काठमाडौं । देशका अधिकांश वाणिज्य बैंकहरूले असार महिनाको लागि बचत तथा मुद्दती निक्षेपको ब्याजदरमा कटौती गरेका छन् । बैकिङ प्रणालीमा उच्च तरलताको अवस्था रहेकाले बैंकहरुले ब्याजदर कटौतीलाई निरन्तरता दिएको देखिन्छ ।
ब्याजदर घटाउने बैंकहरूमा एनएमबि बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.६० प्रतिशतबाट घटाएर ६.०० प्रतिशतमा ल्याएको छ । सिटिजन्स बैंकले बचत खाताको ब्याजदर ४.५० प्रतिशतबाट घटाएर ४.०० प्रतिशत बनाएको छ । यस्तै, व्यक्तिगत मुद्दती निक्षेपमा पनि ५.५० बाट ५.०० प्रतिशतमा झारेको छ ।
ग्लोबल आइएमई बैंकले बचत ब्याजदर ३.५० प्रतिशतमा सीमित गर्दा, सानिमा बैंकले बचतमा ५.०३ बाट ४.०३ प्रतिशत र एक वर्षे व्यक्तिगत मुद्दतीमा ४.८० बाट ४.६० प्रतिशतमा कटौती गरेको छ । कृषि विकास बैंकले पनि एक वर्षे व्यक्तिगत मुद्दतीको ब्याज ४.०० बाट घटाएर ३.५० प्रतिशतमा ल्याएको छ ।
एभरेस्ट बैंकले बचत खाताको ब्याजदर ३.०५ बाट ३.०० प्रतिशतमा झारेको छ भने व्यक्तिगत मुद्दतीको अधिकतम दर ६.५५ प्रतिशतमा कायम गरेको छ । नेपाल एसबिआई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ब्याजदरमा कटौती गरेका छन् । यता, केही बैंकहरूले भने ब्याजदरमा वृद्धि गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकले बचत ब्याजदर ३.००–३.२५ प्रतिशतको दायरा बढाएर ३.००–४.५० प्रतिशत पु¥याएको छ । एक वर्षे मुद्दती निक्षेपमा पनि दर ४.०० बाट ५.०० प्रतिशतमा वृद्धि गरिएको छ ।
नेपाल बैंकले एक वर्षे मुद्दती निक्षेपको ब्याज ४.५० प्रतिशत पु¥याएको छ भने लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती ब्याजदर ३.५० बाट ५.०० प्रतिशतमा उल्लेखनीय वृद्धि गरेको छ । माछापुच्छ्रे बैंकले बचत खातामा ब्याजदर बढाएर ६.०० प्रतिशत गरेको छ ।
प्राइम कमर्सियल बैंकले भने ब्याजदरमा सामान्य समायोजन मात्र गरेको छ। यसैबीच, नबिल बैंक, प्रभु बैंक र हिमालयन बैंकले भने असार महिनाका लागि कुनै परिवर्तन नगरी ब्याजदर स्थिर राखेका छन् ।