Logo

खानेतेलको ‘खहरे निर्यात’ मा एकाएक ब्रेक, नेपाली तेल उत्पादक तनावमा

खानेतेलको ‘खहरे निर्यात’ मा एकाएक ब्रेक, नेपाली तेल उत्पादक तनावमा



काठमाडौं । भारतले कच्चा पाम तेलको आयातमा भन्सार महसुल घटाएपछि नेपालको निर्यात व्यापार नै संकटमा परेको छ । दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अन्तर्गत भन्सार छुट सुविधा प्रयोग गरी नेपालबाट भारत निर्यात भइरहेको खानेतेलको निर्यात नै रोकिएपछि नेपालको समग्र निर्यात व्यापार नै चौपट हुने देखिएको हो ।

पछिल्ला वर्र्षहरुमा ‘खहरे निर्यात’को नामले परिचित नेपालको निर्यात व्यापारमा करिव ४० देखि ५० प्रतिशतको हिस्सा खानेतेलले ओगट्दै आएको छ । चालु आर्थिक वर्र्षकै कुरा गर्दा पनि चालु आवको ११ महिनामा नेपालले गरेको कुल निर्यातको करिव ४५ प्रतिशत हिस्सा प्रशोधित खानेतेलले ओगटेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा ११ महिनामा मात्रै १ खर्ब ७ अर्ब रुपैयाँ बढीको तेलजन्य पदार्थ निर्यात गरेको छ । यस अवधिमा नेपालको कुल निर्यात २ खर्ब ४७ अर्ब हुँदा तेलले मात्रै यसको ठूलो हिस्सा ओगटेको देखिन्छ । जसका कारण चालु आवको ११ महिनामै नेपालमा पहिलोपल्ट निर्यात व्यापार साढे २ खर्ब नजिक पुगेको छ । तर, भारतको वित्त मन्त्रालय अन्तर्गतको सेन्ट्रल बोर्ड अफ इन्डाइरेक्ट ट्याक्सेस एन्ड कस्टम्सले १७ असार २०८२ बाट १७ प्रतिशत मात्र भन्सार महसुल कायम गर्दै नयाँ दर लागू गरेपछि परिस्थिति उल्टिएको छ । अब भारतीय उद्योगले पनि सस्तो मूल्यमा कच्चा पाम तेल आयात गरी प्रशोधन गर्न सक्ने भएपछि नेपाली तेलको प्रतिस्पर्धात्मकतामा गिरावट आएको नेपालका उद्योगीहरु बताउँछन् । ‘भारतमा भटमासको उत्पादन यसपटक घटेपछि तेलको मूल्यवृद्धिलाई सन्तुलन गर्न भारतले कच्चा पदार्थ आयातका लागि भन्सार घटाएको छ,’ एक तेल उत्पादकले भने, ‘भारतमा विदेशबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गरेको तेलभन्दा नेपालबाट पठाएको तेलको मूल्य बढी भएपछि विस्तारै नेपाली तेलको माग घट्दै गएको छ ।’

यस्तो हुँदा पछिल्लो समय विस्तारै नेपाली उद्योगहरुद्वारा प्रशोधन गरिएको पाम, सोयाबिन र सनफ्लावर तेलको निर्यातमा एकाएक ब्रेक लागेको छ । पछिल्ला वर्षहरूमा भारतलाई लक्षित गर्दै उच्च परिमाणमा तेल निर्यात गरिरहेको नेपालका उत्पादकहरू भारतको नयाँ नीतिका कारण उत्पादन कटौती गर्न नै बाध्य भएको उनको भनाई छ । नेपाली रिफाइनरी उद्योगहरूले मलेसिया र इन्डोनेसियाबाट १० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट तिरेर कच्चा पाम आयात गर्दै आएका थिए । त्यसपछि नेपालमै प्रशोधन गरी साफ्टाअन्तर्गत भन्सार छुट सुविधा प्रयोग गर्दै भारत निर्यात भइरहेको थियो । नयाँ भन्सार दरको व्यवस्थाअघि भारतमा कच्चा पाम आयात गर्दा २७ प्रतिशत भन्सार महसुल लाग्ने भएकाले नेपाली तेल प्रतिस्पर्धी बन्दै आएको थियो ।

नेपाली उद्योगले भारतमा तेल बेचेर प्राप्त गर्दै आएको ६–७ प्रतिशत नाफा पनि यो परिवर्तनपछि प्राप्त नहुने निश्चित छ । मूल्य प्रतिस्पर्धा गुमेपछि उत्पादन कटौती गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । वर्तमान समयमा रिफाइनरी उद्योगहरूले झण्डै आधामात्र उत्पादन गरिरहेको उत्पादकहरु बताउँछन् । यसरी आधा उत्पादन गर्दा पनि यो सबै नेपालमा भने खपत हुँदैन त्यसलाई पनि निर्यात नै गर्नुपर्ने बाध्यता भएपछि उत्पादकहरुले फाईदा नै नखाइकन भारत निर्यात गर्ने योजना बनाएको उनको भनाई छ ।

विगत केही वर्षदेखि विराटनगर, वीरगञ्ज, सर्लाही, सुनसरी, मोरङलगायत क्षेत्रका रिफाइनरी तेल उद्योगहरूले भारतको बिहार, पश्चिम बंगाल र उत्तर प्रदेशका बजारलाई केन्द्रित गर्दै प्रशोधित तेल पठाउँदै आएका छन् । चालु आर्थिक वर्षको ११ महिनामा मात्र कच्चा सोयाबिन तेल ९३ अर्ब रुपैयाँभन्दा बढी र सनफ्लावर तेल ११ अर्ब रुपैयाँभन्दा बढी भारत निकासी गरिएको छ । तर, भारतले कच्चा पामको भन्सार घटाएसँगै भारतीय उद्योगहरूले सस्तोमा तेल उत्पादन गर्न थालेपछि नेपाली उद्योग दबाबमा परेका छन् । उत्पादन लागत, ढुवानी खर्च र आयात–निकासीका कागजी प्रक्रियाले नेपाली तेल भारतीय बजारमा महँगो पर्दै गएको छ । यसअघि किसानलाई संरक्षण गर्न भन्दै भारतले भन्सार महसुल उच्च राखेको थियो । तर, पछिल्लो समय भारतमै सोयाबिनको बिउ उत्पादन ५ लाख टनले घटेपछि तेल उद्योगमा कच्चा पदार्थको अभाव देखिएको थियो । त्यसपछि भारतले मूल्य नियन्त्रणमा राख्न आयात सहज बनाउन भन्सार घटाउने निर्णय लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्