काठमाडौं । नेपाल प्रहरीले आर्थिक अपराध अनुसन्धानका लागि नयाँ महाशाखा गठन गरेको छ । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीले नेतृत्व गर्नेगरी नेपाल प्रहरीले नयाँ महाशाखा गठन गरेको हो ।
आर्थिक अपराध, गैरकानूनी कारोबार र अवैध आर्थिक गतिविधिमा भईरहेको वृद्धिलाई नियन्त्रण गर्न नयाँ महाशाखा स्थापना गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए। ‘जटिल र ठूला आर्थिक अपराधका मुद्दाहरू बढ्दै गएकाले यस्ता घटनाको प्रभावकारी अनुसन्धानका लागि छुट्टै महाशाखा आवश्यक भएको हो,’ उनले भने।
यो महाशाखाले विशेषगरी काठमाडौंमा केन्द्रित भएर काम गर्नेछ, तर उपत्यकाबाहिरका आर्थिक अपराधसम्बन्धी उजुरी र जाहेरीको अनुसन्धान पनि सोही अनुसार गर्ने उनले बताए । हाल जिल्ला र इलाका प्रहरी कार्यालयहरूले आर्थिक अपराधका मुद्दाहरू हेर्न छुट्टै अनुसन्धान अधिकृत तोक्दै आएका छन्।
महाशाखाले काठमाडौंमा छुट्टै कार्यालय सञ्चालन गर्नेछ, तर पीडितको सहजताका लागि उपत्यकाबाहिरका प्रहरी कार्यालयहरूमा पनि यस्ता उजुरी दर्ता गर्ने व्यवस्था कायम रहनेछ।