कठमाडौं । साना तथा मझौला संगठित संस्था (एसएमई) कम्पनीको कारोबारको लागि नेप्सेले तयार गरेको कारोबार विनियमावलीको मस्यौदा स्वीकृतिको अन्तिम चरणमा रहेको छ । नेप्सेले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार विनियमावली मस्यौदा तयार गरेर सञ्चालक समितिमा दुई चरणको छलफल गरिसकेको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बिजखबरसँग भने, ‘विनियमावलीको मस्यौदा माथि नेप्से सञ्चालक समितिको बैठकमा दुई चरणमा छलफल भइसकेको छ ।’
अब बस्ने सञ्चालक समितिले विनियमावलीको मस्यौदामा पारित गर्ने सम्भावना छ । तथापि, बोर्डमा अध्यक्षलगायत ३ संचालकको पद खाली छ । त्यसैले पनि अहिले नै सञ्चालक समितिको बैठक बसिहाल्ने अवस्था भने छैन । नेप्से सञ्चालक समितिले उक्त मस्यौदा पारित गरेपछि नेपाल धितोपत्र बोर्डमा अनुमतिको लागि पठाउन पर्ने हुन्छ । धितोपत्र बोर्डले मस्यौदालाई अन्तिम स्वीकृत दिएपछि मात्रै यो लागू हुन्छ । साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार विनियमावली मस्यौदामा कम्पनीहरुलाई कसरी सूचीकरण र कारोबार गर्ने भन्ने व्यवस्था उल्लेख रहेको प्रवक्ता पराजुलीले जानकारी दिए ।
उक्त विनियमावलीले कम्पनीहरुको कारोबारको लागि छुट्टै प्लेटफर्म बनाउने कि अहिलेको इन्डेक्समा एउटा सब इन्डेक्स थप्ने भन्ने कुरा एकिन नभएको उनको भनाइ छ । ‘अहिले एसएमई कम्पनीहरुको कारोबारको लागि छुट्टै प्लेटफर्म बनाउने कि अहिलेको इन्डेक्समा एउटा सब इन्डेक्स थप्ने भन्ने कुरा एकिन भएको छैन’ उनले भने, ‘विनियमावलीको मस्यौदाले पूर्णता पाएपछि मात्रै यसको टुङ्गो लाग्ने छ ।’ एसएमई कम्पनीहरुलाई दोस्रो बजारमा कारोबार गर्न दिने उद्देश्यले नेपाल धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ माघ ३ गतेबाट लागू हुने गरी जारी गरेको छ । साथै बोर्डले यस नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेप्सेलाई धितोपत्र बोर्डले निर्देशन दिएसँगै नेप्सेले मस्यौदा तयार पारेको हो ।
नियमावलीमा के छन् महत्वपूर्ण प्रावधान ?
धितोपत्र बोर्डले लागू गरेको साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ एसएमई कम्पनीको अधिकतम २५ करोड रुपैयाँभन्दा बढी पुँजी हुन पाउने छैन । तर, साना तथा मझौला संगठित संस्थाको उपस्थिति र बजारको अवस्था हेरी बोर्डले चुक्ता पुँजीको सीमा हेरफेर गर्न सक्ने व्यवस्था रहेको छ । कम पुँजी भएका संस्थालाई पुँजी बजारमा बेग्लै प्रावधान राखेर भित्र्याउन लागिएको हो । यस्ता संस्थाले जारी गर्ने आइपीओमा कम्तिमा पनि ५ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ । नियमावलीअनुसार बिक्री प्रबन्धकसम्बन्धी कार्य गर्ने मर्चेन्ट बैंकरले ५ प्रतिशत र योग्य संस्थागत लगानीकर्ताले १५ प्रतिशत सेयर खरिद गरेको हुनुपर्नेछ ।
यस्ता संस्थाले जारी पुँजीको न्यूनतम ३० देखि ४९ प्रतिशतसम्म आइपीओ जारी गर्नुपर्ने व्यवस्था गरिएको छ । यी कम्पनीहरुले निष्कासन गर्ने धितोपत्रको प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँ नै हुनेछ । एसएमई प्लेटफर्ममा आउने कम्पनीहरुले आइपीओ जारी गर्नका लागि विभिन्न शर्त पूरा गर्नुपर्नेछ । नियमावलीको व्यवस्था बमोजिम पब्लिक कम्पनीको रुपमा कारोबार सञ्चालन गरेको १ आर्थिक वर्ष पूरा गरेको हुनुपर्नेछ । तर, साबिकमा प्राइभेट लिमिटेड कम्पनीका रुपमा दर्ता भई कारोबार सञ्चालन गरेको कम्तीमा २ आर्थिक वर्ष पूरा गरेर पब्लिकमा परिणत भएको कम्पनीको हकमा १ आर्थिक वर्ष पूरा हुन आवश्यक पर्नेछैन ।
प्रचलित कानुनबमोजिम लेखा परीक्षण तथा साधारण सभा सम्पन्न गरेको र संस्थापकले कबूल गरेको धितोपत्र रकम शतप्रतिशत चुक्ता भइसकेको अवस्थामा मात्र आइपीओ निष्कासन गर्न पाउने व्यवस्था छ । संगठित संस्थाले आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्नेछ । यस्ता कम्पनीहरुले प्रिमियममा समेत आइपीओ जारी गर्न सक्नेछन । पछिल्लो ३ वर्षसम्म खुद मुनाफामा रहेको, प्रतिसेयर चुक्ता पुँजीभन्दा प्रतिसेयर नेटवर्थ बढी भएको हुनुपर्नेछ । साथै, संगठित संस्थाको साधारण सभाले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने निर्णय हुनुपर्छ ।
यस्तै, कम्तीमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ ग्रेड प्राप्त गरेका संगठित संस्थाले मात्रै प्रिमियममा आइपीओ जारी गर्न सक्ने व्यवस्था नियमावलीमा गरिएको हो । प्रिमियम मूल्य भने पछिल्लो लेखा परीक्षण भएको वित्तीय विवरण अनुसारको प्रतिसेयर नेटवर्थको २ गुणासम्म तोक्न सक्ने व्यवस्था गरिएको छ । साना तथा मझौला संगठित संस्थाले पुँजी वृद्धिका लागि हकप्रद निष्कासन गर्न सक्ने व्यवस्था समेत नियमावलीमा गरिएको छ ।
नियमावली अनुसार यस प्रावधानबाट आइपीओ जारी गर्ने संगठित संस्थाले क्रेडिट रेटिङ नगरे पनि हुनेछ । रेटिङ गर्न भने बाध्य पारिने छैन । तर बोर्डले आवश्यक देखेमा भने संगठित संस्थालाई आइपीओ जारी गर्नु अगाडि क्रेडिट रेटिङ संस्थामार्फत रेटिङ गराउन निर्देशन दिन सक्नेछ । एसएमईहरुको सेयर जारी गरेर कारोबारमा ल्याउनका लागि अब नेप्सेले आवश्यक पूर्वाधारहरु विकास गर्नुपर्नेछ । एसएमईहरुको बेग्लै प्लेटफर्म बनाएर कारोबार सुरु गर्नुपर्ने हुन्छ । यसर्थ, यो व्यवस्था पूर्णरुपमा कार्यान्वयनमा आउन भने अझै केही समय लाग्ने देखिन्छ । यद्यपि आवश्यक नियम तथा व्यवस्थाहरु आइसकेकाले अब थप प्रक्रिया अघि बढाउन नेप्सेलाई सहज हुने देखिन्छ ।