Logo

कुलमानका विषयमा प्रचण्डलाई योगेशको प्रश्न–एउटा सहसचिवलाई हटाएकोमा किन यति ठूलो चिन्ता ?

कुलमानका विषयमा प्रचण्डलाई योगेशको प्रश्न–एउटा सहसचिवलाई हटाएकोमा किन यति ठूलो चिन्ता ?



काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अहिलेको सरकारले हटाएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विरोध गरेको विषयमा आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले विगतमा आफूले मुख्यसचिव बनाउँदा गरेको निर्णय र प्रधानसेनापति हटाएको विषय स्मरण गर्नपनि प्रचण्डलाई अनुरोध गरे । उनले कुलमान हटाएको विषयमा प्रचण्डले गरेको विरोधबारे भने,‘अहिले केपी शर्मा ओलीको सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता, तपाईंको मुटुमा नै गोली लागेजस्तो किन भएको छ ? एउटा सहसचिव लेभलको कर्मचारी हो, सरकारसँग उसको ट्युनिङ मिलेन, उसको एउटा बन्दोबस्ती भयो । प्रधानसेनापति हटाएजस्तो कुरा त होईन । यस्ताखाले बेथितिहरु आफ्नो पालामा भएका छन् ।’

यो वर्षको नीति तथा कार्यक्रममा कांग्रेस-एमालेबीच भएको ७ बुँदे सहमतिको भावनाअनुसार नै आएको भट्टराईको दाबी छ । जनताको बीचमा देखिएको आक्रोशलाई सम्बोधन गर्ने उद्देश्यले दुई ठूला दल मिलेर सरकार बनाएको पनि उनको भनाई छ । अहिले देशमा विद्यमान सबैखाले समस्याको समाधान गर्नेगरि नीति तथा कार्यक्रम ल्याईएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्