Logo

निर्देशन मन्त्री अर्थात वर्षमान पुन : सुधारको ठोस नीति नलिदा थप अन्योलमा सेयर बजार

निर्देशन मन्त्री अर्थात वर्षमान पुन : सुधारको ठोस नीति नलिदा थप अन्योलमा सेयर बजार



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पदबहाली गरेसँगै उनले ६० लाखभन्दा बढी लगानीकर्ता रहेको सेयर बजारलाई सुधार गर्ने उद्घोष गरेका थिए । आफुले तत्काल लगानीकर्ताको माग सम्बोधन हुनेगरी नीतिगत सुधार गर्ने र सोही अनुरुप ढुक्क भएर लगानी गर्न आग्रह समेत गरेका थिए ।

laxmi

पुन अर्थमन्त्रीमा पदबहाली भएको केही दिनमै पुँजी बजारको समस्या पहिचान गरी सुधारका लागि एक हप्ताभित्रै कार्ययोजना पेश गर्न नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडीएससीलाई निर्देशन दिए । सोहीअनुरुप तीनवटै संस्थाले अर्थमन्त्रीको निर्देशनअनुरुप समयसीमा भित्रै पुँजी बजारको सुधारको योजना पेश गरे । तर, उक्त सुझाव पेश भएको १ महिना वित्न लाग्दा पनि अर्थमन्त्री पुनले त्यसलाई कार्यान्वनयमा लैजानका लागि कुनै चासो देखाएका छैनन् ।

अर्थमन्त्रीले बोल्नेमात्रै तर, बजार सुधारका लागि कुनै पनि काम नगर्दा त्यसले बजारमा थप नैराश्यता श्रृजना भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘नयाँ सरकार गठनसँगै एमालेबाट विष्णु पौडेल अर्थमन्त्री हुने हल्लाले बजारमा उत्साह छाएको थियो तर माओवादीबाट वर्षमान पुन अर्थमन्त्री हुने भन्ने वित्तिकै त्यो उत्साह टिक्न सकेन,’ एक बजार विश्लेषकले भने, ‘वर्षमान अर्थमन्त्री भएपछि पनि उनले बजार सुधारका लागि जेजस्ता काम अघि बढाए त्यसले केही उत्साह पलाएको थियो तर, उनले लगानीकर्ताका अघि राम्रो हुन जे पनि बोलिदिने तर सुधारका काम कुनै पनि अघि नबढाउँदा त्यसले थप निरास बनाएको छ ।’

नेपालमा विशेषगरी अन्य क्षेत्र चलायमान नहुँदा र बजारमा लगानीयोग्य रकम थुप्रिएर बस्दा सेयर बजार उच्च अंकमा बढ्दै आएको थियो । तर, अहिले ती दुबै इण्डिकेटर उच्चतम विन्दुमा हुँदा पनि सेयर बजार भने दैनिक रुपमा घट्दो छ । सत्ता समीकरण परिवर्तनसँगै विष्णु पौडेल अर्थमन्त्री हुने हल्लाले ज्यादै न्यून विन्दुमा रहेको नेप्से एकैदिन ११७ अंकले बढेर २०७८ अंकमा पुगेको थियो । तर, वर्षमान अर्थमन्त्री भएसँगै त्यसो उत्साह टिक्न सकेन भने नेप्से परिसुचक अहिले २०२५ अंकमा झरेर रुमलिएको छ ।

अहिले बजारलाई सकारात्मक पार्ने खालका सुचकहरु एकदमै राम्रा छन् । चालु आर्थिक वर्षको सुरुवात भएबाट नै बैंकिङ क्षेत्रको ब्याजदर घट्दो अवस्थामा रहेको छ भने, बैंकिङ प्रणालीमा लगानी योग्य रमक थुप्रिएर बसेको छ । तर, केही परिवर्तन हुने आशामा नयाँ अर्थमन्त्रीको रुपमा वर्षमान पुनलाई केही हरियो हुँदै स्वागत गरेको सेयर बजार अहिले थप क्रोनिक बन्न पुगेको छ । वर्षमान अर्थमन्त्री भएसँगै केही नीतिगत सुधार गर्छन कि भन्ने आशामा एक हप्तामा लगभग ७० अंकले बढेको सेयर बजार अहिले ओरालो यात्रामा छ । फागुन २३ गते अर्थमन्त्रीमा पुन नियुक्त हुँदा २१ सय बिन्दुको हाराहारीमा रहेको सेयर बजार १ सय अंकले घटेर अहिले चैत २९ गतेसम्म आउँदा २ हजार बिन्दुमा झरेको छ ।

अर्थमन्त्रीमा डा. प्रकाशसरण महत हुँदा नीतिगत सुधारको लागि आश्वासनमात्र पाएको सेयर बजारले पुनको नियुक्तीसँगै नीतिगत सुधार र सकारात्मक वातावरणको अपेक्षा गरेका थिए । तर, वर्षमान पुनले पछिल्लो समय नत नीतिगत सुधार गरे नत ३२ खर्ब पुँजीकरण र ६२ लाख लगानीकर्ता भएको सेयर बजारलाई नियमन गर्ने धितोपत्र बोर्डमा अध्यक्ष नै नियुक्त गर्न सके । पछिल्लो समय पुनले बजार सुधारभन्दा स्वार्थ केन्द्रित भएर काम गर्दा बोर्डमा अध्यक्ष नियुक्ती प्रक्रिया ढिलाई भएको र सोको कारण अहिले समग्र पुँजी बजार नै थप धरासायी बन्न पुगेको सम्बद्ध लगानीकर्ताको आरोप छ ।

यसअघि बोर्डको अध्यक्ष सिफारिस समितिले ३ जनाको नाम छनौट गर्नका लागि आज (बिहीबार) नै ५ जनाभित्र परेको उम्मेदवारको अन्तरवार्ता राखेका थिए । तर, अर्थमन्त्री पुनको आदेशमा उक्त अन्तरवार्ताको मिति सरेको छ भने अर्को अन्तरवार्ताको मिति कहिले तय हुने भन्ने विषय थप अन्यौल बन्न पुगेको छ । ‘अहिले मन्त्री, प्रधानमन्त्रीले बजार सुधारभन्दा पनि आफ्नो स्वार्थ अनुरुप काम गर्न गराउन बोर्डमा अध्यक्ष नियुक्तका लागि बार्गेनिङ गरिरहेका छन्,’ एक लगानीकर्ताले भने, ‘नेपालीको सबैभन्दा बढी लगानी रहेको पुँजी बजार नियमन गर्ने निकायमा ३ महिनाभन्दा बढी नेतृत्व खाली हुँदा पनि नियुक्त गर्न नसक्नु सरकारको निकम्मापन हो ।’

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम धेरै भएको अवस्था छ भने, निक्षेप तथा कर्जाको ब्याजदर घट्दो अवस्थामा रहेको कारण त्यसको सकारात्मक असर सेयर बजारमा देखिनुपर्ने लगानीकर्ताको धारणा छ । तर, अहिले पुँजी बजारका लागि सहज अवस्थामा पनि राजनीतिक अस्थिरताको कारण सेयर बजारमा सकारात्मक माहोल बन्न नसकेको लगानीकर्ताहरुको बुझाई छ ।

यस्तो अवस्थामा लगानीकर्ताले अर्थमन्त्री पुनसँग सेयर बजारको सुधारको अपेक्षा राखेका थिए । तर, अर्थमन्त्री पुनले प्रतिवद्धता गर्ने तर कार्यान्यनमा कुनै अग्रसरता नबढाएका कारण बजारको सुधार हुन सकेन । ‘नयाँ अर्थमन्त्रीमा जो कोहि आएपनि सेयर बजार अहिले सकारात्मक बाटोमा रहेको कारण बजार बढ्ने सम्भावना उच्च छ,’ ती लगानीकर्ताले भने, ‘तर पुन अर्थमन्त्री भएर आएसँगै केही उत्साहित भएका लगानीकर्ताहरु सुधारको कुनैपनि काम नहुँदा थप निरास बन्न पुगेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL