Logo

धितो मूल्याङ्कनकर्ता नै धमाधम बैंकको कालोसूचीमा, धितोको मूल्य घट्दा समस्या परेको जिकिर

धितो मूल्याङ्कनकर्ता नै धमाधम बैंकको कालोसूचीमा, धितोको मूल्य घट्दा समस्या परेको जिकिर



काठमाडौं । धितोको मूल्य घट्दै जाँदा बैङ्कहरूले मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्न थालेपछि मूल्याङ्कनकर्ताहरू चिन्तित बनेका छन् । नेपाल भ्यालुयर्स (मूल्याङ्कनकर्ता) एसोसिएसनले धितोको मूल्य बढेको समयमा भएको मूल्याङ्कन र अहिले कारोबार कम हुँदा भएको मूल्याङ्कनको विषयलाई लिएर बैङ्कहरूले मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्न नहुने तर्क गरेको छ ।

एसोसिएसनका अध्यक्ष ई सञ्जयकुमार महतोले बैङ्कहरूले नेपाल राष्ट्र बैङ्कको निर्देशिका देखाएर कालोसूचीमा राख्न थालेको बताए । कोभिड अगाडिको मूल्याङ्कन र कोभिड पछाडिको मूल्याङ्कनमा दुई तिहाइ नपुगे मूल्याङ्कनकर्ताहरूलाई कालोसूचीमा राख्ने गरेको उनको भनाइ छ । “यसले गर्दा मूल्याङ्कनकर्ताहरूमा निराशा छाएको छ, यही अवस्था रहे मूल्याङ्कन गर्ने/नगर्ने भन्ने विषय अन्योल हुन्छ”, उनले भने ।

अहिले देशका हरेक ठाउँमा धितोको मूल्याङ्कन औसतमा ३० प्रतिशतभन्दा धेरैले घटेको उल्लेख गर्दै उनले मूल्याङ्कनकर्ताहरूलाई बैङ्कहरूले कालोसूचीमा राख्न नहुने बताएका हुन् ।

केन्द्रीय सल्लाहाकार ई लक्ष्मणबाबु सेढाईले आफूहरूले बैङ्क र बैङ्कका ग्राहक बीचमा समन्वयको काम गर्ने भएकाले कालोसूचीमा राख्नु गलत भएको बताए । उनले भने, “बैङ्कहरूले मूल्याङ्कनकर्ताहरूलाई कारबाही गर्नतर्फ लाग्दा समस्या आउने देखिएको छ ।”

अहिले धितोका रूपमा राखिने जग्गा र अन्य मेसिनरी सामानहरूको मूल्य घटेको भन्दै उनले यो अवस्थामा बैङ्कहरूले सोचेर काम गर्नुपर्नेमा जोड दिए । यस्ता गतिविधिले इञ्जिनियरहरू पलायन हुने अवस्था आउने उनको भनाइ छ ।

एसोसिएसनका कोशी प्रदेश अध्यक्ष ई आमोदराज आचार्यले कालोसूचीमा राख्ने कानुनी मान्यता नरहेको भए पनि बैङ्कहरूले कारबाही गर्ने गरेको बताए । पहिलोपटक गरेको मूल्याङ्कनको दुई तिहाइ नपुग्दा समस्या भएको उनको भनाइ छ ।

एसोसिएसन चितवन च्याप्टरका अध्यक्ष सञ्जयचन्द्र न्यौपानेले बैङ्कका ऋणीहरूलाई सहजीकरण गर्ने मूल्याङ्कनकर्ताहरूलाई हतोत्साहित बनाउने काम बैङ्कहरूले गरेको उल्लेख गरे । बैङ्कहरूले दोस्रो पटक मूल्याङ्कन गर्ने र ऋणीहरूको धितो कम मूल्यमा लिलाम गर्ने गरेको उनको भनाइ छ ।

चितवन च्याप्टरका संस्थापक अध्यक्ष ई ईश्वरीप्रसाद कौडालले अहिले अस्वस्थ प्रतिस्पर्धाका कारण मूल्याङ्कनकर्ताहरूमा समस्या आउन थालेको बताए ।

नेपाल इञ्जिनियर्स एसोसिएसन भरतपुर केन्द्रका अध्यक्ष कृष्ण रिजालले समय र परिस्थितिअनुसार धितोको मूल्य घटबढ हुने कुरालाई बैङ्कहरूले बुझ्नुपर्ने बताए । नेपाल भ्यालुयर्स (मूल्याङ्कनकर्ता) एसोसिएसनमा अहिले चार हजारभन्दा बढी इञ्जिनियर आबद्ध छन् । रासस

प्रतिक्रिया दिनुहोस्