काठमाडौं । बिपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गए राति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । यस्तै, राजमार्गको रोशी–९ स्थित खहरे खोलाको लेदो आई गएराति सडक अवरुद्ध भएको थियो । सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए ।
उनका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । यही असार २५ गते पनि मङ्गलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो । राजमार्गअन्तर्गत रोशीका क्षेत्रका विभिन्न स्थानमा आइतबार साँझदेखि नै खोला वर्षासँगै लेदो झरेपछि सडक अवरुद्ध भएको थियो ।
रातभर जेसिभी प्रयोग गरी लेदो हटाएर सोमबार बिहान दुईतर्फी नै यातायात सञ्चालनमा ल्याइएको थियो । राजमार्गकै पिन्थलीमा यसअघि पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । यही असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो । रातिदेखि नै पहिरो पन्छाएर सडक खुलाउने प्रयास भए पनि सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेले जानकारी दिए ।
रोसी गाउँपालिका– ११ स्थित माम्ती खोला, रोसी– ९ कै पिन्थली र बिरुवाडाँडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । ‘तीनै ठाउँमा रातिदेखि नै जेसीभीको सहायतामा पहिरो हटाउने प्रयास जारी छ,’ घलेले मंगलबार बिहान भने, ‘तर, अझै पहिरो हटाएर यातायात सुचारु गर्न सकिएको छैन । सबै पहिरो हटाउन अझै ३÷४ घण्टा लाग्छ होला ।’
उनले कुनै अप्ठ्यारो परेमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा सम्पर्क गर्न पनि यात्रुहरुलाई अनुरोध गरेका छन्। त्यसका लागि मोवाइल नम्बरहरु ९८५१२८४३७६, ९८५११२३८०५ ,९८५१२८५४०० र ९८५१२३७३३९ मा सम्पर्क गर्न पनि उनले सबैलाई अनुरोध गरेका छन् ।