काठमाडौं । भारी बर्षासँगै गएको बाढी–पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध छ । नदी तथा खोलामा पानीको बहाव बढेको छ । बागलुङको बागलुङ नगरपालिका–१०, डब्ल्याङस्थित कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । आज (आइतबार) बिहान करिब पौने ६ बजे उक्त स्थानस्थित सडकमा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सिद्धिचरण लोकमार्ग अवरुद्ध
ओखलढुंगामा सिद्धिचरण लोकमार्ग अवरुद्ध छ । सिद्धिचरण नगरपालिका–७, स्कुलडाँडास्थित सडकमा आइतबार बिहान पहिरो खस्दा लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
अरनिको राजमार्ग अवरुद्ध
सिन्धुपाल्चोकमा अरनिको राजमार्ग अवरुद्ध छ । आइतबार बिहान करिब साढे ५ बजे बलेफी गाउँपालिका–८, जुरेस्थित सडकमा माथिबाट लेदो झर्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
मध्यपहाडी लोकमार्ग र मेची राजमार्ग अवरुद्ध
आइतबार बिहान १० बजेसम्म नेपाल प्रहरीको अपडेटअनुसार, पाँचथरमा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध छ । याङवरक गाउँपालिका–३, रिजालभीरस्थित सडकमा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीले आइतबार बिहान ७ बजेसम्मको अपडेटमा पनि केही स्थानमा सडक अवरुद्ध भएको जनाएको थियो । पहिरो खसेर कतिपय स्थानमा सडक अवरुद्ध हुँदा त्यो पन्छाएर केही समयमै बाटो खुलाउने गरिएको छ । हेवाखोलामा आएको बाढीका कारण मेची राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको बाढीले हेवा खोलाको डाइभर्सन भत्काउँदा मेची राजमार्ग अवरुद्ध भएको हो ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार डाइभर्सन माथिबाट पानी जान थालेपछि यातायात अवरुद्ध भएको हो । पानीको बहाब घटेपछि डाइभर्सन मर्मत गरेर सञ्चालन गर्ने उनले बताए । ‘अहिले पानीको बहाव घट्ने क्रममा छ, घटेपछि यातायात सुचारु हुन्छ,’ उनले भने, ‘अहिले यातायात अवरुद्ध छ ।’
राजमार्ग अवरूद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प भएको छ । यसअघि २०८० असारमा आएको बाढीले हेवाखोलाको पुल बगाएको थियो । पुल बगेपछि बनाइएको बिलिब्रिज पनि गत असोज १२ गते आएको बाढीले बगाएको थियो । त्यसपछि हेवा खोलामा डाइभर्सन बनाएर यातायातका साधन सचालन गरिएको थियो । अविरल वर्षापछि पहिरो खस्दा धनकुटाका दुई निर्माणाधीन सडक अबरुद्ध भएका छन् ।
आइतबार बिहान पसाँगुरीगढी गाउँपालिका–५ लुम्फाकुङस्थित रवि–राँके–भेडेटार सडक खण्डमा पहिरो खस्दा सवारी साधन पूर्णरूपमा अवरुद्ध भएका प्रहरीले जनाएको छ । सडक माथिबाट ठूलो पहिरो खसेको कारण बाटो अवरुद्ध भएको हो ।
सो क्षेत्रमा प्रहरी चौकी डाँडाबजारबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । त्यस्तै चौबिसे गाउँपालिका–४ मा निर्माणाधीन तमोर करिडोर अन्तर्गत पर्ने छरुवा खोलामा आएको बाढीका कारण सवारी आवागमन प्रभावित भएको छ ।