Logo

लगातार ओरालो लाग्दै मोबाइल फोनको आयात, राजश्वमा पनि देखियो असर

लगातार ओरालो लाग्दै मोबाइल फोनको आयात, राजश्वमा पनि देखियो असर



काठमाडौं । नेपालमा कोरोना सुरु भएको पछिल्लो आर्थिक बर्ष २०७७/७८ मा हालसम्मकै बढी मोबाइल सेट भित्रिएका थिए । उक्त आर्थिक बर्षमा आव २०७६/७७ को तुलनामा झण्डै २७ लाख बढी सेट मोबाइल भित्रिएका थिए । तर, त्यसयता भने नेपालमा मोबाइलको आयात लगातार ओरालो लागिरहेको पाईएको छ । विश्वभर कोरोना कहर फैलिएसँगै विद्यार्थीको पठनपाठनदेखि कार्यालयको कामसमेत अनलानबाट हुन थालेसँगै त्यसबेला नेपालमा मात्रै नभई विश्वभर नै स्मार्टफोनको व्यापार उच्चरुपमा बढेको थियो । कोरोनापछि नै भारतीय बजारमा पनि स्मार्टफोनको ब्यापार साविकको भन्दा २३ प्रतिशतले बढ्दै झण्डै एक बर्षमै ४ करोड सेट बराबरको भएको तथ्यांकमा देखिन्छ ।

laxmi

यता नेपालमा भने कोरोना सुरु भएको बर्ष २०७६/७७ मा ४३ लाख ९३ हजार सेट आयात भएको मोबाइल फोन त्यसको पछिल्लो बर्ष २०७७/७८ मा ६२ प्रतिशतले बढ्दै ७० लाख ३० हजार सेट आयात भएको थियो । तर, कोरोना कहरले एकाएक बढाएको मोबाइल फोनको बजार त्यसयता भने निरन्तर ओरालो लागिरहेको छ । एकातिर जनजीवन सामान्य अवस्थामा फर्किनु र मान्छेसँग क्रयशक्ति घट्दै जानुले मोबाइल फोनको व्यापारमा ठूलो असर पारेको मोबाइल फोन आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्रा बताउँछन् । उनका अनुसार कोरोनाकै कारण एकाएक उकालो लागेको मोबाइलको व्यापार पछिल्लो समय पुनः ओरालो लागेको छ ।

भन्सार विभागको तथ्यांकलाई केलाउँदा आव २०७७/७८ को पछिल्लो वर्ष आव २०७८/७९ मा मोबाइल फोनको आयात झण्डै २२ लाख सेटले घटेर ५७ लाख ६३ हजारमा सीमित भयो । पुनः त्यसको पछिल्लो वर्षको आव अर्थात गत आर्थिक बर्ष नेपालमा पुनः आयात उच्च रुपमा घट्यो । जसअनुसार गत आवमा नेपालमा जम्मा ३९ लाख ६३ हजार १ सय ९१ सेट मोबाइल फोन आयात भएको देखिन्छ । कोरोना कहरले निम्त्याएको आर्थिक वृद्धिको असरलाई रोक्न नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्ष महंगा मोबाइलको आयातमा गरेको प्रतिवन्धलाई पनि नेपालमा मोबाइल आयात घट्नुको प्रमुख कारण मान्छन् व्यापारी । ‘यसै त ओरालो लागेको मोबाइको व्यापामा राष्ट्र बैंकले नयाँ नियम ल्याउँदा झन असर पर्याे,’ मल्होत्रा भन्छन्, ‘जसका कारण गत आवमा अघिल्लो आवको तुलनामा मोबाइल फोन आयात १८ लाख सेटले घटेको देखिन्छ ।’

यसरी मोबाइलको आयात घट्दा समग्रमा व्यापारघाटामा केही राहत भएपनि यसबाट उठाइने राजस्वमा भने गिरावट आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । विभागका अनुसार आव २०७८/७९ मा ६ अर्ब बढी भन्सार राजस्व मोबाइलफोन आयातमार्फत उठाएको थियो । तर, त्यो राजस्व गत आर्थिक बर्षमा घटेर ४ अर्ब ८९ करोडमा सीमित भयो । यसरी पछिल्लो समय घटिरहेको मोबाइल आयातले यो बर्ष पनि निरन्तरता पाउने निश्चितप्राय भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको मंसिरसम्मको तथ्यांकअनुसार नेपालले यस अवधिसम्म १५ लाख ८२ हजार सेट मोबाइल आयात गरेको छ । यसरी आयात भएका मोबाइलबाट सरकारले यस अवधिमा २ अर्ब ६३ करोड रुपैयाँ मात्रै राजस्व असुल गरेको छ । यसर्थ चालु आर्थिक बर्षको आधा अवधि ढल्कीँदा पनि यसको आयात र यसबाट उठ्ने भन्सार राजस्वमा सुधार हुने लक्षण नदेखिएको मोबाइल व्यापारीहरु बताउँछन् ।

पछिल्लो समय देखिएको व्यापार तथा आर्थिक मन्दीका कारण बजारमा अन्य वस्तुजस्तै मोबाइलको विक्री नै सुस्ताएको छ । अझ नेपाली बजारमा मोबाइल फोनको उच्च मूल्य र यसैबेला देखिएको आर्थिक मन्दीले यसको विक्री पहिलेको तुलनामा ६० प्रतिशतसम्मले घटेको ताम्राकार मोबाइल हाउसमा मोबाइल पसल संचालन गरिहेका जगत साउँद बताउँछन् । अझ पछिल्लो समय बढेको युवा पलायनको असर पनि मोबाइल फोनको ब्यापारमा देखिएको उनी बताउँछन् । नेपालमा नयाँ मोबाइल खरिद गरी चलाउने युवापुस्ता नै विदेश लागेपछि मोबाइललगायत अन्य फेसनका वस्तुहरुको व्यापार पनि ओरालो लागेको उनको भनाई छ । अझ धेरैजसो विदेश गएका युवाहरुले आफ्नो घरमा आवश्यक मोबाइल पनि उतैबाट पठाउने गर्नाले नेपालमा व्यापार सुस्ताएको उनको भनाई छ । ‘मोबाइल खरिद गरेर चलाउने सबैजसो जनशक्ति विदेशमा छ,’ उनले भने, ‘त्यतिमात्रै होइन उनीहरुले घरमा पनि उतैबाट मोबाइल पठाउनाले नेपालको व्यापार करिव ५० प्रतिशतले सुस्ताएको छ ।’ नेपालले भारत, चीन, अमेरिका, जापान, दुबई, भियतनाम, अष्ट्रेलिया, कोरिया, कतार, साउदी अरेबियालगायतका देशहरुबाट मोबाइल फोन आयात गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL