Logo

विकासशील देशहरूमा वित्तीय पहुँच उच्च, मोबाइल मनीमार्फत बचतमा तीव्र वृद्धि

विकासशील देशहरूमा वित्तीय पहुँच उच्च, मोबाइल मनीमार्फत बचतमा तीव्र वृद्धि



काठमाडौं । विकासशील र मध्यम आय भएका देशका वयस्क नागरिकहरूको बैंक वित्तीय संस्थामा पहुँच ऐतिहासिक रूपमा बढेको पाइएको छ । विश्व बैंक समूहले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल फिन्डेक्स २०२५’ प्रतिवेदनअनुसार वित्तीय समावेशीतामा आएको यस वृद्धिले औपचारिक बचतलाई प्रवद्र्धन गर्नुका साथै नयाँ आर्थिक अवसरहरू पनि सिर्जना गरिरहेको छ ।

प्रतिवेदनअनुसार सन् २०२४ मा विकासशील अर्थतन्त्र भएका देशहरूमा ४० प्रतिशत वयस्कले औपचारिक वित्तीय खातामा बचत गरेका छन् । यो संख्या सन् २०२१ को तुलनामा १६ प्रतिशत बिन्दुले वृद्धि हो । सहरिया अफ्रिकामा मात्र औपचारिक बचत गर्ने वयस्कको संख्या १२ प्रतिशतले बढेर ३५ प्रतिशत पुगेको छ । मोबाइल फोन प्रविधिले वित्तीय पहुँच विस्तारमा उल्लेखनीय भूमिका खेलेको देखिन्छ, जहाँ १० प्रतिशत वयस्कले मोबाइल मनी खातामार्फत बचत गरेका छन् ।

विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाले डिजिटल वित्तीय पहुँचले जीवनस्तरमा सुधार ल्याउने र समग्र अर्थतन्त्रलाई परिवर्तन गर्ने क्षमता भएको बताए । उनले डिजिटल परिचयपत्र, सामाजिक सुरक्षा योजनामा नगद स्थानान्तरण प्रणाली, भुक्तानी प्रणालीको आधुनिकीकरण र नियामकीय अवरोध हटाउनेतर्फ बैंक समूहले कार्य गरिरहेको जानकारी दिए । गेट्स फाउन्डेशनका अध्यक्ष बिल गेट्सले अझ धेरै व्यक्तिहरू वित्तीय उपकरणको प्रयोग गर्दै भविष्यमा लगानी गर्न सक्षम भएको उल्लेख गर्दै समावेशी वित्तीय प्रणाली, डिजिटल सार्वजनिक पूर्वाधार र जडानमूलक संरचनामा लगानी गर्नुपर्नेमा जोड दिए ।

ग्लोबल फिन्डेक्स प्रतिवेदनले पछिल्लो एक दशकमा वित्तीय समावेशीतामा आएको सबैभन्दा तीव्र प्रगति देखाएको छ । हाल विश्वभर झण्डै ८० प्रतिशत वयस्कसँग वित्तीय खाता रहेको छ भने २०११ मा यो संख्या ५० प्रतिशत थियो । तर अझै पनि १ अर्ब ३० करोड वयस्कले वित्तीय सेवा पहुँच पाएका छैनन् । तीमध्ये ९ करोड वयस्कसँग मोबाइल फोन छ, जसमा ५ करोड ३० लाखसँग स्मार्टफोन छन् । भारतको युपिआई र ब्राजिलको पिक्सजस्ता तत्काल भुक्तानी प्रणालीमा लगानी, मोबाइल तथा खाताको सुरक्षामा सुधार, र उपभोक्ता संरक्षण प्रवद्र्धनले वित्तीय सेवाको प्रयोग विस्तार गर्न सक्ने प्रतिवेदनले उल्लेख गरेको छ ।

लैंगिक अन्तरसमेत घट्दै गएको देखिन्छ । हाल विश्वभर ८१ प्रतिशत पुरुष र ७७ प्रतिशत महिलासँग खाता छ । विकासशील देशहरूमा महिलाको खाता स्वामित्व २०११ मा ३७ प्रतिशत रहेकोमा २०२४ मा ७३ प्रतिशत पुगेको छ । यसपटकको प्रतिवेदनमा पहिलोपटक मोबाइल फोन स्वामित्व र इन्टरनेट प्रयोगसम्बन्धी तथ्याङ्क पनि समावेश गरिएको छ । विश्वभर ८६ प्रतिशत वयस्कसँग मोबाइल फोन रहेको छ, जसमध्ये ६८ प्रतिशतसँग स्मार्टफोन छन् । तर तीमध्ये आधाले मात्र मोबाइलमा पासवर्ड जस्ता सुरक्षा उपाय प्रयोग गरेका छन् ।

विकासशील देशहरूमा डिजिटल माध्यमबाट किनमेल गर्ने प्रवृत्तिमा पनि वृद्धि देखिएको छ । २०२४ मा ४२ प्रतिशत वयस्कले अनलाइन वा भौतिक पसलमा मोबाइल वा कार्डमार्फत भुक्तानी गरेका छन् । सरकारी भुक्तानी पाउनेमध्ये तीन चौथाइले खाता मार्फत रकम प्राप्त गरेका छन् भने आधा जागिरेले पनि त्यही प्रणाली अपनाएका छन् । क्षेत्रीय विवरणअनुसार पूर्वी एसिया तथा प्रशान्त क्षेत्रमा ८६ प्रतिशत वयस्कसँग स्मार्टफोन र ८३ प्रतिशतसँग वित्तीय खाता रहेको छ ।

युरोप तथा मध्य एसियामा इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग उच्च छ भने मोबाइल स्वामित्व ९४ प्रतिशतभन्दा बढी छ । ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा ७० प्रतिशतसँग खाता रहेको छ र आधाभन्दा बढीले डिजिटलरूपमा प्रयोग गर्छन् । मध्यपूर्व तथा उत्तर अफ्रिकामा खाता स्वामित्व ४५ प्रतिशतबाट ५३ प्रतिशत पुगेको छ भने औपचारिक बचत ११ प्रतिशतबाट बढेर १७ प्रतिशत पुगेको छ । दक्षिण एसियामा खाता स्वामित्व ८० प्रतिशत पुगेको छ, जसमा भारतको योगदान प्रमुख रहेको छ । भारतमा महिला र पुरुष दुवैको खाता स्वामित्व ९० प्रतिशत पुगेको छ भने ६५ प्रतिशतसँग मोबाइल फोन रहेको छ । अफ्रिकाको सहरी क्षेत्रमा मा खाता स्वामित्व ४९ प्रतिशतबाट बढेर ५८ प्रतिशत पुगेको छ र मोबाइल मनीको प्रयोग विश्वमै सबैभन्दा उच्च देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This