Logo

अब देखि एक घण्टामै श्रम स्वीकृति पाइने, श्रमिकलाई नअल्झाउन मन्त्री अर्यालको निर्देशन

अब देखि एक घण्टामै श्रम स्वीकृति पाइने, श्रमिकलाई नअल्झाउन मन्त्री अर्यालको निर्देशन



काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकले अब देखि एक घण्टा भित्रमा नै श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगतको ताहाचल स्थित वैदेशिक रोजगार कार्यलयले कागजपत्र पुगेको अवस्था एक घण्टामा नै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको हो ।

laxmi

श्रमिकले सबै प्रक्रिया पुरा गरी आवश्यक कागजपत्र सहित कार्यलय समयमा अनलाईनबाट आवेदन दिएमा २ मिनेट ४४ सकेण्डमा नै श्रम स्वीकृति प्रदान गर्न सक्ने अवस्था रहेको श्रममन्त्री डोलप्रसाद अर्यालले बताए। ताहचल कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले प्राविधिक समस्या, विद्युतको आपूति र इन्टरनेटको स्पिडलाई ध्यानमा राखेर एक घण्टमा श्रम स्वीकृति दिन सक्ने अवस्था रहेको बताए । नीतिगत र प्राविधिक सुधारका साथै कर्मचारीको अथक प्रयासले एक घण्टामा श्रम स्वीकृति उपलब्ध गराउन सम्भव भएको मन्त्री अर्यालले बताए । यसका लागि कार्यलयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद समेत दिए । ‘यो सबै कर्मचारीको मेहनत हो । मलाई उहाँहरु माथि पुरै विश्वास छ । यो क्रमलाई उहाँहरुले आगामी दिनमा पनि निरन्तरता दिनुहुनेछ,’ उनले भने ।

श्रममन्त्री अर्यालले पदभार ग्रहण गरेसँगै श्रम स्वीकृतिको प्रक्रियालाई एक घण्टामा छोट्याउन फेमिसका सफट्वेयर तथा हार्डवेयरका आपूर्तिकर्ता तथा कर्मचारीलाई निर्देशन दिएका थिए। ‘हाफ पाईन्ट, टिसर्ट र चप्पल लगाएर, मिटर ब्याजमा ऋण लिएर वैदेशिक रोजगारी जानका लागि श्रम स्वीकृति लिन आउने श्रमिकलाई फेरी तीन चार दिन लगाएर अल्झाउने, यो कुनै पनि हालतमा स्वीकार्य छैन । श्रमिक कुनै पनि बहानामा ठगिनु हुँदैन । त्यसैले मेरो पहिलो एजेण्डा श्रम स्वीकृतिको प्रक्रियालाई छिटो गराउनु थियो,’ उनले भने ।

श्रम स्वीकृति पूर्ण रुपमा निशुल्क हो । श्रमिकले आफनै मोवाइल वा कम्पप्यूटरबाट अनलाईन आवेदन दिन सक्नेछन् । श्रम स्वीकृति पनि अनलाईनबाट नै प्राप्त गर्न सक्नेछन् । यसका लागि कार्यलय धाई रहनु नपर्ने मन्त्री अर्यालले बताए। ‘सक्नुहुन्छ भने आफनै मोबाइल वा कम्प्यूटरबाट आवेदन दिनुहोस् । आवेदन दिने प्रक्रिया पनि विभागको वेव साइटमा राखिएको छ,’ उनले भने ।

एक घण्टामा नै श्रम स्वीकृति प्रदान गर्नका लागि वैदेशिक रोजगार कार्यलयले हाल पुनः श्रम स्वीकृतिलाई एउटै तहबाट स्वीकृति प्रदान गर्न थालेको छ । यसअघिको व्यवस्था अनुसार एउटा तहले कागजपत्र प्रमाणीकरण गर्ने र अर्को तहले स्वीकृति गर्ने व्यवस्था थियो । हाल वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०७९ शंसोधन गरी एकै तहबाट श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ । यसले श्रम स्वीकृतिको प्रक्रिया निक्कै नै सहज बनाएको श्रममन्त्री डिपी अर्यालले बताए ।

त्यस्तै, फेमिस सफ्टवेयर परामर्शदाताका एक जना प्राविधिकलाई विभागमा डेडिकेटेड रुपमा राखिएको छ । यसका साथै कर्मचारीहरुले दुई वटा सिफट्मा परिचालन गरिएको छ । विहान ७ देखि बेलुका ९ बजेसम्म गरी कर्मचारीले दुई सिफट्मा काम गर्दे आएका छन् । त्यस्तै, सार्वजनिक विदा र शनिबारको दिनमा पनि कर्मचारीलाई परिचालन गरिएको छ । तर, आगामी दिनमा भने कर्मचारीलाई एकै सिफट्मा कार्यलय समयमा मात्रै काम गर्ने गरी सुधार गरिने मन्त्री अर्यालले बताए । ‘केही समयमा लागि कर्मचारीलाई सिफट्मा काम गर्न लगाईएको हो । तर, आगामी दिनमा एकै सिफट्मा कार्यलय समयमा मात्रै काम गर्ने गरी सुधार गर्नेछौ,’ उनले भने ।

कार्यलयले अहिले कर्मचारीलाई प्रत्येक दिन श्रम स्वीकृतिको लागि निश्चित कोटा तोकेको छ । काठमाडौ कार्यालयबाट बाहेक ६ वटै प्रदेशबाट नयाँ कम्तिमा ५० र पुन श्रम स्वीकृति १०० वटा टोकनको व्यवस्था गरिएको छ । पहिलो कार्यालयले चाहेजति मात्र टोकन पाउने व्यवस्था थियो ।

श्रम स्वीकृतिको लागि श्रमिकले मुख्य गरी पासपोर्ट, भिसा र रोजगारदातासँगको सम्झौता पत्र पेश गर्नुपर्नेछ । त्यस्तै, श्रमिकले बिमा, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषको शुल्क भुक्तानी गरेको हुनुपर्नेछ । श्रमिकलाई सहज रुपमा श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवस्थापन सुचना प्रणाली (फेमिस) सञ्चालनमा ल्याएको हो । अहिले दैनिक औसत एक हजार ६०० जनालाई श्रम स्वीकृति प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL