काठमाडौं । पछिल्लो समय नेपालमा अघोषितरुपमा चलिरहेको लोडसेडिङको प्रभाव उद्योगहरुमा परेको छ । विशेषतः सिमेन्ट उद्योगहरूमा अहिले दैनिक ७ देखि ८ घण्टासम्म लोडसेडिङ हुनेगरेको उद्योगीहरुले बताएका छन् । उत्पादनमै असर पर्ने गरी अघोषित रुपमा लोडसेडिङ बढेपछि उद्योगीहरू चिन्तित बनेका छन् ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले लगातार विद्युत जाने अवस्थाका कारण गम्भिर समस्या निम्तिएको बताए । ‘अहिले पनि उद्योगहरूमा लोडसेडिङ छ । उत्पादन नै प्रभावित हुनेगरी दैनिक ८ घण्टासम्म बिजुली आउँदैन,’ उनले भने, ‘प्राधिकरणले अघोषित रुपमा बिजुली नदिएको अवस्था छ ।’
उनका अनुसार उद्योगमा विद्युत नभएपछि मेसिन चल्दैन, कच्चा पदार्थ प्रशोधन गर्न सकिन्न र कर्मचारीहरू समेत कामविहिन बन्छन् । यस्तो अवस्थामा उत्पादन घट्न पुग्छ र त्यसको प्रत्यक्ष असर बजार आपूर्ति र मूल्यमा देखिन्छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार हाल प्रणालीमा २ हजार ४० मेगावाट घण्टा बराबरको विद्युत अपर्याप्त भएको अवस्था छ । कुल माग ४६ हजार ९१८ मेगावाट घण्टा रहेकोमा उत्पादन र आपूर्ति त्यसअनुसार हुन नसकेको प्राधिकरणको तथ्यांकले देखाउँछ ।
प्राधिकरणका अनुसार हालको समय विद्युत खपत उच्च अवस्थामा पुगेको छ । देशैभर गर्मी बढेको छ,र केही स्थानमा तापक्रम ४० डिग्रीसम्म पुगेको छ । यस्तो अवस्थामा सर्वसाधारण नागरिकले पंखा, एसी, कुलरलगायतका विद्युतीय उपकरण प्रयोग गर्ने क्रम बढेको छ । यसले गर्दा घरेलु खपत अत्यधिक बढेको छ ।
त्यसको सीधा असर उद्योग क्षेत्रमा परेको छ । सिमेन्ट, लुगा, स्टिल, कागज, प्रशोधन उद्योगहरू लगायतका सयौं उद्योगहरू अहिले उत्पादन घटाएर बस्नुपरेको सम्बन्धित उद्योगीहरु बताउँछन् । कतिपय उद्योगहरू त बत्ती नहुँदा दिनको ८ घण्टासम्म थन्किएर बस्नुपर्ने बाध्यता भोगिरहेका छन् । ‘अब वर्षा सुरु हुन लागेको छ, केही सहज होलाकि भन्ने आशा त छ,’ सिमेन्ट उद्योग संघका अध्यक्ष मारु भन्छन्, ‘तर सिमेन्टको सिजन सकिने र बिजुली उत्पादन हुने समय एकैपटक पर्छ । यो त लगनपछिको पोतेजस्तै भयो ।’
उनका अनुसार सिमेन्ट निर्माणको मुख्य सिजन चैतदेखि असारको पहिलो हप्ता र त्यसपछि दशैंअघिको समय हो । तर, असारदेखि श्रावणसम्म वर्षा भइरहने भएकाले त्यो बेला सिमेन्टको खपत अत्यन्तै कम हुन्छ । त्यही बेला विद्युत उत्पादन भने उच्च विन्दुमा पुग्ने गर्छ । मारु भन्छन्, ‘खासगरी निर्माणका काम वर्षा अघि या पछि मात्रै हुन्छन् । तर, यही बेला नेपालमा विद्युत अभाव हुँदा उद्योगहरूलाई बिजुली अपुग हुन्छ ।’
उद्योगीहरुका अनुसार जब सिजन सुरु हुन्छ, निर्माण तीव्र हुन्छ र बजारमा सिमेन्टको माग बढ्छ । त्यही बेलामा विद्युत अभावका कारण उत्पादन घट्ने अवस्था आउँछ । अर्कोतर्फ जब सिमेन्टको सिजन सकिन्छ, निर्माणको गति सुस्त हुन्छ, माग घट्छ तर त्यही बेला विद्युत उत्पादन वृद्धि भई खेर जाने अवस्था आउँछ । आवश्यक समयमा आवश्यक मात्रामा विद्युत उपलब्ध हुनुपर्ने माग उद्योगीहरुको छ । बजार माग र आपूर्तिको तालमेल नहुँदा न उद्योग राम्रोसँग चल्न सकेका छन्, न त सिमेन्ट सस्तो मूल्यमा उपभोक्तासम्म पुग्न सकेको छ ।
नेपालमा सिमेन्ट उद्योगहरू ठूलो मात्रामा निजी लगानीबाट सञ्चालित छन् । अर्बौ रुपैयाँ लगानीमा स्थापना भएका यी उद्योगहरूले हजारौंलाई रोजगारी दिएका छन् । तर, विद्युत अभावकै कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा लगानी असुरक्षा बढ्दै गरेको उद्योगीहरुकमो गुनासो छ ।