत १ खर्ब ६९ करोड ३५ लाख रुपैयाँ राष्ट्र बैंकमा बुझाएका छन् । कर्जा विस्तार गर्न नसक्दा बैंकहरुले प्रणालीमा भएको अधिक रकम अल्पकालीन उपकरणहरुमा लगानी गरेका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरुले आइतबारमात्रै नेपाल राष्ट्र बैंकमा सवा ३ खर्ब रुपैयाँ जम्मा गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आइतबार कुल ३ खर्ब १२ अर्ब ३० करोड रुपैयाँ राष्ट्र बैंकमा जम्मा गरेका हुन् । जसमध्ये २ खर्ब ७१ अर्ब स्थायी निक्षेप सुविधा (एसडीएफ) उपयोग गरेका छन् । त्यस्तै, निक्षेप संकलन उपकरणमार्फत ४१ अर्ब १० करोड राष्ट्र बैंकमा बुझाएका हुन् ।
वित्तीय प्रणालीमा पैसा धेरै भएपछि राष्ट्र बैंकले आइतबार निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट झिक्न चाहेको थियो । बैंक तथा वित्तीय संस्थाले ४१ अर्ब १० करोड रुपैयाँका लागि मात्रै आवेदन दिएका थिए । वित्तीय प्रणालीमा पैसा धेरै भएकै कारण ब्याजदर निकै तल नझरोस् भन्नकै लागि राष्ट्र बैंकले केही दिनको अन्तरमा बजारबाट पैसा झिक्दै आइरहेको छ । एसडीएफमा लगानी गर्दा बैंक वित्तीय संस्थाले ३ प्रतिशत ब्याज पाउने गरेका छन् । प्रणालीमा अधिक तरलताको अवस्था बढ्दै गएपछि बैंकहरुले पनि अल्पकालीन उपकरणहरुमा लगानी बढाउँदै लगेका छन् ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जाको अवस्था कस्तो ?
केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले ७२ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ५५ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७५.७६ प्रतिशत छ ।
आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग अझै बढ्न सकेको छैन । बैंकमा पैसा थुप्रिएपछि बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याजदर समेत घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घट्दा बैंकहरुको आधारदर समेत घटेको छ । यसले कर्जाको ब्याजदर केही सस्तो भए पनि कर्जा लगानी बढ्न भने सकेको छैन् । पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले घर, गाडी तथा सेयर कर्जामा लचिलो नीति अपनाएको छ । यसले कर्जा विस्तार बढ्ने अपेक्षा रहेको जानकारहरु बताउँछन् ।