काठमाडौं । चालु आर्थिक वर्षको बजेटको लक्ष्य पूरा गर्न सरकार असफल देखिएको छ । चालु आवका लागि तोकिएको लक्ष्यको तुलनामा बजेट कार्यान्वयनमा सरकार असफल देखिएको हो । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्ष सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो ।
१२ महिनामा उक्त रकम बराबरको खर्च गरिसक्नुपर्ने लक्ष्य सरकारको भएपनि यो आर्थिक बर्षको १० महिना सकिँदा सरकारले जम्मा ११ खर्ब ५७ अर्ब रुपैयाँ बराबर मात्रै खर्च गर्न सकेको छ । यसरी हेर्दा आगामी २ महिनामा सरकारले ७ खर्ब २ अर्ब रुपैयाँ बजेट खर्च गर्नुपर्छ । अर्थात आगामी २ महिनामा सरकारले प्रतिदिन ११ अर्ब ७० करोड रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ । तर, सरकारले औसतमा प्रतिदिन ३ अर्ब ८५ करोड रुपैयाँ आसपास मात्रै खर्च गर्दै आएको छ ।
यस्तै चालु आवको १० महिना वितिसक्दा सरकारले लक्ष्यअनुसार राजस्व संकलनसमेत गर्न नसकेको तथ्यांकमा देखिन्छ । महालेखा परीक्षकका अनुसार गएको १० महिनामा सरकारले लक्ष्यको ६४.३१ प्रतिशतमात्रै राजश्व संकलन गरेको छ ।
चालु आवको १२ महिनामा सरकारले विभिन्न स्रोतहरुबाट १४ खर्ब ७१ अर्ब रुपैयाँ बढी राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म सरकारले जम्मा ९ खर्ब ४६ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन गरेको देखिन्छ । आफ्नो लक्ष्यमा पुग्नका लागि सरकारलाई बाँकीका २ महिनामा ५ खर्ब २५ अर्ब रुपैयाँ राजस्व संकलन गर्नुपर्ने छ ।
राजस्व संकलनमा सरकारले राजस्वतर्फ लक्ष्यको ६५ प्रतिशत, अनुदान तथा सहायतातर्फ २४ प्रतिशत मात्रै प्रगति हासिल गरेको छ । यता बजेट खर्चको कुरा गर्दा सरकारको चालुतर्फ उल्लेख्य खर्च भएपनि विकास शीर्षकमा हुने पुँजीगत खर्चको अवस्था दयनीय छ । चालु आवमा ३ खर्ब ५२ अर्ब रुपैयाँ बढी खर्च गर्ने लक्ष्य लिएको सरकारले १० महिना वितिसक्दा जम्मा १ खर्ब २० अर्ब रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । यो कुल लक्ष्यको जम्मा ३४ प्रतिशत हुन आउँछ ।