काठमाडौं । नेपालमा छुर्पी उत्पादनलाई प्राथमिकता दिएर विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत बनाउनका लागि व्यवसायीहरुले माग गरेका छन् । पछिल्लो समय अमेरिका, युरोपलगायतका मुलुकमा नेपाली छुर्पीको माग उच्च भएको भन्दै अबका दिनमा छुर्पी उत्पादन र तथा निर्यातमा सहजीकरण गरिदिन माग गरेका छन् ।
नेपाल छुर्पी व्यवसायी संघको प्रथम वार्षिक साधारणसभामा बोल्दै संघका अध्यक्ष रेशमबहादुर पोखरेलले पछिल्लो समय विदेशी मुद्रा आर्जनको राम्रो स्रोतमा छुर्पी रहेको भन्दै अबका दिनमा सरकारले प्रर्वद्धन गर्नुपर्ने बताए । नेपाली छुर्पी विशेषगरी कुकुरको दानाको रुपमा युरोप अमेरिकामा निर्यात हुँदै आएको छ । नेपालबाट वार्षिक अर्बौं रुपैयाँको छुर्पी निर्यात हुँदै आएको र अबका दिन छुर्पीको उत्पादन तथा निर्यात प्रर्वद्धनमा सरकारले उच्च प्राथमिकता दिनुपर्ने उनको भनाई थियो ।
यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपालबाट हुने छुर्पी निर्यातले व्यापार घाटा न्यूनीकरण गर्न सहयोग पुर्याएको भन्दै सरकारले पनि अबका दिनमा सोहीअनुरुप प्राथमिकता दिनुपर्ने बताए । ‘अहिलो हाम्रो नियात दिगो छैन नेपालमै उत्पादन नहुने सोयाविन र पाम आयल निर्यात भैरहेको छ । कुन दिन भारतले एण्टीडम्पिङ लगाइदिन्छ त्यसदिन त्यस्ता निर्यात बन्द हुन्छ,’ उनले भने, ‘तसर्थ स्वदेशी कच्चापदार्थ प्रयोग हुने नेपालका मौलिक उत्पादन निर्यातलाई सरकारले प्राथमिकता दिनुपर्छ ।’ साथै उनले अबका दिनमा त्यस्ता प्रकृतिका उद्योग संचालनमा सहजिकरण गरिदिनुपर्ने बताए । यसैगरी हिजोका दिनमा कोशी प्रदेशमा छुर्पी उद्योग नहुँदा किसानको दुध विक्री नभई मिल्क होलिडे मनाउन बाध्य भन्दै अबका दिनमा त्यस्ता समस्या समेत हटेको उनको भनाई थियो ।
यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ बस्तुगतर्फका उपाध्यक्ष हेमराज ढकालले नेपाली उद्योगहरु बचाउनका लािग सरकारले आयातित तयारी वस्तु र कच्चा पदार्थमा कम्तीमा दुई तहको भन्सार दर फरक गर्नुपर्ने बताए । ‘अहिले सरकारले उद्योगका लागि आवश्यक कच्चा पदार्थ र तयारी बस्तुमा एउटै भन्सार दर लगाएको छ, जुन एकदमै गलत छ,’ संघको वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले भने, ‘अबका दिनमा नेपाललाई आत्मनिर्भर बनाई उच्च भ्यालुएड गरेर नेपाली उत्पादनको निर्यात बढाउन उद्योगका लागि आवश्यक कच्चा पदार्थभन्दा आयातित तयारी वस्तुमा बढी भन्सारदर लगाईनुपर्छ ।’
अहिले नेपाली उद्योवगहरु संचालनका लागि विशेष आर्थिक क्षेत्र (सेज) संचालनमा महासंघले उच्च प्राथमिकता दिएको भन्दै सोहीअनुरुप अघि बढन् आग्रह गरेका थिए । साथै अबका दिनमा अबका दिनमा निर्यातका लागि गुणस्तरीय बस्तु उत्पादन र सोही अनुरुप मापदण्ड बनाउनुपर्ने उनले बताए ।