काठमाडौं । नेपालको समग्र निर्यात व्यापार संकटोन्मुख बन्दै गएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनाको तथ्यांकलाई आधार मान्दा नेपालको कुल वस्तु निर्यातमध्ये सबैभन्दा ठूलो हिस्सा नै खानेतेलले ओगटेको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा नेपालबाट करिब २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा ९१ अर्ब ३९ करोड १५ लाख रुपैयाँ बराबरको निर्यात खानेतेलको मात्रै छ ।
यसै अवधिमा नेपालले १ खर्ब २० अर्ब ६७ करोड रुपैयाँ बराबरको खानेतेल तथा त्यसका कच्चा पदार्थ आयात गरेको छ । यी तथ्यांकले नेपालले आयात गरेको तेलजन्य वस्तुहरू प्रशोधन गरेर त्यसलाई पुनः निर्यात गरिरहेको पनि देखिन्छ । यस्तो निर्यात व्यापारले निर्यात वृद्धि भएको देखिएपनि दीर्घकालीन रुपमा भने व्यापार सन्तुलन, स्वदेशी उत्पादनको प्रवद्र्धन, रोजगारी सिर्जना र मूल्य अभिवृद्धि जस्ता पक्ष भने कमजोर पार्ने जानारहरु बताउँछन् ।
महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले खानेतेल निर्यातमा देखिएको अनियमितता र कर छुटसम्बन्धी विषयमा गम्भीर प्रश्न उठाइसकेको पनि छ । प्रतिवेदनमा केही तेल उद्योगहरूले कच्चा पदार्थमा लागत मूल्यभन्दा त्यधिक हेरफेर गरेर कृत्रिम रूपमा मूल्य अभिवृद्धि देखाएको कुरा औंल्याइएको छ । महालेखाको प्रतिवेदनमा उल्लेख भएबमोजिम एक तेल उद्योगीद्वारा ६ करोड ७८ लाख ६९ हजार केजी सोया टार्ट खपत गरेर ८० हजार ७२७ लिटर मात्रै हेक्सान तेल उत्पादन देखाइएको छ ।
प्राविधिक मानकअनुसार १०० केजी सोया टार्टबाट झण्डै ३ लिटर तेल उत्पादन हुनुपर्ने हो । तर, उद्योगीहरुले सरकारको आँखामै छारो हाल्ने र करछुट लिनेगरी परिमाणमै खेलेको देखिन्छ । महालेखाको प्रतिवेदन अनुसार स्पष्ट रूपमा यस्ता उद्योगहरूले भ्याट, आयकर र भन्सार महसुल छुटको नाममा अर्बौं रुपैयाँ बराबरको राज्यको राजस्व दोहन गरेको कुरा औंल्याएको देखिन्छ । मूल्य अभिवृद्धि नभएको वा न्यून रहेको वस्तुलाई निर्यात गर्ने र त्यसैको आधारमा कर छुट वा नगद अनुदान लिने प्रवृत्तिलाई राज्यका नियामक निकायहरूले समयमै नियन्त्रण गर्नुपर्ने विश्लेषकहरु बताउँदै आएका छन् ।
निर्यात व्यापारको वर्तमान स्वरूप हेर्दा नेपालबाट विशेष रूपमा एकै प्रकृतिको वस्तु (खानेतेल) र एकै देश (भारत) मा अत्यधिक मात्रामा निर्भरता बढ्दै गएको छ । भारतले दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अन्तर्गत नेपालबाट आउने तेलजन्य वस्तुहरूमा भन्सार महसुल नलगाउने नीति अवलम्बन गरेपछि नेपाली व्यापारीहरूले भारतीय बजारतर्फ सहजै उच्च परिणाममा खाने तेल निर्यात गरिरहेका छन् । नेपालमा उत्पादन न्यून हुने सुर्यमुखी, भटमासलगायतको तेल लगातार भारतमा ठुलो परिमाणमा निर्यात हुनाले नेपालको निर्यात व्यापारमा एक किसिमको खतरा पैदा भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका विश्लेषक कृष्ण बजगाईँ बताउँछन् । खासगरी नेपालबाट निर्यात भएको खानेतेलले वस्तुले कुल निर्यातको झण्डै ४७ प्रतिशत बढी हिस्सा ओगटेको देखिन्छ । यस्तो एकमुखी निर्यात प्रणाली दीर्घकालीन रूपमा घातक हुनसक्ने उनको चेतावनी छ ।
‘जब कुनै मुलुकले एउटै प्रकृतिको वस्तु एउटै देशमा अत्यधिक मात्रामा निर्यात गर्छ, त्यो व्यापारको स्वरूप असन्तुलित हुन्छ र कालान्तरमा त्यो देशमा व्यापार नीतिमा फेरबदल आए व्यापार धरासायी हुने खतरा रहन्छ,’ उनले भने, ‘त्यसैले निर्यात व्यापारमा वस्तु तथा गन्तव्य दुवैको विविधिकरण अनिवार्य हुन्छ ।’ नेपालको निर्यात व्यापार अहिले यस्तै अनिश्चित प्रवृत्तितर्फ उन्मुख देखिन्छ । खानेतेल निर्यात हालका वर्षहरूमा एकाएक बढेपनि यसको पूर्वाधार, स्थायित्व, स्वदेशी कच्चा पदार्थ प्रयोग, र मूल्य अभिवृद्धिमा पर्याप्त लगानी नभएको स्पष्ट देखिन्छ । त्यसैगरी, तेल उद्योगहरूबाट भ्याट, आयकर तथा भन्सार महसुल छुट लिने प्रवृत्ति बढ्दै गएपछि यसले झन समस्या सिर्जना भएको उनी बताउँछन् ।
पछिल्ला तथ्यांकलाई आधार मान्दा नेपालले इन्डोनेसीया र मलेसियालगायत देशबाट पाम तेलको कच्चा पदार्थ, अर्जेन्टिनाबाट भटमास र युक्रेनलगायतका देशबाट सोयाविन आयात गरेको देखिन्छ । यस्तै वस्तुहरुलाई प्रशोधन गरी नेपालले सबैभन्दा बढी भारतमै तेल निर्यात गरेको देखिन्छ । यसअघि २ बर्षअघिसम्म पनि नेपालको कुल निर्यात व्यापारमा खानेतेलको हिस्सा उच्च भएको थिए । यहि तथ्यांकलाई ध्यानमा राख्दै भारतले एकाएक कर बढाईदिएपछि नेपाली तेल उत्पादकहरु धरापमा परेका थिए ।