Logo

सीआइबीको अनुसन्धान : ३ वर्षमा अवैधरुपमा भित्रियो २७ क्विन्टल सुन, चिनियाँ र भारतीयको लगानी, नेपाली विचौलिया

सीआइबीको अनुसन्धान : ३ वर्षमा अवैधरुपमा भित्रियो २७ क्विन्टल सुन, चिनियाँ र भारतीयको लगानी, नेपाली विचौलिया



काठमाडौं । नेपाल सुन तस्करहरुका लागि अखाडाका रुपमा प्रयोग भइरहेको तथ्य भेटिएको छ । त्यसमा पनि नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुन तस्करहरुका लागि सहज माध्यमका रुपमा उपयोग भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले गरेको अध्ययनले पुष्टि गरेको छ । पछिल्लो ३ वर्षमा मात्रै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट २७ क्विन्टल अवैध सुन नेपाल भित्रिएको छ ।

laxmi

पछिल्लो समय देशमा अवैधरुपमा सुन तस्करी बढेसँगै नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले सो सम्बन्धमा अध्ययन थालेको थियो । अध्ययनको क्रममा ३ वर्षको अवधिमा २७ सय किलो सुन अवैध रुपमा भित्रिएको फेला परेको सीआइबीले जानकारी दिएको छ । अहिले पनि सीआइबीले अबैध सुन आयातको विषयमा अनुसन्धान गरिरहेको छ । हालसम्म २७ क्विन्टलभन्दा बढी सुन विभिन्न तरीकाबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अबैध रुपमा भित्रिएको र अनुसन्धानको क्रममा अझै उक्त परिमाण बढ्न सक्ने सीआइबी स्रोतले जानकारी दिएको छ । ‘हामी अबैध सुन तस्करको अनुन्धानको अन्तिम चरणमा छौं,’ सीआइबी स्रोतले भन्यो, ‘अब केही समयभित्रै अदालतमा रिपोर्टसहित पेश गर्छौं ।’

सीआइबी स्रोतका अनुसार सुनको अबैध कारोबारमा चिनियाँ र भारतीय नागरिकको संलग्नता देखिएको छ । पछिल्लो समय सुन तस्करीमा नेपालीको नाम आएपनि त्यसरी अवैध रुपमा तस्करी हुने सुनमा चिनियाँ र भारतीय नागरिकको लगानी रहेको अनुसन्धानको क्रममा पत्ता लागेको हो । ‘अहिलेसम्मको अध्ययनले अवैध सुन कारोबारमा नेपालीको लगानी भएको भेटिएको छैन,’ उक्त स्रोतले भन्यो, ‘त्यसरी हुने सुन तस्करमा चिनियाँ र भारतीय नागरिकले खरिद बिक्री गर्ने गरेको भेटिएको छ तर नेपाली नागरिक भने त्यसरी ल्याइने सुनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट छुटाउनका लागि विचौलियाको रुपमा प्रयोग भएको पाइएको छ ।’

विशेषगरी त्यसरी आयात हुने सुन चीनबाट ल्याएर भारतमा लगेर बिक्री गरिने गरेको देखिएको छ । उक्त अध्ययनअनुसार त्यसरी आयात हुने सुन नेपालमा कम खपत हुने भएपनि विचौलियाले नेपाललाई सुन तस्करीको अखडाको रुपमा प्रयोग गर्दै आएको अध्ययनले देखाएको छ ।

तस्करहरुले पछिल्लो समय मोटरसाइकलको ब्रेक सुदेखि विभिन्न तरिकाबाट अबैध रुपमा सुन भित्र्याएका थिए । अध्ययनको क्रममा तस्करहरुले विभिन्न उपाय अपनाएर सुन तस्कर गरेको पाइएको हो । ‘हाल अवैध सुन आयातको विषयमा विस्तृत अध्ययन भएर अन्तिम रिपोर्ट आउने क्रममा रहेको छ,’ सीआइबी स्रोतले भन्यो, ‘अनुसन्धान मात्रै नभई हामीले ल्याबमै परीक्षण गरी हालसम्म २७ क्विन्टभन्दा बढी सुन अवैध रुपमा आयात भएको तथ्य पत्ता लगाएका हौं ।’

सीआईबीका अनुसार सो अवधिमा तत्कालीन मूल्यमा करिव २६ अर्ब रुपैयाँ बराबरको सुन अबैध रुपमा त्रिभुवन विमानस्थलबाट नेपाल भित्रिएको छ । सोवापत सरकारले सुन आयातको १५ प्रतिशत (यो बजेटभन्दा अघि) भन्सार राजस्ववापत करिव ४ अर्ब रुपैयाँ बराबरको राजस्व गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL