Logo

अर्थको निर्देशनपछि पुनर्बीमा कम्पनीको पुँजीवृद्धि रोकियो, हिमालयन रिको हकप्रद रद्द हुने

अर्थको निर्देशनपछि पुनर्बीमा कम्पनीको पुँजीवृद्धि रोकियो, हिमालयन रिको हकप्रद रद्द हुने



काठमाडौं । पुनर्बीमा कम्पनीहरुको पुँजीवृद्धि नहुने भएको छ । केही समयअघि बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको आकार ठूलो बनाउने भन्दै कम्पनीको पुँजी २० अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेपनि सरकारले किन र के आधारमा पुँजीवृद्धि गर्न लागेको भन्दै मौखिक रुपमा स्पष्टीकरण सोधेपछि उक्त पुँजीवृद्धि योजना रोकिएको हो ।

laxmi

बीमा प्राधिकरण बोर्डले पुनर्बीमा कम्पनीहरुको पुँजीवृद्धि गर्दै १५ दिनको समयसीमा दिएर दुईओटै कम्पनीसँग क्यापिटल प्लान मागेको थियो । प्राधिकरणले पुँजीवृद्धि गरेर क्यापिटल प्लान मागेपनि अर्थमन्त्री डा. प्रकाशशरण महतले प्राधिकरणका अध्यक्ष सुर्य सिलवाललाई आफ्नै कार्यकक्षमा बोलाएर किन र केका लागि पुँजीवृद्धि गरिएको हो, यो निर्णय गर्न रोक्नुभन्दै मौखिक रुपमा निर्देशन दिएको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

अर्थमन्त्री डा. महतले पुनर्बीमा कम्पनीको पुँजी वृद्धियोजना रोक्न प्राधिकरणलाई फोनबाटै भनेका थिए । तर त्यसरी भन्दा वास्ता नगरेपछि अर्थमन्त्री डा. महतले आफ्नै कार्यकक्षमा बोलाएर अहिले किन र कसका लागि पुँजी वृद्धि गरेको भन्दै स्ष्टीकरण सोध्दै तत्काल रोक्न निर्देशन दिएको समेत उक्त स्रोतले जानकारी दिएको छ ।

बीमा प्राधिकरणले २ वर्षअघि मात्रै दोस्रो पुनर्बीमा कम्पनी हिमालयन रिलाई १० अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गरेर लाइसेन्स दिएको थियो । उक्त कम्पनीले केही समयअघि मात्रै सर्वसाधारणका लागि सेयर जारी गरेको थियो । नयाँ आएको कम्पनीले १० अर्ब पुँजी पुर्याउन भर्खरै सर्वसाधारणमा सेयर जारी गरेको र अहिले नै पुनः पुँजी वृद्धि गरेर थप भार पार्नै नहुने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

यसैगरी बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने तत्कालका लागि पुँजी वृद्धि हुने सम्भावना कम भएको बताए । ‘अहिले नेपाल रिले पनि तत्काल पुँजी वृद्धि गर्न सक्दैनौं भनेर जवाफ पठाएको छ,’ उनले भने, ‘सम्भवत अब तत्काल पुँजी वृद्धि नहुन सक्छ ।’ अहिले पुनर्बीमा कम्पनीको पुँजी वृद्धि गर्दा नेपाल रिमा सरकारले करिव ५ अर्ब रुपैयाँ हकप्रद सेयरवापत राख्नुपर्ने हुन्छ । अहिले सरकार संचालनकै लागि आर्थिक स्रोत जुटाउन कठिन भैरहेको अवस्थामा पुनर्बीमा कम्पनीको पुँजी वृद्धि गरेर थप आर्थिक भार पार्न नहुने सम्बद्ध स्रोतको भनाई छ । ‘पहिलो कुरो त नेपालमा भर्खरै पुनर्बीमा कम्पनी संचालनमा आएको छ,’ उक्त स्रोतले भन्यो, ‘अब तत्कालै कुनै अध्ययन वा आधारविना चुक्ता पुँजी वृद्धि गर्नुको कुनै औचित्य छैन ।’

हिमालयन रिको हकप्रद रद्ध हुने

पुनर्बीमा कम्पनीहरुको पुँजी वृद्धि रोकिएसँगै हिमालय रिको हकप्रद घोषणा पनि स्वत रद्द हुने भएको छ । हाल विवादकाबीच घोषणा गरिएको उक्त हकप्रद घोषणा अब जारी नहुने भएको हो । बीमा प्राधिकरणले पुँजी वृद्धि गरेर क्यापिटल प्लान माग गरेसँगै हिमालयन रि इन्स्योरेन्सले उक्त योजना नै नबुझाई हकप्रद सेयर ल्याउने घोषणा गरेको थियो । नियमत हिमालयले प्राधिकरणमा क्यापिटल प्लान बुझाएर उक्त योजना स्वीकृत भएपछि मात्रै हकप्रद घोषणा गर्नुपर्ने थियो ।

तर हिमालयन रिले आफ्नो संचालक समितिबाट पारित गराएर दोस्रो बजारमा मूल्यमा असर पर्नेगर्ने ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको थियो । हिमालयन रिले एकातर्फ प्राधिकरणबाट स्वीकृति नै नलिई हकप्रद सेयर जारीको घोषणा गरेर बजार मूल्यमा प्रभाव पार्ने काम गर्यो भने अब पुँजीवृद्धि योजना नै रोकिँदा उक्त हकप्रद सेयर नै स्वत रद्ध हुने भएको छ । ‘पुँजीवृद्धि योजना नरोकिएको भएपनि प्राधिकरणले क्यापिटल प्लान माग गरेको अवस्थामा आफुखुशी घोषणा गरिएको उक्त हकप्रद खारेज हुनुपर्ने थियो,’ एक कानूनविद्ले भने, ‘अब अर्थ मन्त्रालयलको निर्देशनपछि प्राधिकरणले पुँजीवृद्धि योजना रोक्ने भएपछि उक्त हकप्रद स्वतः खारेज हुने भयो ।’

प्रतिक्रिया दिनुहोस्
MBL