काठमाडौं । आपसी सहमतिमा सेयर मूल्य घटाएर कर छली गर्न लागेपछि नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमै रोक लगाएको छ । दोस्रो बजारमा सहजै प्रतिकित्ता ८५० रुपैयाँमा कारोबार भइरहेको बुटवल पावर कम्पनीको सेयर नर्वेजियन कम्पनी आइकेएन नेपाल एससँग प्रतिकित्ता ४५० रुपैयाँमा खरिद गर्न लागेपछि बोर्डले त्यसलाई रोक लगाएको हो ।
जलविद्युत तथा रियल सेक्टर कम्पनीको ३ वर्षे लकिङ सकिएपछि उक्त सेयर दोस्रो बजारमा सर्वसाधारण सेयर सरह कारोबार हुन्छ । धितोपत्र ऐनअनुसार पनि सूचीकृत कम्पनीको सेयर दोस्रो बजारमै काराबोर हुनुपर्छ । तर, विशाल ग्रुपले वुटवल पावरको १ दशमलव ५८ प्रतिशत अर्थात ५ लाख ३८ हजार ६८९ कित्ता सेयर कर छली गर्ने उद्देश्यले नर्वेजियन कम्पनीसँग गैरकानूनी रुपमा ४५० रुपैयाँमा खरिद गर्न सहमति गरेसँगै त्यसलाई बोर्डले रोक लगाएको हो ।
‘धितोपत्र बोर्डको दफा ९७, ९८ र ९९ अनुसार त्यसरी सूचीकृत कम्पनीको मूल्य तथा विवरण लुकाएर कारोबार गरेमा त्यसलाई जालसाझीयुक्त कारोबार मानिन्छ,’ एक कानूनविद्ले भने, ‘विशाल ग्रुपले नर्वेजियन कम्पनीसँगको मिलेमतोमा दोस्रो बजारमा प्रतिकित्ता ८५० मा कारोबार भइरहेको सेयर जसरी ४५० मा किन्न बोर्डमा स्वीकृतिका लागि आवेदन दिएको छ, त्यो जालसाझी नै हो ।’
बजारमा उच्च मूल्यमा काराबोर भइरहेको बुटवल पावरको सेयर विशाल ग्रुप र नर्वेजियन कम्पनीको आपसी मिलेमतोमा के आधारमा न्यून मूल्यमा डिल भयो सो विषयमा जवाफ माग गरिएको सेबोन स्रोतले जानकारी दिएको छ । विषेशगरी उक्त सेयर काराबोर तथा मूल्य निर्धारण धितोपत्र कारोबार संचालन विनियमावली २०७५ को विनियम १६ अनुसार भएको छ कि छैन ? प्रतिकित्ता खरिद मूल्य कसरी निर्धारण भएको हो ? खरिदकर्ता निर्धारण कसरी भएको हो ? भन्ने विषयमा समेत प्रश्न सोधिएको बोर्ड स्रोतले जानकारी दिएको छ ।
साथै नेप्सेमा सूचीकृत भएर दोस्रो बजारमा खुलेआम कारोबार भइरहेको सेयर ‘बल्क सेयर’को आधारमा न्यून मूल्यमा कारोबार गराएर कर छली गर्ने हो भने त्यसले खुला बजार र त्यसको पारदर्शीता माथि नै प्रश्न खडा गर्नेे सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘कुनै सेयर उच्च मूल्यमा कारोबार भइरहेको छ भने कसैले पनि ५० प्रतिशत मूल्य घटाएर बेच्न चाहँदैन,’ एक कर विज्ञले भने, ‘अहिले नर्वेजियन कम्पनी र विशाल ग्रुपबीच बुटवल पावर कम्पनीको सेयर खरिदबिक्रीमा जुन डिल भएको छ त्यसमा सरासर कल छली गर्ने उद्देश्य देखिन्छ, तसर्थ यसलाई धितोपत्र बोर्डले रोक्नुपर्छ ।’