Logo

बजेट अभावले रोकिए सडक विभागअन्तर्गतका अधिकांस आयोजना, अघि बढाउन १० अर्ब तत्काल चाहिने

बजेट अभावले रोकिए सडक विभागअन्तर्गतका अधिकांस आयोजना, अघि बढाउन १० अर्ब तत्काल चाहिने



काठमाडौं । सडक विभाग मातहतका धेरैजसो आयोजनाहरु बजेट अभावले प्रभावित भएका छन् । विभागका अनुसार पछिल्लो समय बजेट अभावकै कारण कतिपय आयोजनाको काम रोकिएको छ । निर्माण व्यवसायीले गत आर्थिक बर्षकै भुक्तानी सरकारबाट नपाएपछि व्यवसायीले विभाग अन्तर्गतका आयोजनाहरुको काम नै रोकेका हुन् ।

laxmi

विभाग मातहतका हाल ६० बढी आयोजनामध्ये छिटफुट आयोजनाको काम निरन्तर भईरहेको भएपनि धेरैजसोका काम रोकिएको विभागका उपमहानिर्देशक रामहरी पोख्रेल बताउँछन् । उनका अनुसार धेरैजसो निर्माण व्यवासायीहरुले गत बर्षकै भुक्तानी नपाएपछि चालु आवमा अघि बढाउनुपर्ने आयोजनाको काम पनि अघि बढाउन सकेका छैनन् ।

खासगरी सडक विभागअन्तर्गत अघि बढेका आयोजनाहरुमा गत बर्षको मात्रै हालसम्म १ अर्ब ७२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । गत असोज अन्तिममा मन्त्रिपरिषदको बैठकले दशैंअघि नै निर्माण व्यवसायीको केहि रकम भुक्तानी गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो । सोपश्चात करिव २ अर्ब रुपैयाँ भुक्तानी भएपनि धेरैजसो आयोजनाको गत बर्षकै बाँकी रकम भुक्तानी गर्न केहि रकम अपुग भएको थियो ।

यसरी गत बर्षकै भुक्तानी पनि हालसम्म नपाएपछि निर्माण व्यवसायी असन्तुष्ट हुँदा यो बर्ष केहि आयोजनाको काम प्रभावित भएको पोख्रेलले जानकारी दिए । ‘खास निर्माण कम्पनीहरुलाई विभागले गत बर्षकै धेरै भुक्तानी गर्न बाँकी छ,’ उनले भने, ‘गत बर्षकै भुक्तानी नभएका बेला चालु आवमा पनि त्यस्तै अवस्था आउने शंका निर्माण व्यवसायीमा उब्जिएपछि धेरै आयोजनाहरुमा काम हाल रोकिएको जस्तै भएको छ ।’

खासगरी गत आर्थिक बर्ष निर्माण व्यवसाइले गरेको कामको विभागले झण्डै ५ अर्ब रुपैयाँ भुक्तानी बाँकी थियो । त्यसमध्ये केहिसमय अघि मात्रै ३ अर्ब रुपैयाँ भुक्तानी गरिएको थियो । बाँकी १ अर्ब ७२ करोड रुपैयाँ गत आवको भुक्तानी गर्न बाँकी छ । त्यसमा पनि चालु आर्थिक बर्षको बजेटमार्फत अघि बढाईएका आयोजनाको गर्नुपर्ने भुक्तानी गरिसकेपछि पनि बजेट अभाव भएको देखिन्छ ।

यसरी बजेट अभावकै कारण हाल रोकिएका आयोजनाको काम नियमित रुपमा तत्काल अघि बढाउनका लागि मात्रै सडक विभागलाई १० अर्ब रुपैयाँको जोहो गर्नुपर्ने अवस्था आएको सडक विभागका सूचना अधिकारी अमित कुमार शर्मा बताउँछन् । उनका अनुसार सडक विभागले विभिन्न शीर्षकमा सडक, पुललगायतका आयोजनाको काम अघि बढाएको छ । त्यसमध्ये विदेशी सहायता प्राप्त आयोजना र राष्ट्रिय गौरवका आयोजनामा बजेट अभाव देखिएको छैन । तर यी दुई शिर्षकबाहेकका आयोजनामा भने हाल समस्या देखिएको छ ।

यसका लागि थप बजेटको व्यवस्था गर्न भौतिक तथा पूर्वाधार मन्त्रालयमा पत्राचार गर्ने तयारी भईरहेको शर्माले जानकारी दिएका छन् । ‘यसरी आयोजनाको भुक्तानीमै समस्या देखिएपछि आयोजना अघि बढ्न सकेका छैनन्,’ उनले भने, ‘बजेट अभावका कारण रोकिएका सबैजसो आयोजनाको काम अघि बढाउन अहिलेलाई १० अर्ब बढी रकम हामीलाई आवश्यक पर्छ, त्यसमध्ये केहि थप बजेटका लागि हामीले मन्त्रालयमा पत्राचार गर्ने तयारी गरेका छौं ।’

यता मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारी भने सडक विभागले थप बजेटको माग गर्दै मन्त्रालयमा पत्राचार गरेको खण्डमा सिफारिस अर्थ मन्त्रालयमा पठाउन ढिलाई नगर्ने बताउँछन् । ‘सडक विभागलाई यस मन्त्रालयबाट हुने सहजीकरणमा मन्त्रालयले सक्दो तिव्रता दिने गरेको छ,’ उनले भने, ‘केहि आयोजनामा बजेट अपुग भई विभागले थप बजेटको माग गरेमा हामी सोही अनुसार अर्थ मन्त्रालयमा पत्राचार गर्छौं, यहाँबाट कुनै कुराको रोकावट हुँदैन ।’

चालु आर्थिक बर्षको बजेटमा मात्रै सरकारले सडक विभागमातहतका आयोजना र विभाग स्वयंकै लागि भन्दै ९७ अर्ब ८६ करोड रुपैयाँ विनियोजन गरेको छ । यसरी विनियोजन गरेको बजेट सडक विभागअन्तर्गतका आयोजना, विभागको चालू खर्चलगायतका लागि छुट्याएको भएपनि केहि आयोजनाहरुमा बजेट नै अपुग हुने समस्या देखिएपछि आयोजनाको काममा प्रभाव परेको विभागका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL