काठमाडौं । लामो समयदेखि चर्चामा रहेको ‘ब्याड बैंक’ स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । सोका लागि केन्द्रीय बैंकका रुपमा रहेको नेपाल राष्ट्र बैंकले अन्तिम मस्यौदा तयार पारेको छ । केन्द्रीय बैंकका प्रवक्ता किरण पण्डितले मस्यौदाको अन्तिम रुप तयार भइसकेको बिजखबरलाई जानकारी दिए । ‘केन्द्रीय बैंकको काम मस्यौदा लेखेर अर्थमन्त्रालयमा पठाउने हो’ उनले भने, ‘सोहीअनुसार केन्द्रीय बैंकले मस्यौदा तयार गरेको छ ।’
ब्याड बैंक स्थापनाका लागि ऐन निर्माणको जिम्मा पाएको राष्ट्र बैंकले उक्त मस्यौदा तयार गरेको हो । पछिल्ला समय बैंकहरुको खराब कर्जा र गैरबैंकिङ सम्पत्तिको मात्रा अत्यधिक बढेसँगै नेपालमा पनि ब्याड बैंकको स्थापनाले चर्चा पाउँदै आएको छ । गत वर्षको मौद्रिक नीतिमा पनि यसले प्राथमिकता पाएको थियो । यसलाई चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि निरन्तरता दिइएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाको निष्क्रय कर्जा तथा गैरबैंकिङ सम्पत्ति व्यवस्थापनमा सघाऊ पुर्याउने उद्देश्यले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको लागि आवश्यक ऐन र नियमको मस्यौदा तर्जुमा गरी नेपाल सरकारसमक्ष पेस गरिनेछ ।’
अब कसरी अगाडि बढ्छ प्रक्रिया ?
ऐनको मस्यौदा तयार भएपछि अर्थ मन्त्रालयको स्वीकृति र कानुन मन्त्रालयको प्राविधिक अनुमोदन पछि मन्त्रिपरिषदबाट पारित हुनेछ । त्यसपछि संसद चलिरहेको स्थितिमा विधेयकको रुपमा संसदमा पेश हुनेछ र संसदबाट अनुमोदन भएपछि ऐन बनेर आउनेछ । यसैगरी संसद चालु अवस्थामा नरहेको स्थितिमा अध्यादेशमार्फत् ऐन लागु हुनेछ । सम्पत्ति व्यवस्थापन कम्पनीमा सरकार, नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकहरुले संयुक्त लगानी गर्ने सहमति भइसकेको छ । यसले सम्पत्तिको पुनर्संरचना मात्र होइन, बैंकको जोखिम व्यवस्थापनमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
केही समयअघि पूर्वसचिव तथा आर्थिक सुधार आयोगका संयोजक रामेश्वर खनालले पनि नेपालमा ब्याड बैंकको आवश्यकता रहेको बताएका थिए । बैंक डुब्नु भनेको कुनै सामान्य कम्पनी डुब्नु झैं नभएको भन्दै उनले स्ट्रेस्ड एसेटले बैंक समस्यामा रहेको बताएका थिए । तथापि, खराब कर्जालाई व्यवस्थापन गर्ने निकायको स्थापना गर्ने कुरा नयाँ भने होइन । यो कुराले चर्चा पाएको दशकौं भइसक्यो । आर्थिक वर्ष २०५९–२०६० जारी भएको पहिलो मौद्रिक नीतिमै वित्तीय प्रणालीमा बढ्दै गएको खराब कर्जाको समस्या समाधान गरिने उल्लेख थियो । पछिल्लो समय बैंकहरुको खराब कर्जा र गैह्र बैंकिङ सम्पत्ति उल्लेख्य मात्रामा वृद्धि भएपछि त्यसको व्यवस्थापनका लागि ब्याड बैंकको चर्चा हुँदै आएको छ ।
के हो ब्याड बैंक ?
एसेट म्यानेजमेन्ट कम्पनीलाई बोलीचालीको भाषमा ब्याड बैंक भनिन्छ । यस्तो कम्पनीले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति खरिद गरेर सल्टाउने काम गर्दछ । जोखिमयुक्त वा समस्याग्रस्त ऋणहरुको व्यवस्थापन गर्न यस्तो कम्पनी स्थापना गरिन्छ । जसको मुख्य उद्देश्य वित्तीय प्रणालीलाई सहजीकरण गर्नका लागि बैंकहरुले संकलन गर्न नसकेका, जोखिमयुक्त वा समस्याग्रस्त ऋणहरु व्यवस्थापन गर्नु हो । बैंकहरुले आफ्नो समस्याग्रस्त ऋणहरु ब्याड बैंकलाई हस्तान्तरण गर्छन् । यसले बैंकलाई आफ्नो वित्तीय विवरण सुधार्न र नयाँ ऋण दिन सक्ने स्थिति बनाउन सहयोग गर्छ । यसले बैंकिङ प्रणालीलाई डुब्नबाट बचाउन र थप लगानी गर्न सहयोग पुर्याउछ भन्ने विश्वास छ । साथै, वित्तीय प्रणालीमा स्थिरता र विश्वास कायम राख्न यसले सहयोग गर्नेछ ।
ब्याड बैंकले कसरी काम गर्छ ?
एसेट म्याजेनमेन्ट कम्पनी (एएमसी) ले बैंकहरुबाट निष्क्रिय कर्जा खरिद गर्छ । खरिद गरिएका कर्जाहरुको पुनर्संरचना गरिन्छ । यसमा भुक्तानी अवधि बढाउने, ब्याजदर घटाउने वा अन्य सर्तहरु परिवर्तन गर्ने जस्ता उपायहरु समावेश हुन सक्छन् । कर्जा फिर्ता गर्न नसक्ने अवस्थामा एएमसीले धितोमा राखिएको सम्पत्ति व्यवस्थापन गर्छ । एएमसीले विभिन्न रणनीतिहरु प्रयोग गरेर कर्जा असुली गर्ने प्रयास गर्छ । आवश्यक परेमा एएमसीले धितो राखिएको सम्पत्ति बिक्री गरेर कर्जा असुल गर्छ । यस प्रक्रियाले बैंकहरुलाई आफ्नो वासलातबाट निष्क्रिय कर्जा हटाउन र तरलता सुधार गर्न मद्दत गर्छ । यसले बैंकहरुलाई नयाँ कर्जा प्रवाह गर्न सक्षम बनाउँछ र समग्र वित्तीय प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ ।
बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्तिको अवस्था कस्तो छ ?
बैंक तथा वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा (एनपीएल) बढेसँगै त्यसको असर गैरबैंकिङ सम्पत्ति (एनबीए) मा परेको छ । गत आर्थिक वर्षको असार असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति ४५ अर्ब ७० करोड रुपैयाँ छ । २०८१ को असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति २८ अर्ब ७३ करोड रुपैयाँ थियो । असार मसान्तसम्म वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति ३८ अर्ब ७९ करोड छ । त्यस्तै, विकास बैंकको ४ अर्ब १६ करोड र फाइनान्स कम्पनीको २ अर्ब ७४ करोड रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको छ ।
