काठमाडौं । सेयर लगानीकर्ताहरुले हाईड्रो प्रवर्द्धकविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । पछिल्लो समय स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले नेगेटिभ नेटवर्थ रहेका तथा जस्तोसुकै कम्पनीलाई समेत आईपीओ अनुमति दिन माग गर्दै विभिन्न राजनीतिक दलका ढोका चाहर्दै नेपाल धितोपत्र बोर्डमाथि दबाब सिर्जना गर्न थालेपछि लगानीकर्ताहरुले सो कुरा बताएका हुन् ।
हाईड्रो प्रवर्द्धकरुले बत्ती नबली आईपीओ ल्याउने र ३ वर्षे लकिङ अवधिपछि आफुसँग भएको संस्थापक सेयर बिक्री गरेर बाहरिने क्रम बढेपछि दोस्रो बजारका लगानीकर्ताहरु आक्रोशित बनेका हुन् । ‘अहिले इप्पानलगायत संस्थाले १ सयभन्दा कम नेटवर्थ भएका कम्पनीको समेत आईपीओ ल्याउन पाउनुपर्यो भन्दै विभिन्न निकायमा चाहर्दै आन्दोलनका समेत चेतावनी दिएको सुनिएको छ,’ नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार तथा वस्तु विनियमसम्बन्धी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा रायसुझाव संकलन छलफलमा लगानीकर्ताहरुले भने, ‘हामी दोस्रो बजारका लगानीकर्ताहरु कुनै कम्पनीको घाटामा गएका सेयर किन्न बसेका होइनौं तसर्थ सेबोनले अबका दिनमा १ सयभन्दा नेटवर्थ भएका कम्पनीलाई आईपीओ जारी अनुमति दिन रोक लगाउनु पर्छ ।’ यदि जलविद्युत प्रवर्द्धकहरु आफ्नो घाटामा गएका सेयर बिक्री गर्न पाइएन भनेर विभिन्न राजनीतिक दलका ढोका चाहर्दै दबाब दिन्छन् भने हामी ६८ लाख लगानीकर्ता त्यसका विरुद्ध सडकमा उत्रन तयार छौं ।’
यसैगरी लगानीकर्ताहरुले १ सयभन्दा कम नेटवर्थ भएका कम्पनीलाई हकप्रद जारीमा समेत रोक लगाउन माग गरेका छन् । पछिल्लो समय कम्पनीमा बसेका सीमित व्यक्तिको स्वार्थमा हकप्रद घोषणा गर्ने अनि त्यसैलाई हतियार बनाएर मूल्य बढाई बजारबाट बाहिरिने क्रम बढेको छ । तसर्थ अबका दिनमा त्यस्ता विकृति रोक्न १ सयभन्दा कम नेटवर्थ भएका कम्पनीलाई बोर्डले तत्काल हकप्रद सेयर बिक्रीमा रोक लगानु पर्छ । अहिले बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्सबाहेक सबैजसो कम्पनीको लकइन खुलेपछि सबै सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । त्यसैलाई मौकाको रुपमा लिँदै अहिले हाईड्रो प्रवर्द्धकहरुले आफ्नो लकइन खुलेपछि हकप्रदको नाममा दोस्रो बजारमा घाटामा गएका सेयर बेच्नुका साथै हकप्रद ल्याएर आफुसँग भएको सेयर मूल्य बढाएर बाहिरिने गरेको लगानीकर्ताहरुको गुनासो थियो ।
‘पुँजी बजार आईपीओ खरिद गर्ने र दोस्रो बजारका लगानीकर्ताले कुनै पनि कम्पनीको सेयर खरिदबिक्री गरेर त्यस्ता कम्पनी संचालनमा पुँजी जुटाईदिने हो तर उनीहरुको घाटामा रहेका कम्पनीको सेयर बिक्री गर्ने थलो सेयर बजार होइन,’ लगानीकर्ताहरुले भने, ‘तर अहिले हाईड्रो प्रवद्र्धहरुले आफ्नो घाटामा गएका कम्पनीका आईपीओमार्फत सेयर बिक्री गर्ने अनि ३ वर्षे लकिङ अबधि पछि बिक्री गरेर सेयर बजारलाई जुवा घरमा परिणत गरिहेका छन् यसलाई सेबोनले तत्काल रोक लगाउनु पर्छ ।’
यसैगरी अहिले नेप्से र सीडीएसीको मिलेमतोमा आईपीओमा गएका कम्पनीहरुलाई एउटा मात्रै आइजीन दिएर लगानीकर्तामाथि ठगी गरिरहेको भन्दै अबका दिनमा तत्काल दुई ओटा आईजिन कायान्यवनमा ल्याउन माग गरेका छन् । ‘अहिले आईजिनलाई तजबिजी अधिकारमा छाड्दा नेप्से र सीडीएसीका कर्मचारीको कमाई खाने भाँडो भएको र त्यसले दोस्रो बजारका लगानीकर्ता ठगिन पुगेका छन्,’ उक्त कार्यक्रममा लगानीकर्ताहरुले भने, ‘तसर्थ नेपालको पुँजी बजारलाई विस्तार र विकास गर्दै पारदर्शी बनाउन आईपीओमा आएका कम्पनीहरुमा तत्काल डबल आईजीन लागू गर्नुपर्छ भने त्यस्ता विकृति रोक्न लकइनमा रहेका सबै कम्पनीमा डबल आईजीनको व्यवस्था गर्नुपर्छ ।’
बोर्डले आयोजना गरेका उक्त कार्यक्रममा नेपाल स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की, इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल, मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझीलगायत १ दर्जनभन्दा बढी लगानीकर्ताले आआफ्ना धारणा राखेका थिए । साथै बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले अबका दिनमा धितोपत्र बोर्डले लगानीकर्ता मैत्री नीति नियम अबलम्बन गर्ने भन्दै सोही अनुरुप लगानीकर्ताहरु समेत सचेत रहनुपर्ने बताएका थिए । ‘धितोपत्र बोर्डको मुख्य उद्देश्य लगानीकर्ताहरुको हकहित सुरक्षित गर्नु हो,’ उनले भने, ‘त्यसका लागि बोर्ड गलत कार्य गर्नेहरुलाई कानूनी कठघरामा ल्याएर कारबाही गर्नुका साथै असल अभ्यासलाई अवलम्वन गर्दै जानेछ ।’