काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित मौसमसम्बन्धी बुलेटिनमा उल्लेख छ ।