Logo

भरतपुरमा तीन महिनाका लागि रोकियो भूमिगत विद्युतीकरणको काम

भरतपुरमा तीन महिनाका लागि रोकियो भूमिगत विद्युतीकरणको काम



काठमाडौँ । भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि ३ महिनाका लागि भूमिगत विद्युतीकरणको काम रोकिएको हो ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम गरिरहेको छ । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार यही असार ३ गतेदेखि भदौ मसान्तसम्मका लागि काम रोकिएको हो । उनले भने, “अहिले मुख्य काम पाइप गाड्ने, पाइप हाल्ने, खाल्डा खन्नेलगायतका रोकिएको छ ।” अहिले पाइप गाडिसकिएका ठाउँमा केवल जोड्ने, पोल गाड्नेलगायतका काम भइरहेको उनले बताए । सडक विभागले वर्षात्मा खाल्डाखुल्डी खन्दा सडकको गुणस्तर बिग्रने भएकाले भूमिगत विद्युतीकरणको काममा रोक लगाएको हो । उनका अनुसार सडक छेउमा खाल्डा खन्दा सडकमा पानी पस्ने, भासिनेजस्ता समस्या हुने भएकाले काम रोकिएको हो ।

आयोजनाले हालसम्म भरतपुरकामा विद्युत् भूमिगतको काम ७५ प्रतिशत सम्पन्न गरेको उनले बताए । पूर्वपश्चिम राजमार्गअन्तर्गत पुलचोकबाट केन्द्रीय बस ट्रमिलनसम्मको सडकमा भूमिगत गर्ने काम सम्पन्न भएको छ । बाइपास सडकमा आँपटारीबाट केन्द्रीय बस ट्रमिलनसम्मको सडकमा एकतर्फी भूमिगतको काम सम्पन्न भएको छभने अर्कोतर्फ भूमिगत गर्ने काम बाँकी छ । उनले भए, “फाउन्डेसन राख्ने काम सकिएको छ । केही ठाउँमा मुख्य लाइन जडान बाँकी रहेको छ ।” तेत्तीस केभी जडानको काम सकिएको छभने ११ केभी र ४०० भोल्टको केवल राख्ने काम जारी छ ।

खाल्डा खन्ने क्रममा पानी आउने भएकाले वर्षातपछि कामलाई तीव्र बनाइने उहाँले बताउनुभयो । उनका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्न १ अर्ब ४० करोड रुपैयाँ लागत लाग्ने छ । सुरुआती समयमा १ अर्ब ३० करोड रुपैयाँ बजेट भरतपुरलाई विनियोजन गरिएको थियो ।

निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको आयोजना प्रमुख सुवेदीले बताए । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनवरी २० मा सकिएसँगै पुनः ८ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ । काम थप हुँदै जाँदा समय पनि थप गरिँदै लगिएको उनले बताए। एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This